महेन्द्र सभागृह भैरहवाको शान हो । कुनै पनि सहरमा रहेका सभाहल, नाट्यशाला, पुस्तकालय, मठमन्दिर, हाटबजारले सहरको गरिमा राखेका हुन्छन् । शहरमा व्यवस्थित सडक, खानेपानी, खेलमैदानलगायतका पूर्वाधार भएर मात्रै हुँदैन । सभाहल, पुस्तकालय, कला संस्कृति झल्किने संरचनाले सहरलाई उज्यालो बनाउँछन् ।
भैरहवामा जब महेन्द्र सभागृह बन्यो, यहाँ धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनार र गोष्ठी भए । सहरलाई गुल्जार बनाउन सघाउ पुग्यो । भैरहवाको शान महेन्द्र सभागृहको उद्घाटन २०४६ सालमा राजा वीरेन्द्रले गरे । नगरको शान भए पनि सञ्चालन गर्न नगरपालिकालाई हम्मे हम्मे भयो । सभागृहमा कार्यक्रम गर्ने, तर शुल्क नतिर्ने प्रवृत्तिले घाटामा नगरपालिकाले चलाउन सकेन् । बन्द भएको सभागृह चलाउने गरी पटवा टेन्ट हाउसका सञ्चालकले १० वर्षअघि २० वर्षको सम्झौता गरे । महेन्द्रसभा गृहमा पार्टी प्यालेस चलाउन करोडौं लगानी गरेको पटवा टेन्ट हाउसले सभागृह चलाउन चासो दिएन् । सम्झौता पालना गरी सभागृहमा व्यापार गरेको बारे हामीले निरन्तर समाचार लेख्यौं । हामीले निरन्तर खबरदारी गरेकै कारण आज सभागृह चल्ने विन्दुमा आइपुगेको छ । सभागृहको मर्मत भएको छ । पूराना संरचना हटाएर नयाँ संरचना राखिएको छ । सभागृह आकर्षक भएको छ ।
सहरको शान सभागृहलाई कुनै निजी कम्पनीलाई भाडामा दिएर नगरपालिकाले गल्ती ग¥यो । त्यसपछि अर्को गल्ती सहमति पालना नगर्दा समेत कुनै कारबाही गर्न चासो दिइएन् । कतिपय संरचना नाफा र घाटाको कोणबाट मात्रै हेर्नुहँुदैन । आर्थिक नाफा र घाटाभन्दा बेग्लै प्रतिष्ठाका संरचनालाई सञ्चालन गर्न जिम्मेवार निकायमा बसेकाले विवेक प्रयोग गर्नुपर्छ ।
शहरको शान जोगाउन सक्दा मात्रै हो, शहर हेर्नलायक, घुम्नलायक र अरुका लागि आकर्षक बन्ने । शहरको पहिचानलाई बेवास्ता गर्दा शहर कुरूप बन्छ । भैरहवा पर्यटकीय नगर हो । गौतमबुद्ध विमानस्थल र बेलहिया नाकामार्फत् कनेक्टिभिटी विस्तार गरेर भैरहवाले अब्बल सावित गरेको छ । शहरको शानलाई बचाऔं, चलाऔं ।




