काठमाडौं–दिल्ली सिधा बस सञ्चालनले दुई देशका नागरिकलाई आवतजावत गर्न जति सहज भएको छ, त्यसैगरी यो दुई देशबिचको मित्रताको सेतु पनि हो । हवाइ, सडक र रेलमार्गलगायतको सञ्जालले छिमेकी मुलुकसँगको सम्बन्धलाई दरिलो बनाउँछ । नेपाल–भारत दुई देशबिचको मित्रताको सेतु बस सेवा क्रमशः सीमा अपराधीका लागि सहज बन्न थालेको छ । काठमाडौं–दिल्ली बस सेवालाई अपराधीले अपराधिक गतिविधि बढाउन प्रयोग गर्नु दुःखद छ ।
नेपाल–भारतबिचको खुला सीमा दुवै देशका लागि अवसर हो, त्योभन्दा बढी चुनौती । खुला सीमाले नेपाल–भारत दुवै देशका लागि अन्तर सीमा अपराध नियन्त्रण चुनौती भएको छ । दुई देशका सीमा अधिकारीहरुबिच हुने बैठकमा सीमा अपराध नियन्त्रणको विषय सधँै छलफल हुन्छ । भारतीय पक्षबाट नेपाल भारत विरोधी गतिविधि गर्नेहरुको आश्रय रहेको धारणा पटक–पटक आइरहन्छ, त्यसैगरी नेपाली पक्षले भारतले नेपालमा अपराध गरेर भारतमा बस्दै आएका व्यक्तिहरुलाई पक्राउ गर्न सहजै सहयोग नगरेको पटक–पटक गुनासो गर्दै आएको छ । दुई देशका अधिकारीले एकले अर्कोलाई असहयोगको गुनासो पटक–पटक गरेको भए पनि खास समस्या कुन विषयमा हो भन्ने बारेमा छलफल गरेर निष्कर्ष निकाल्न चुकेका छन् ।
खुला सीमा अवसर हो, त्यसको बहुआयामिक प्रयोग गरी फाइदा लिने योजना बनाउँदा दुई देशको खुला सीमालाई नियमन गरी अपराध नियन्त्रण संभव छ । त्यसो हो भने किन दुई देश चुकिरहेका छन् ? दिल्ली–काठमाडौं बस सेवा लागुऔधष ओसारपसारमा पनि प्रयोग भइरहेको प्रहरीले सूचना पाएको छ, कतिपय अवस्थामा बरामद पनि भएका उदाहरण छन् । काठमाडौंबाट विभिन्न बहानामा किशोरीहरु यही बस प्रयोग गरेर दिल्ली पुगेका छन् । त्यसपछि उनीहरु मानव बेचबिखनकर्ताको चंगुलमा परिरहेको पनि प्रहरी अधिकारीहरु बताउँछन् । गरिबी, अशिक्षा र बढ्दो महत्वकांक्षाले किशोरीहरुलाई सहजै मानव बेचबिखनकर्ताको चंगुलमा पु¥याएकाले रोकथामका लागि नेपाल–भारतका सीमा सुरक्षा निकायको निगरानी अझैँ बढाउनुपर्ने देखिन्छ । सिधा बस सेवा मित्रता र सम्बन्धको सेतु मात्रै नभई अपराधको कनेक्शन हुुनु दुवै मुलुकका लागि गम्भीर विषय हो ।
बेलहियालगायतका नाकामा प्रहरी निगरानी जति बढाउन आवश्यक छ, बसमा यात्रा गरिरहेकाहरुको प्रष्ट परिचय र कामको विवरण पनि माग्ने, ती विवरणको विश्लेषण गरेर मात्रै उनीहरुलाई यात्रा गर्न दिने हो भने मात्रै मानव बेचबिखन नियन्त्रण गर्न संभव छ ।




