बुटवल । नेसनल हाइस्कुल च्याम्पियनसिप शीर्षकको राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको उपाधि विजेता तिलोत्तमाको प्यारामाउन्ट बोर्डिङ हाईस्कुलको टिमलाई विद्यालयले सम्मान गरेको छ । मंगलबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै खेलाडीहरु र प्रशिक्षकहरुलाई सम्मान गर्दै नगर परिक्रमा समेत गराईएको छ ।
बिद्यालयमा आयोजित सम्मान कार्यक्रममा बोल्दै टिम कोच वसन्त शाहीले आफुहरुका लागि यो ठुलो सफलता भएको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा बोल्दै बिद्यालयका अध्यक्ष पुर्ण प्रसाद सापकोटाले रुपन्देही क्रिकेटको उर्वर भूमि भएको बताउँदै त्यसको लागि तिलोत्तमाको प्यारामाउन्टले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताए । उनले क्रिकेटमा प्यारामाउन्टले ठुलो लगानी गरेको उल्लेख गरे ।
संस्थापक प्राचार्य डा दामोदर भुसालले राष्ट्रिय च्याम्पियन हुनु ठूलो गौरवको विषय भएको बताउँदै यसको खुशी साट्न खेलाडी विद्यार्थीलाई सम्मान र खेलाडीहरुलाई नगर परिक्रमा गराईएको जानकारी गराए ।
प्लस टू संयोजक लक्ष्मण अर्यालले विद्यालयको टिमले पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता जित्न सफल भएको बताउँदै आगामी वर्षका खेलहरुमा पनि प्यारामाउन्टले नै उपाधी ल्याउने गरि तयारी थाल्ने बताएका थिए ।
शिक्षक विपिन खत्रीले कक्षा ८ देखी १२ सम्मका बिद्यार्थीहरुलाई र्यालीमा लगिएको जानकारी दिए ।
ई–प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिपको प्रतियोगिताको फाइनलमा आस्था कलेजलाई ३८ रनले पराजित गर्दै प्यारामाउन्टले उपाधि जितेको थियो । उपाधि सहित प्यारामाउन्टले नगद १ लाख हजार रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गरेको छ ।
यसअघि भएको लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगितामामा पनि प्रथम हुंदै प्यारामाउन्टले नगद ५० हजार रुपैयाँ हात परेको थियो ।




