विद्या, ज्ञान र बुद्धिकी देवी सरस्वतीको पूजा हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन गरिन्छ। नेपाल, भारत लगायतका देशहरूमा विशेषगरी विद्यार्थीहरू, शिक्षकहरू, लेखकहरू र विद्वान्हरू यो दिन शिक्षाको देवीको आराधना गर्छन्। विद्यालय, कलेज र विश्वविद्यालयहरूमा सरस्वतीको मूर्तिलाई फूलमाला चढाइन्छ, अक्षरारम्भ गरिन्छ र देवी सरस्वतीको शिक्षामा प्रभाव व्याख्या गर्दै शिक्षाको महत्वबारे प्रवचनहरू दिइन्छ। तर यस दिन एक ठूलो विडम्बना देख्न सकिन्छ— जस दिन शिक्षालाई पूजा गर्ने भनिन्छ, त्यही दिन विद्यालय र कलेजहरू बन्द गरिन्छ! वा भनौं नियमित पठनपाठन बन्द गरिन्छ ।
विद्यालय भनेको ज्ञानको मन्दिर हो, शिक्षाको स्रोत हो। जुन दिन ज्ञानको महत्व झन् बढी बुझ्नुपर्ने हुन्छ, त्यही दिन विद्यालयको ढोका बन्द गर्नु के तर्कसंगत छ? ज्ञानको पूजा भनेको केवल मूर्तिलाई अघिल्तिर राखेर, मन्त्र जपेर मात्र सम्भव हुन्छ कि अध्ययन, अनुसन्धान, र प्रयोगात्मक शिक्षामा लागेर सम्भव हुन्छ?
यदि ज्ञानको पूजा गर्नुछ भने, विद्यालय बन्द गरेर होइन, विद्यालयलाई अझ बढी ज्ञानमूलक गतिविधिमा संलग्न गराएर गर्नुपर्छ। विद्यार्थीहरूले यो दिन सरस्वती पूजाका सन्दर्भमा विशेष अध्ययन, अनुसन्धान, सिर्जनात्मक कार्य र व्यावहारिक ज्ञान प्राप्त गर्ने अवसर पाउनुपर्छ। हाम्रो समाजमा एउटा गलत धारणा गहिरो रूपमा बसेको छ— "सरस्वतीको पूजा गरेपछि बुद्धि बढ्छ।" यही विश्वासका आधारमा हामी सरस्वती पूजाका दिन मूर्तिपूजा गर्छौं, धूपबत्ती बाल्छौं, अक्षरारम्भ गर्छौं। तर, के केवल पूजा गरेर मात्रै कोही ज्ञानी बन्छ? ज्ञान भनेको कर्मबाट प्राप्त हुने चीज हो। परिश्रम नगरी, अध्ययन नगरी, नयाँ कुरा सिक्ने प्रयास नगरी कसैको बुद्धि बढ्दैन। यदि सरस्वतीको वास्तविक पूजा गर्नुछ भने, विद्यालय खुला राखेर, विद्यार्थीहरूलाई अध्ययनमा संलग्न गराएर, विशेष कक्षाहरू सञ्चालन गरेर गर्नु पर्छ।
सरस्वती पूजाको वास्तविक अर्थ ज्ञानको सम्मान गर्नु हो। त्यसैले, विद्यालयहरू बन्द गरेर होइन, विद्यालयहरूलाई अझ बढी ज्ञानमूलक गतिविधिमा संलग्न गराएर शिक्षाको पूजा गरिनुपर्छ। यदि विद्यालय खुला राखेर शिक्षासँग सम्बन्धित विशेष कार्यक्रम गरिए भने, विद्यार्थीहरूलाई अझ बढी प्रेरित गर्न सकिन्छ। त्यस दिन शिक्षकहरूले शिक्षाको महत्त्व बुझाउने विशेष कक्षाहरू सञ्चालन गर्नुपर्छ। विज्ञान, प्रविधि, दर्शन, इतिहास, साहित्य, भाषा, गणित जस्ता विषयहरूमा विशेष संवाद हुनुपर्छ। समाजका प्रतिष्ठित व्यक्तिहरूलाई विद्यालयमा निमन्त्रणा गरेर उनीहरूका अनुभव विद्यार्थीहरूसँग बाँड्नुपर्छ। विद्यार्थीहरूलाई अनुसन्धान, सिर्जनात्मक लेखन, प्रविधि विकास, चित्रकला, कविता, वक्तृत्वकला जस्ता ज्ञानमूलक गतिविधिमा संलग्न गराउनु पर्छ। विद्यालयमा सरस्वती पूजासँगै ‘ज्ञान महोत्सव’ आयोजना गरिनुपर्छ।
यदि विद्यालय बन्द गरेर विद्यार्थीहरूलाई घरमै बस्न बाध्य बनाइयो भने, तिनीहरूले नयाँ केही पनि सिक्ने अवसर पाउँदैनन्। सरस्वती पूजाका नाममा शिक्षालाई रोकेर बस्ने परम्परालाई बदल्नु आवश्यक छ।
यदि केवल पूजामात्रै गरेर ज्ञान प्राप्त हुने भए संसारका सबैजना ज्ञानी बनिसकेका हुन्थे। यदि सरस्वती पूजा गरेर मात्र बुद्धि बढ्ने भए, विद्यालय, विश्वविद्यालय, पुस्तकालय, अनुसन्धान केन्द्रहरू किन चाहिन्छ? बुद्धि बढाउन चाहने विद्यार्थीले किताब पढ्नुपर्छ, नयाँ कुरा सिक्नुपर्छ, अनुसन्धान गर्नुपर्छ, नवप्रवर्तन गर्नुपर्छ, विज्ञान, प्रविधि, दर्शन, इतिहास, साहित्य आदिमा दखल राख्नुपर्छ। यही कारणले ज्ञानको पूजा भनेको कर्मबाट, अध्ययनबाट, प्रयोगबाट, सिर्जनाबाट मात्र सम्भव छ।
यदि हामी सरस्वतीको पूजा गर्न चाहन्छौँ भने, विद्यालय बन्द गर्नुको साटो नयाँ कार्यक्रमहरू ल्याएर, ज्ञानलाई व्यवहारमा उतारेर, शिक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउने कार्य गर्नुपर्छ। सरस्वती पूजाका नाममा विद्यालय बन्द गरेर घरमै बसेर पूजा गर्ने होइन, बरु शिक्षालयहरूमा ज्ञान उत्सव मनाउनु पर्छ। विद्यालयका ढोका खोलेर, नयाँ विचारको आदान-प्रदान गर्दै, नवप्रवर्तन गर्दै, सिर्जना गर्दै शिक्षाको साँचो सम्मान गरिनुपर्छ।
ज्ञान भनेको जीवनभर सिकिरहनुपर्ने प्रक्रिया हो। यसलाई मूर्तिपूजासँग मात्र सीमित गरिनु गलत बुझाइ हो। शिक्षालाई व्यवहारिक बनाउनु नै शिक्षाको साँचो सम्मान हो। अब समय आयो— सरस्वती पूजालाई कर्मकाण्डी बनाउने होइन, कर्मशील बनाउने! ज्ञानकी देवीको साँचो पूजा भनेको ज्ञानको साधना गर्नु, कर्ममार्ग अपनाउनु, नयाँ आविष्कार, नयाँ खोज, नयाँ सिर्जना गर्नु नै हो। यदि हामी शिक्षालाई साँच्चै सम्मान गर्न चाहन्छौँ भने, विद्यालय बन्द गरेर होइन, झन् बढी ज्ञान र सिर्जनात्मक कार्यमा संलग्न भएर गर्नुपर्छ।
अब सरस्वती पूजालाई परम्परागत कर्मकाण्डमा मात्र सीमित नगरौँ। विद्यालयमा ज्ञानको महोत्सव मनाऔँ, अध्ययन, अनुसन्धान र प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिऔँ। ज्ञानको पूजा भनेको विद्यालय बन्द गर्नु होइन, शिक्षाको सही प्रवर्द्धन गर्नु हो। अब समय आयो, सरस्वती पूजालाई कर्मकाण्डी चक्रबाट मुक्त गरी ज्ञानको वास्तविक प्रवर्द्धन गर्ने माध्यम बनाउन! "ज्ञानको पूजा गर्नुपर्छ भने कर्म गर, विद्यालय जाऊ, अनुसन्धान गर, सिर्जना गर!"




