तिलोत्तमा। रूपन्देहीको तिलोत्तमास्थित बुटवल पब्लिक स्कूलको वार्षिक स्पोर्टस् मिट (खेलकुद प्रतियोगिता ) शुक्रबार सम्पन्न भएको छ । विद्यार्थीको अन्तरनिहीत खेल प्रतिभा प्रस्फूटन गर्ने उद्देश्य सहित तिलोत्तमा–११ स्थित आफ्नै खेल मैदानमा तीन दिनसम्म प्रतियोगिता चलेको थियो । प्रतियोगितामा १०० मिटर दौड, ४०० मिटर दौड, रिले रेस, फुटबल, क्रिकेट, कबड्डी, खो–खो लगायत ४० इभेन्टका खेल खेलाइएको थियो ।
शुक्रबार समापन समारोहमा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय बुटवलका प्रमुख रोमकान्त तिवारीले प्रविधिमैत्री पठन–पाठन र खेलको क्षेत्रमा बुटवल पब्लिक स्कुल उदाहरण बनेको बताए । उनले स्कुलले सञ्चालन गरेको प्रगतिशील शिक्षण पद्धति लुम्बिनी प्रदेशमै उत्कृष्ट रहेको बताए । विद्यालयले करोडौं लगानीमा आफ्नै खेल मैदान निर्माण गरी खेलाडी उत्पादनको वातावरण बनाएकोमा पनि उनले सराहना गरे ।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष हेमलाल शर्मा भुसालले विषयगत शिक्षासँगै खेलकूदका गतिविधिमा विद्यालयले सधै विद्यार्थीलाई प्रोत्साहन गर्दै आइरहेको बताए ।
स्पोर्टस् मिटमा १८ स्वर्ण, ९ रजत, ५ कास्यपदक र ८७ अंक सहित रातो सदन प्रथम र ११ स्वर्ण, ८ रजत, ७ कास्यपदक र ७१ अंक सहित पहेलो सदन दोस्रो भएका र बिजेता खेलाडीलाई सर्टिफिकेट, मेडल र ट्रफी वितरण गरिएको विद्यालयका सहप्राचार्य राम चन्द्र पौडेलले बताए । सो अवरमा तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष विष्णु बरालले विद्यालय आफ्नो वडामा खेलकूदको ठूलो पूर्वाधार थपेको भन्दै खुसी व्यक्त गरे । कार्यक्रमको सञ्चालन गरेका थिए । विद्यालयले करिब १५ करोड लगानीमा सुविधासम्पन्न क्रिकेट तथा फुटबल मैदान , स्वीमिङ पूल र कृषिका लागि हाइटेक टनेल निर्माण गरेको छ ।




