भैरहवा । रूपन्देहीको सिद्धार्थनगर–१३ मा अवस्थित महेन्द्र सभागृह वर्षांैपछि खुलेको छ । सभा समारोहका लागि सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको सो सभा गृह वर्षौंदेखि बन्द थियो । नगरपालिकाले २०७० साल असोज ४ गते महेन्द्र सभा गृहलाई व्यवस्थित तथा दिगो किसिमले सञ्चालन गर्ने उद्देश्यले निलम पटवा (पटवा टेन्ट हाउस) सँग २० वर्ष बहालका लगि सम्झौता गरेको थियो । सम्झौता भई उद्देश्य अनूरुप नचलेपछि दैनिक लुम्बिनीले लगातार समाचार सम्प्रेसण गर्दै आएको थियो । मंगलबार सिद्धार्थनगर नगरपालिकाले आफ्नो स्थापना दिवस समारोह सोही सभागृहमा गरी सभागृह खूल्यो भन्ने उदाहरण पेश गरेको छ । नगरपालिकाको कार्यक्रमसँगै हलमा अब निरन्तर कार्यक्रम सञ्चालनको लागि बाटो खुलेको छ ।
२०४२ साल पौष १ गते शिलान्यास भएको सभागृह २०४६ साल माघमा राजा वीरेन्द्रबाट पश्चिमाञ्चल विकास क्षेत्रको अनौपचरिक भ्रमणको अवसरमा रुपन्देही जिल्लामा आउँदा उद्घाटन भएको थियो । सिद्धार्थनगरको गहनाको रुपमा रहेको सो सभागृह निर्माणमा सिद्धार्थनगर नगर पञ्चायतबाट ९३ लाख ८० हजार सात सय ७०, सिद्धार्थनगर नगरवासीको तर्फबाट १५ लाख, १७ हजार ४ सय ९९, जिल्ला पञ्चायत रुपन्देहीबाट ५ लाख, सडक विभाग रुपन्देहीबाट आन्तरिक सडक निर्माणमा २ लाख १८ हजार ६ सय ८८ रुपैयाँ बराबरको भौतिक सहयोग र नेपाल विद्युत प्राधिकरण भैरहवा शाखाबाट ट्रान्सफर्मर र कन्डक्टर तारमा ९४ हजार १ सय ९१ रुपैयाँ बराबरको भौतिक सहयोगमा निर्माण भई नगर पञ्चायत र पछि नगरपालिकाको स्वामित्वमा सञ्चालन भइरहेको थियो ।
नगरपालिकाले सञ्चालन गर्न नसकेपछि सभा गृहलाई व्यवस्थित तथा दिगो किसिमले सञ्चालन गर्दै नगरवासीलाई सरल सुलभ स्वच्छ र व्यवस्थित सेवा प्रदान गर्ने गरी २०७० साल असोज ४ गते महेन्द्र सभा गृह (गणतान्त्रिक) लाई निजी क्षेत्र पटवा टेन्ट हाउसको प्रोपराइटर निलम पटवाको नाममा पनि २० वर्षको लागि बहालमा दिने गरी सम्झौता भएको थियो । नाम श्रीमतीको भए पनि टेन्ट हाउसको सञ्चालन तथा व्यवस्थापन चन्द्र मोहन पटवाले गर्ने गरेका छन् ।
सम्झौतामा पटवाले सभागृह र चर्चेको ठाउँ बहालमा लिएर १० वर्षभित्र २ करोड बराबरको थप संरचना निर्माण गर्ने, ति संरचनाहरु तेस्रो पक्षलाई प्रयोग गर्न दिएबापत लाग्ने भाडा वा सेवा शुल्क नगरपालिकाले आर्थिक वर्ष २०७०/०७१को स्वीकृत दरअनुसार हुने भनिएको थियो, तर कार्यान्वयन खासै नदेखिएपछि बेला बेलामा महेन्द्र सभा गृहको सर्वत्र आलोचना हँुदै आएको थियो ।
सम्झौतापछि पटवाले सभागृहको मर्मत गरे पनि ८ करोड बढीको लगानीमा सभागृह पछाडिको जमिनमा बैंन्क्वेट (पार्टी प्यालेस) बनाएका थिए । सडकको सतहमाथि गएकोले सभागृहको भूईबाट नै पानी निस्कने र जम्ने भएपछि सभागृह रोजाइमा पर्न नसकेर बन्द हुने अवस्थामा पुगेको थियोे ।
सभागृह र चर्चेको क्षेत्र प्रयोग गरेवापत नगरपालिकाले पहिलो ५ वर्ष २ लाख, त्यसपछिको ५ वर्ष ३ लाख, त्यसपछि ४ लाख र अन्तिम ५ वर्ष ५ लाख प्रति महिना बहाल लिने सम्झौता छ । सम्झौतामा संरचनाको मर्मत सम्भार र नयाँ निर्माणपश्चात् कायम हुने संरचनाहरुको भाडा तथा सेवा शुल्क दर दुवै पक्षको सहमतिमा कायम गर्ने, नयाँ दररेट स्वीकृतीको लागि नगरपालिकलाई प्रस्ताव गरी १५ दिनमा दुवै पक्षको सहमतिमा कार्यान्वयन गर्ने छ ।
पटवा टेन्टले सभागृहलाई मर्मत सम्भार गरेर चलाउनुको साटो नयाँ हल बनाएकोले पनि आकर्षक सभागृह ओझेलमा पर्ने गरेको थियो । राज्य र जनताको सम्पतिको रुपमा रहेको भैरहवाको गहना मर्मत सम्भार र प्रयोग नगरी गोदामको रुपमा परिणत भई जीर्ण भइरहेको भनेर पछिल्लो समयसर्वत्र आलोचना हुन थालेपछि नगरपालिका सम्झौता तोड्ने अवस्थामा पुगेको थियो । पटवाले समय लिई उद्देश्य अनुरुप कार्य गर्ने भनी लाखौ रकम खर्चेर सभागृहको पुनःनिर्माण गरेसँगै सभागृह सञ्चालनमा आएको छ । प्रयोगविहीन बनेको सभागृहको सतह अहिले माथि उठाई रंगरोगन तथा मर्मत गरिएको छ । कुर्सीहरुलाई व्यवस्थित गर्दै अपुग पूर्वाधारहरुको निर्माणका लागि निरन्तर काम गर्ने गरी पटवाले काम अघि बढाएको छ ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले महेन्द्र सभा गृह नितान्त नगरपालिकाको सम्पत्तिको रुपमा रहेकोले यसको मर्मत र संरक्षणको जिम्मा मात्रै निजी क्षेत्रलाई दिएको बताए । सम्झौता विपरीत प्रयोगविहीन अवस्थामा रहेको सभागृहको मर्मतमा अहिले ६० लाख खर्चेर प्रयोग गर्ने अवस्थामा आएको छ । ‘पटवाले सभागृहको थप विकासका लागि अझँ ६० लाख लगात अनुमानमा अत्याधुनिक स्तरको रुपमा विकास गर्ने गरि नगरपालिकाका प्रविधिकहरुले इस्टिमेट गरेका छन् ।’– प्रमुख प्रशासकीय अधिकृत थापाले भने ।
सिद्धार्थनगर नगरपालिकामा कार्यकारी अधिकृतको रुपमा टीकादत्त राई हुँदा २०७०–७१ सालमा नगरमा यत्रतत्र छरिएका मेकानिक्सलाई एकै ठाउँमा व्यवस्थापन गर्ने भनि अटोभिलेजको रुपमा विकास गर्नका लागि नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरसँग त्यस्तै महेन्द्र सभागृह र सिद्धार्थ बाल उद्यानलाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सम्झौता गरेका थिए । नगरभरि छित्रेर रहेको ग्यारेजलाई व्यवस्थित गर्ने उद्देश्यले अटोभिलेजको अवधारणा आए पनि पूर्ण रुपमा कार्यान्वयन भएको छैन ।
यस्तै २०७१ साल भदौ ३० गते नगरपालिकाले शुभ ओम इन्भेष्टमेन्ट कम्पनी प्रालिसँग वडा नम्बर ६ मा रहेको सिद्धार्थ बाल उद्यानलाई सार्वजनिक निजी साझेदारीमा बाल उद्यानलाई व्यवस्थित गर्ने, नयाँ निर्माण गर्ने र नयाँ तरिकाले बाल उद्यान सञ्चालन गर्ने उद्देश्यले २० वर्षका लागि सम्झौता गरे पनि उद्देश्य विपरीत होटल पौवा सञ्चालनमा छ । सम्झौतामा निश्चित मापदण्ड र लागतमा संरचना बनाउने भने पनि दुवै कर्पोरेट हाउसले त्योभन्दा बढीको उद्देश्य विपरीतका संरचना बनाइ सञ्चालनमा ल्याएका छन् ।




