प्रसंग महाकुम्भ मेला प्रयागराजः
गजेन्द्र गुप्ता
डिजिटल मिडियाहरु खोल्यो की महाकुम्भ मेलाका अकर्षक सार्ट भिडियो तथा रिलहरु छपछप्ती भेट्न पाइन्छ । केही दिन अगाडि म पनि फेसबुकको रिलमा यस्तै अकर्षक सामग्रीहरु हेरे । मलाई महाकुम्भको बारेमा थाहा थियो, तर यो कहाँ कहले आयोजना हुँदैछ, थाहा थिएन । म थप रिल तथा युट्यूबका सामग्रीहरु हेर्दै गए । विभिन्न किसिमका योगी, साधु, साधवी तथा सन्यासीहरुका कुराहरुले मनलाई झन झनै महाकुम्भ प्रतिको अकर्षण बढाउँदै गयो । यी योगीका कुरा ठिक साँचो हुन वा होइनन् भनेर शिव सम्प्रदायका शंकराचार्यहरु तथा बैष्णो सम्प्रदायका गुरुहरुको प्रवचन पनि सुने र सबैबाट महाकुम्भको महिमाको गुणगान भयो । अङ्गुत्तर निकाय ३.१५ अप्पन्नक सुत्तमा बुद्धले बाह्य स्नान (नदीमा स्नान) बाट होइन, कर्म र आचरणको शुद्धताबाट वास्तविक पवित्रता प्राप्त हुन्छ भन्ने कुरा सिकाउनु भएको छ । त्यस्तै (सुत्तनिपात २.७) स्नातक सुत्तमा बुद्धले भन्नु भएको छ कि सत्य, अहिंसा, संयम, र चित्तको शुद्धिले मात्र वास्तविक स्नान (शुद्धि) सम्भव हुन्छ, न कि बाह्य रूपमा गंगाजलमा स्नान गरेर । त्यसै गरी (सुत्तनिपात ६२८–६३०) उदक सुत्तमा बुद्धले स्पष्ट रूपमा भन्नु भएको छ ‘उदकेन सोच्चति बालो, न सोच्चति समं मति’ अर्थात् (बालकहरूले पानीले शुद्धि खोज्छन्, तर बुद्धिमानहरूले नैतिक जीवनमार्फत् साँचो शुद्धि प्राप्त गर्छन् ।) निष्कर्षमा भन्ने हो भने महाकुम्भ स्नान जस्ता अनुष्ठानहरू वैदिक परम्परामा रहेको भए पनि, बुद्धले यस्तो बाहिरी स्नानलाई आत्मिक मुक्तिका लागि अपर्याप्त बताउनुभएको थियो । उहाँका अनुसार, वास्तविक रुपमा ‘शुद्धि’ केवल नैतिक आचरण, प्रज्ञा, र ध्यानमार्फत् सम्भव छ ।
म बौद्ध धर्म दर्शनको विद्यार्थीका हैसियतले सोच्दा महाकुम्भ स्नानको कुनै महत्व भएको भेटाइन, तर पनि विभिन्न थरीका हठयोगीहरु, नागा, अघोरी आदि वैदिक परम्पराका साधु सन्यासीलगायतका पूर्ण आत्माहरुको दर्शनले थप केही कुरा सिक्न पाइन्छ, साथै वैदिक परम्परामा उल्लेख भएअनुसार महाकुम्भ स्नानको पुण्य पनि अर्जन गर्न सकिन्छ भन्ने उद्देश्यले महाकुम्भ नगरी प्रयागराज स्नानको दृष्टिले महत्वपूर्ण मानिने १४ जनवरी, २०२५ मकरसंक्रान्तिको दिन जाने निधो गरे । यत्रा सहजताका लागि रेलको कन्फर्म टिकेट खोजे, तर पाइएन । साथी भाइहरुसँग साधन रिजर्व गरेर जानु पर्छ भन्ने सोचे, तर पनि मेसो मिलेन अर्थात् त्यो दिन जान पाइएन । मैले महाकुम्भको बारेमा सोसल मिडियमा आएका सामग्रीहरु यति हरेकि सोसल मिडिया खाल्दा नै महाकुम्भ मेलाका अकर्षक सामग्री बाहेक अरु आउन नै छोड दियो । धेरै समय तेही सामग्रीहरु नै हेर्न थाले । एक दिन उत्तरमा रहेको ज्योतिषपीठको जगदगुरु शंकराचार्य स्वामी अविमुक्तेश्वरानंद सरस्वतीजी महाराजको महाकुम्भ मेलाको बारेमा प्रवचन सुन्दा उहाँले महाकुम्भ मेलाको सबैभन्दा उत्तम स्नान गर्ने तिथि मौनी अमवस्या २९ जनवरी, २०२५ रहेको कुरा सुने र मैले यो दिन जसरी भए पनि जानु पर्छ मन मनै सोची मेरो पत्नीलाई सुनाए । पत्नीले पनि जाने ईच्छा व्यक्त गरिन र हामी दुबै जाने सल्लाह भयो ।
मैले यात्रा सहजताको लागि उत्तर प्रदेशका मुख्यमन्त्रीको अभिव्यक्ति पनि सुन्दै आएको थिए र उहाँको एकदिनको अभिव्यक्तिमा उहाँले भन्नु भएको थियो कि ‘मौनी अमवस्याको दिन मैले ५ करोड व्यक्तिको स्नानको अनुमान गरेको छु, तर १० करोड व्यक्तिको स्नानको व्यवस्था गरेको छु ।’ मैले ब्द्यए युट्युब च्यानलमा त्यहाँको ब्ऋम्ए ट्राफिक कुलदीपका अनुसार विभिन्न स्थानहरुमा गाडी पार्किङ्गको लाग पार्क बनाइएको र पार्कबाट जम्मा ६ किमी पैदल हिंड्नु पर्ने सूचना प्राप्त गरे । साथै मेरै विश्वविद्यालयका एकजना त्यहाँ पुगेको सरसँग सल्लाह गर्दा जाँदा राम्रो हुने राय पाए । मैले जाने बाहनको बारेमा भारतमा रहेको एक जना मित्रलाई सोधे उहाँले सोधेको एक घण्टापछि ३० किमी पैदल हिंड्नु पर्ने भएकोले नजानुस भनेर भन्नु भयो । त्यसपछि प्रयागराजमा नै घर भएको एकजना प्रोफसर मित्रलाई फोन गरे, उहाँले आउनुस म सबै बस्ने खाने व्यवस्था गर्छु भन्नु भयो । मैले विभिन्न अधिकारीक स्रोतबाट प्राप्त जानकारी र प्रयागराजमा नै घर भएको साथी भएपछि जानमात्र दुःख हो, पुगेपछि त सबै ठिक हुन्छ सोचेर हामी पति पत्नी २८ जनवारी २०२५ कै दिन हिँडियो । दुबैले गोरखपुरमा बस पाइएन भने घर फर्कने सल्लाह गरेका थियौं, तर गोरखपुरमा सहजै बस दिउँसो १ः ३० बजे पाइयो । राती ९ः३० सम्म प्रयागराज पुगिन्छ भनेर दुबै जना खुशी भइयो । तर ठिक उल्टो, बाटोमा गाडीको जामले गर्दा हामी भोली बिहान २९ जनवरी बिहान ८ः ०० बजे मात्र पुग्यौं ।
गाडीमा हामी सल्लाह गरेका थियौं, स्नानपश्चात् हामी बनारसतिर प्रस्थान गरी त्यही बास बस्ने । बाटोमा मान्छेको भिड देखेर त दंगै प¥यौं तर पनि रममइलो मान्दै कुम्भक्षेत्र प्रवेशद्धारमा पुग्यौं । त्यहाँको भिड देखेर भित्र प्रवेश गर्न सकिंदैन भनेर सोच्यो, तर यो भिड कम हुन्छ कि हुँदैन भनेर फेरि भिडभित्र प्रवेश गर्यो । मान्छेको खुट्टा टेक्नेबाहेक केही ठाउँ थिएन । एक फन्को समेत घुम्न सकिदैन्थ्यो । श्वास फेर्न समेत गाह्रो भयो । फेरि भीडबाट बाहिर निसकियौं । बाहिर निस्कने मान्छेको भीडले बाहिर पनि बस्न निकै कठिन भयो । त्यहाँ खटिएको प्रहरीसित सोधे यति भीडमा कसरी जान सकिन्छ स्नानघाटमा ? विस्तारै विस्तारै जानुस भन्यो । उसको कुरा उचित लाग्यो र फेरि भीडमा प्रवेश गरिएयो । हिँड्दै जाँदा एक जना महिला आँखा अगाडि वेहोस भइन । एक जना १५ वा १६ वर्षकी नानी मलाई रिंगटा आइरहेको जस्तो महसुस भइरहेको के भनिन कि विहोस भइन । मलाई पनि रिंगटा लागेजस्तो भइरहेको र मेरी पत्नीको अनुहारको मुद्रा पनि साह्रै दुखित दिखिन्थ्यो । वेहोस भइन्छ कि भनेर भीडबाट बाहिर निस्कन खोजे, तर सकिएन । जसरी तसरी प्रवेशद्वारभित्र प्रवेश गरियो । मेरो हातको घडी खस्या,े तर उठाउन सकिएन । विस्तारै विस्तारै हिँड्दै जाँदा घाट नजिक पुगियो । घाटमा राम्रा–राम्रा जुता चप्पल सर समान देखे र मेरी पत्नीलाई सोधे किन यति राम्रा – राम्रा सामानहरु फालिए होलान् ? तबसम्म मलाई त्यहाँको घटनाको बारेमा थाहा थिएन । पछि घटनाको बारेमा थाहा पाउँदा त भागदौडमा मानिसले छोडेका सर समानहरु पो रहेको महशुस भयो । स्नान घाटसम्म पुग्दा हामी हिँड्न नसक्ने गरी थाकियो । जसरी तेसरी स्नान गरियो ।
स्नानपश्चात् घाटबाट निस्कने क्रममा त्यहाँको सुरक्षा व्यवस्थाले छिटोभन्दा छिटो आ–आफ्नो गन्तब्यमा लाग्न माइकिङ्ग गर्दै थियो । पैदल हिँड्दाको थकाई र सुरक्षा नोटिस सुनेर हामी साधु सन्यासीहरुको दर्शन गर्न उचित नसम्झी बाहिर निस्कियौं । त्यहाँको मेला व्यवस्थापन समितिले बनाएको मार्गमा हिंड्न गाह्रो भएर बस्ती भएको गाउँको मार्गबाट हिँडियो । घर–घरमा मान्छेहरुले पसल थपेका थिए । सबैको खाने पिउने सामानको खुब बिक्री हुँदै थियो । कोही कोहीले बाटोमा पानी र बिस्कुट पुण्य आर्जन गर्ने उद्देश्यले खुवाउँदै थिए । कतै कतै खिचडी, पुडी सब्जी पनि बाँड्दै थियो । हामी घर छिटो फर्कनु पर्छ भन्ने उद्देश्यले मेला बाहिर निस्कियौं । मेला बाहिर सडकमा गाडी चलेको थिएन, तै पनि मान्छेको जाम थियो । विस्तारै विस्तारै बस पार्कतिर प्रस्थान गरियो । भोक लाग्यो बाटोमा धेरै जसो घर भएको मान्छेहरुको पसल थियो । एक ठाउँमा खाना खान बसियो । भात, तरकारी र रोटी । भात पनि राम्रो थिएन । तरकारी आलुको मात्र थियो । मैले पसलेसँग सोधे काउली आलुभन्दा पनि सस्तो छ, किन तरकारीमा न मिसाएको ? उसको उत्तर पाइएन । अर्थात् खाने चिज बिज पनि केही गुणस्तरीय थिएन । बस पार्क पुगियो । गोरखपुर जाने बस खोजे । खाली कुनै पनि बस थिएन । कहाँ यो बस जान्छ ? न त ड्राइभर भन्थ्यो न त कन्डक्टरले । रेलवे स्टेशन जाने सोँचे । एक जना युवासँग सोधे रेलेवे स्टेशन कता छ । युवाले भन्यो नजानुस बन्द छ रे । मेरो कन्फरम टिकेट हो तै पनि जान सकिएन । केही विकल्प लागेन, घर तिर निस्कने । होटल पनि पाइएन । सरकारले गरेको टेन्टभित्र त टेक्ने ठाँउ थिएन बस्ने त कुरै छाडौ । त्यसमा हामी प्रदेशी त्यहाँको नियम कानुन पनि राम्रासँग नजानेको । राती बाहिर अकाश मुनी बस्न बाध्य भइयो । भोली बिहान पनि बस पाउने छाँट काँट देखिएन ।
हामी मेलामा खटेका अधिकारीहरुको क्याम्प बाहिर बसिरहेका थियौँ । गोरखपुर पुग्ने एउटा परिवार भेटियो । उहाँहरुसँग संवाद सुरु भयो र उहाँहरु हामीसँगै तपार्इंहरु पनि हिँड्नुस भन्नु भयो । हामी हुन्छ भन्यो । एक जना ले १.५ किमी हिँडेमा बस पाइन्छ भन्नु भयो । सबै जना जान तयार भयौं । हामी दुई र उहाँहरु १४ गरी १६ जनाको समूह भयो । तर त्यहाँ पनि बस पाइएन । पुलिससँग सोधे उसले ५÷७ किमी हिंडेपछि पाउन सकिन्छ भन्यो, तर त्यहाँ पनि पाइएन । बाटोमा भएका साधानहरु जाममा थिए । गाडी रिजर्व गर्न कोसिस गरियो, तर त्यो पनि पाइएन । हामी हिँड्दै गयौं हाइवेमा पनि जामले हाइवेको बाटो पनि हिँड्न कठिन भयो । हामी फेरि गाउँको बाटोबाट हिंड्ने विचार गर्यौं । हिँड्दा हिँड्दा सबैलाई ग्राह्रो भयो । एक जनाको घरको पेटीमा बस्न अनुरोध गर्यौं । उहाँले हुन्छ भन्नु भयो । मोबाइल चार्ज गर्न अनुरोध गर्यौं उहाँले सहर्ष स्वीकार गर्नु भयो । उहाँले बडो श्रद्धाले पानी सोध्नु भयो । हामी हुन्छ भन्यो । उहाँले दूध चिया पनि पकाई दिनु भयो । उहाँले प्रसाद पनि वितरण गर्नु हुँदो रहेछ । हामी प्रसाद पनि ग्रहण गर्यौं । उहाँले बासको लागि पनि अनुरोध गर्नुभयो । हामीमध्ये केहीले बस्ने र केहीले नबस्ने भन्नु भयो । हामी सबै फेरि हिँड्ने निश्चय गरी त्यहाँबाट प्रस्थान गर्यो । बिहान ११ः ३० देखि राती १२ः ३० सम्मको २८ किमी लामो हिँडाइपछि बल्ल हामी सोहसोंबाट गोरखपुरको बस पाइयो ।
माथि उल्लेख गरेको प्रसँगको निष्कर्षमा भन्नु पर्दा महाकुम्भ मेलामा डिजिटल प्रविधिको उदय यसरी भयो कि थाहा नपाएका मानिसहरुमा पनि महाकुम्भ मेलामा घुम्ने इच्छा प्रबल भएर आयो । मानिसले हुन सक्ने जोखिमको पनि विचार नगरिकन स्नान गर्न यात्रा बनायो । यो महाकुम्भ मेलाले त्यहाँको धार्मिक पर्यटनलाई यति माथि पुरायो कि यातायात, गास, बास, कपासलगायतका अन्य थुप्रै व्यवसायहरु निकै फस्टाउने भयो । मेलामा बस, ट्रेन र हवाइमार्ग पनि निकै व्यस्त भयो । सरकारलाई मान्छेलाई छिटोभन्दा छिटो आ–आफ्नो गन्तब्य तिर लाग्न आव्हान गर्नु पर्यो । योभन्दा अगाडि पनि अयोध्यामा प्रभु श्रीरामको प्राण प्रतिष्ठामा पनि डिजिटल मिडियामा यसरी आकर्षक सामग्रीहरु आए कि विश्वभरिका मानिसहरु माझ आयोध्याको प्रचार प्रसार भयो । लाखौँ श्रद्धालुको भ्रमण भयो । यो महाकुम्भले आजसम्मको सबै रेकार्डहरु तोड्यो । प्रयागराज पस्ने सबै रोड, रेल तथा हावाई यातायातमा प्रतिबन्ध गर्नुपर्ने आवस्थाको सिर्जना भयो । साथै मानिसहरु जति पनि कठिनाइको सामना गरेको खबर आए पनि कुम्भतिर जानेको इच्छामा खासै कमी आएको देखिंदैन । महाकुम्भ मेलाको अध्यात्मिक गरिमा जति भए पनि यसको प्रचार प्रसारमा डिजिटल प्रविधिको धेरै नै योगदान रहेको सहजै देख्न पाईयो ।यसको प्रत्यक्ष असर पर्यटन प्रर्वद्धनमार्फत् व्यवसायमार्फत् अर्थव्यवस्थामा परेको देखिन्छ ।
अब केही नेपालको प्रसंगलाई जोडौँ । हाम्रो देश नेपालमा पनि वैदिक परम्पराको थुप्रै मठ मन्दिरहरु रहेका छन् । महाकुम्भ जस्तै अर्ध महाकुम्भको रुपमा चितवनस्थित देवघट धामलाई मानिन्छ, तर खोई त्यसको प्रचास प्रसार ? उत्तर छैन हामीसँग । हाम्रा डिजिटल मिडियाहरुको कबरेजभित्र निकै नै कम परेको देख्न सकिन्छ । हाम्रा नदी, नाला पनि कति सुन्दर छन् । तर लखौ श्रद्धालुको उपस्थिति गराउन सकिएन । हामीले हाम्रा तिर्थस्थलको गरिमा तथा मिहमालाई भारतसम्म पनि पु¥याउन सकेनौ । किनकि भारत नै वैदिक परम्परा मान्ने बाहुल्य जनसंख्या भएको देश हो । हाम्रा धर्म गुरु तथा राज नेताहरुको ती स्थलहरुको गरिमा बताउने एउटा पनि भिडियो सार्वजनिक भएको देखिएन । हामीसँग पशुपति जानकी माताको जन्मस्थान जनकपुर, मुक्तिनाथ, बुद्ध जन्मस्थाल लुम्बिनी, स्वर्गद्वारी, पाथिभरा माताको मन्दिर, हलेसी महादेवलगायत थुप्रै आध्यात्मिक स्थालहरु छन् ।
हालै, अमेरिकाको प्रतिष्ठित पत्रिका ‘न्यूयोर्क टाइम्स’ ले सन् २०२५ का लागि विश्वका मुख्य १० गन्तव्यहरूको सूचीमा लुम्बिनीलाई नवौँ स्थानमा समावेश गरेको छ । लुम्बिनीलाई विश्व शान्ति केन्द्र र बुद्धको जन्मस्थलका रूपमा सम्मान गर्दै यो सूचीमा राखिएको हो । हामीलाई लुम्बिनीको प्रचार–प्रसार गर्न यसले झनै सहज बनाएको छ । हाम्रा नेता पत्रकार सोसल मिडियाहरुले विश्वभरी नै लुम्बिनीमा विश्वभरीका बौद्ध मार्गीलाई आउन बाध्य बनाउनु पर्ने देखिन्छ । मित्र राष्ट्र भारतको आध्यात्मिक साइटको जसरी डिजिटल मिडियाहरुमा प्रचारप्रसार गरिएको छ । हामी सबै नेपालको पर्यटन क्षेत्रको विकास गर्ने नेपालीहरुले आध्यात्मिक पर्यटनको विकासका लागि सोसल मिडियाको रिल, यूट्यूब, टिकटक जस्ता टुलहरु वृहत् रुपमा प्रयोग गर्न नितान्त आवश्यक देखिन्छ । हाम्रो देशको पर्यटन यसरी सुस्त भएको छ कि लाखौको लगानी पनि धरासाही हुने अवस्थामा रहेको सहजै अनुमान गर्न सकिन्छ । यसर्थ आध्यात्मिक व्यवसायमा डिजिटल प्रविधिको उदय र विकासमार्फत् देशको अर्थव्यवस्थालाई उकास्ने निकै महत्वपूर्ण सावित हुने भएकोले यस तर्फ ध्यान दिन सबै देश विकास गर्ने नेपालीहरुलाई आवश्यक रहेको देखिन्छ ।
सह– प्राध्यापक
लुम्बिनी बौद्ध विश्विविद्यालय




