फागुन–१ अर्थात् माओवादी जनयुद्ध थालनीको पहिलो दिन । २०५२ साल फागुन १ गते तत्कालीन नेकपा(माओवादी) ले नेपालमा पहिलो पटक माओवादी महान् जनयुद्धको थालनी गरेको थियो । आज यो थालनी भएको २९ वर्ष पूरा भई ३०औं वर्षमा प्रवेश गर्दैछ । यसैको स्मरणमा सर्वप्रथम यसका हजारौं क्रान्तिकारी सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै घाइते, अपाङ्ग तथा बेपत्ता क्रान्तिकारी योद्धाहरुप्रति सम्मान र सहानुभूति छ ।
हिजो जुन उद्देश्यका साथ त्यो माओवादी जनयुद्ध थालनी गरिएको थियो । त्यो पूरा नहुँदै यसको अन्त्य गरियो । त्यतिबेला भनिएको थियो– ‘जनयुद्ध थालनी हाम्रो योजना राज्यसत्ता बाहेक अरु भ्रम हो भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनीतिक सत्ता कब्जा गर्नु सशस्त्र संघर्षको प्रमुख उद्देश्य हो । हाम्रो योजना सामन्तवाद साम्राराज्यवाद ध्वंश गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहारा अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्ति चलाउँदै मानव जातिकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ ।’ तर आज यो सबै सपना जस्तै भएको छ । समाजवाद र साम्यवादको त कहाँ हो कहाँ नयाँ जनवाद नै पनि त्यसले पूरा गर्न सकेन । बुर्जुवा गणतन्त्र त्यो पनि परजीवी विश्व साम्रराज्यवाद र विस्तारवादद्वारा पालित पोषित राज्य सत्ता व्यवस्थामै थन्किन पुगेको छ । सामन्तवाद र साम्रराज्यवादको ध्वंश होइन संरक्षण र पृष्ठपोषक गर्ने काम भएको छ । तत्कालीन यो माओवादी जनयुद्धका प्रमुख नायकहरु प्रचण्ड–बाबुराम र बादल यी सबै यही प्रतिक्रियावादी राज्य सत्ताका बफादार कारिन्दा र दलाल भइसकेका छन् । देश र जनताप्रति ठूलो गद्दारी र धोका भएको छ । स्वयं त्यतिबेला उनीहरुले भनेका थिए–‘एक पटक हतियार उठाएपछि त्यसलाई अन्तिमसम्म (जुन माथि भने जस्तै नयाँ जनवाद हुँदै समाजवाद र साम्यवाद) लैजाने दृढता विना सशस्त्र संघर्ष थालनी गर्नुै सर्वहारा वर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने प्रतिक्रियावादी वर्गलाई दबाब दिई सामान्य सम्झौतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन ।’ तर यहाँ उनीहरुले हिजो जे गरे र आज जे गर्दै छन् त्यो सब हिजो उनीहरुले भने जस्तै सर्वहारा वर्ग र आम जनताप्रति ‘अपराध’ गरेका छन् । यसरी यी अपराधी–गद्दारहरुप्रति अहिले जतिसुकै घृणा र अपमान गरे पनि कमी नै हुन्छ । तिनै हजारौं क्रान्तिकारी सहिदहरु र हजारौं अपाङ्ग, घाइते र बेपत्ता योद्धाले रगत पसिनामाथि होली खेल्दै आज यही प्रतिक्रियावादी सामन्ती, दलाल र नोकरशाही बुर्जुवा सत्ताका पहरेदार दलाल र नायक बन्ने गरेका छन् । धिक्कार छ । अझ लाजै नमानी प्रचण्ड भन्दै छन् पुनः विद्रोह गरिन्छ । मर्ने बेलामा कमिलाका प्वाँख आए जस्तै ।
त्यो माओवादी जनयुद्धलाई त्यतिबेला जनताको स्थितिमा आंशिक सुधार गर्ने गरी सामान्य सम्झौता टुंग्याउने साधन बन्न कदापि दिइने छैन भनिएको थियो । तर पछि १० वर्षे माओवादी जनयुद्धको दौरानमा एकाएक १२ बुँदे दिल्ली समझदारी गरी त्यसलाई टुङ्गाइयो । त्यो पनि साम्रराज्यवादी र विस्तारवादीहरुको घर आँगन र उनीहरुको मिलेमतो र संरक्षणमा टुङ्गाइयो । त्यतिबेला त्यसलाई धेरैले स्वागत गरे । ठूलठूला अबिर जात्राहरु भए । प्रचण्ड–बाबुराम–बादल सबै हाई हाई भए । लगातार १० वर्षसम्म ठूलठूूला फौजी आक्रमण र हमला गर्दा पनि टुङ्गाउन नसकिएको त्यो १० वर्षे माओवादी जनयुद्धलाई भारतीय विस्तारवादको एउटा सानो इशारामा १२ बुँदे दिल्ली समझदारी गरी टुङ्गाइयो । दुनियाँले त्यसको स्वागत गरे पनि हामी केहीले भने त्यसको तत्काल विरोध ग¥यो र लेख्यो–‘आत्मसर्मण भन्दा क्रान्तिकारीहरुले मृत्युवरण रोज्नु पर्दछ । तर यहाँ आफ्नो निम्न पुँजीवादी कुपमन्डुकताबाट विकास भएको आत्मसमर्पणवादलाई माओवादी नेतृत्वले विश्व क्रान्तिको दिशाको रुपमा हास्यास्पद दाबी गर्न थालेको छ । १० वर्षे क्रान्तिकारी युद्धको दौरानमा आर्जित उत्पीडित जनताको पक्षमा भौतिक एवं आत्मिक मूल्यहरुलाई संसद र सरकारी सिटमा सौदाबाजी गरेर विसर्जन गर्ने र जनताले कुनै उपलब्धि हासिल गर्ने कुनै पनि संकेतसम्म नदेखिदै युद्ध अन्त्यको घोषणाले १३ हजार माओवादी सहिदहरुको मजाक उठाउने माओवादी नेतृत्व आधुनिक संशोधनवादीहरु कित्तामा सबैभन्दा कुरुप देखिन पुगेको छ । यस विरुद्ध क्रान्तिकारी उभार अपरिहार्य छ ।’ माक्र्सवाद–लेनिनवाद–माओवाद– जिन्दावाद भन्ने पुस्तक भाग १ पृष्ठ–७ बाट) आखिर अहिले त्यही भएको छ । तत्कालीन माओवादी नेतृत्व प्रचण्ड–बाबुराम र बादल गाँसे कुकुर जस्तै कहिले कांग्रेसको भने कहिले एमालेको कलो खाई बाँचिरहेका छन् । तर अहिले कांग्रेस–एमालेले प्रचण्डलाई त्यो खान नदिए पछि प्रचण्ड बेचैन छट्पटिदै भन्न थालेका छन्– पुनः विद्रोह गरिन्छ । ‘कही नभाको जात्रा हाँडी गाउँमा ।’ ‘खुट्टी देख्दै पत्याइयो । आमाको दुध चुसेर पुगेन बाउको घोडा चुस्ने भनेको यही हो ।’
तै पनि बाबुराम–बादल आदि माओवादी जनयुद्धको नामै लिन छोडे पनि प्रचण्ड अहिले पनि बेला मौकामा त्यो जनयुद्धको हुन्कार गर्न भने छोडेका छैनन् । आफू प्रधानमन्त्री हुँदा फागुन १ लाई जनयुद्ध दिवस मनाउने गरी गरिएको एक दिने राष्ट्रिय बिदा, तर त्यसलाई सर्वाेच्च अदालतले खारेज गरेपछि पनि प्रचण्डले त्यसैलाई आफ्नो उपलब्धि भन्दै माओवादी जनयुद्ध समर्थकलाई आफ्नो समर्थक बनाउँदै आएका छन् । यसै क्रममा पटक–पटक एमाले अध्यक्ष तथा प्रम केपी ओलीले त्यो माओवादी जनयुद्धलाई ‘हिंसा’ भन्दै त्यसको विरोध गर्दै आइरहेका छन् । त्यसलाई अझ बल पु¥याउने गरी हालै मात्र पूर्व माओवादी प्रमुख कमाण्डरका नेता हालका एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) लाई समेत त्यो ‘हिंसा’ नै भएको भन्न लगाएका छन् । जसको कलो खाई उसैको गलो गाई स्वाभाविक छ । हिजो प्रचण्डको कलो खाई जनयुद्धको गलो गाए आज ओलीको कलो खाई जनयुद्धको विरोधी गलो मिलाए । क. बादलको आफ्नो वास्तविक हैसियत यसबाट छर्लङ्ग भएको छ । तर यसप्रति प्रचण्ड माओवादी छाउराहरुको ठूलो आपत्ति छ । फेसबुक, मिडिया चारैतिर यसको विरुद्धमा रुवाबासी छ । बादल गद्दार । गिरफ्तार गरी जेल कोच्चनुपर्ने अनरर्गल प्रचारबाजी छ ।
हिजो १० वर्षे माओवादी जनयुद्धलाई हिंसा भनी विरोध गर्ने कुरा नौलो कुरा होइन । पूर्व राजा वीरेन्द्र–ज्ञानेन्द्र अनि पञ्चे–मण्डलेदेखि लिएर कांग्रेस–एमाले यतिसम्मकि एकता केन्द्र मसाल सबैले यसलाई हिंसा र आतंक नै भनी निन्दा र घृणा गरेकै हुन् । माओवादी नेताका टाउकाका मूल्य तोकिए । सयौं माओवादी नेता र कार्यकर्ताहरुलाई सुराकी गरी गिरफ्तार गरी कतिपयलाई मारियो भने थुप्र्रैलाई जेल कष्टडीमा जाकियो । तर जब माओवादी नेतृत्व प्रचण्ड–बाबुराम मण्डलीले भारतीय विस्तारवाद समक्ष आत्मसमर्पण गरी १२ बुँदे दिल्ली समझदारी सम्झौता गरेपछि भने एकएक तिनै माओवादीहरु लोकतन्त्रवादी र जनपक्षीय भए । आतंककारी र हिंसा उन्मुख भए भनियो । तर आज तिनै माओवादी खासगरी प्रचण्ड पक्षधरलाई बताउँदै माओवादी–जनयुद्धलाई हिंसा भन्ने गर्दा केही पूर्व माओवादीहरुको टाउको दुखाई छ । तर वास्तवमा माओवादी जनयुद्ध हिंसा नै थियो र हो ।
स्वयं तत्कालीन नेकपा (माओवादी) ले त्यो जनयुद्धको पहिलो थालनी अर्थात फागुन १ का लागि अघि सारेको सात बुँदे योजनाको पहिलो प्रस्तावको पहिलो बुँदामा नै भनेको थियो–‘ यो योजना क्रान्तिकारी हिंसासम्बन्धी माक्र्सवादी–लेनिनवादी–माओवादी शिक्षामा आधारित हुनेछ ।’ अब भनौं हिंसा के हो ? किन र केका लागि हिंसा ? हिंसालाई माक्र्सले इतिहासको सुडिनी भनेका छन् । त्यस्तै माओले हिंसा विना अपवाद एक विश्वव्यापक नियम हो भनेका छन् । गोञ्जालो भन्छन्–‘यो माक्र्सवादको एक सारभूत प्रश्न हो किनभने क्रान्तिकारी हिंसा बेगर हामी एक वर्गको स्थानमा अर्काे वर्गलाई खडा गर्न सक्दैनौं ।’ अब भनौं हिंसा किन र के का लागि ? हिंसा कुनै रहर होइन, बाध्यता हो । वर्गीय समाजमा शोषक र शासक वर्गको स्थानमा शोषित र शासित वर्गलाई पु¥याउन अर्थात् सामन्ती, दलाल र नोकरशाही बुर्जुवा राज्य सत्ताको ठाउँमा शोषित, पीडित, सर्वहारा, किसान, मजदूर उत्पीडित वर्गलाई शासक वर्गमा रुपान्तरण गर्नका लागि हिंसा अनिवार्य छ । हो, यसैको लागि २०५२ साल फागुन १ मा तत्कालीन माओवादी पार्टीले माओवादी जनयुद्धको नाममा हिंसाको थालनी गरेको थियो । जुन केही उद्देश्य माथि नै बताई सकिएको छ ।
त्यसैले आज कसैले १० वर्षे माओवादी जनयुद्धलाई हिंसा भन्दा कुनै आपत्ति गर्नुपर्ने केही छैन । सत्ताधारी शासक वर्गका लागि हिंसा जहिले पनि घृणित नै हुन्छ । किनकि आफू खाईपाई आएको सिंहासन खोस्ने कुरा कसैलाई पनि जाति लाग्दैन । हो आज केपी ओली, शेरबहादुर र उनका सब आसेपासेहरु सत्ताको सिंहासनमा आसिन छन् र ब्रहमलुट मच्चाई रहेका छन् । त्यसैले उनीहरुलाई हिंसा मन पर्र्दैन र त्यसको विरोध गरिरहेका छन् । ठीक यो प्रचण्डको हकमा पनि सत्य हो । तर आफँैले गला रेटी हत्या गरिएको त्यो १० वर्षे जनयुद्धलाई हिंसा भन्दा त्यसको विरोध गर्नु त्यो खाली गोहीका आँसु चुहाने मात्र हो । जति अघि बढ्दै उति पाइला मेट्दै भने जस्तै गरी २०२८ सालको झापा विद्रोह अनि २०५२ साल फागुन १ को १० वर्षे माओवादी जनयुद्धलाई हिंंसा भनी गिज्याइरहेका छन् । जसको राप–तापमा जन्मे र हुर्के अनि देशका ठूलठूला नेता मन्त्री र प्रधानमन्त्री समेत भए, आज तिनै केपी ओली, प्रचण्ड–बाबुराम र बादलहरुले त्यसैको निन्दा, घृणा र बर्खिलाप गर्दै छन् । आमा खाने बाउँ खाने थुइय माउखाने ।
आज फागुन १ गते १० वर्षे माओवादी जनयुद्धको पहिलो थालनीको दिनमा केही माओवादी घटकहरुले यसको स्मरण गर्ने गरेका छन् । यतिसम्मकि आफैँले जन्माएको र हुर्काएको शिशुलाई पछि आफैँले त्यसको गला रेटी हत्या गरेका हत्यारा प्रचण्ड मण्डलीले समेत यसको स्मरण गर्ने गरेका छन् । यो बाचुञ्जेल जहिले पनि छिछि र दुरदुर गरी दुःख कष्ट दिने, तर मरिसकेपछि लाजै नमानी काजकिरिया र श्राद्ध आदि गर्ने लोकचार गरे जस्तै हो । वास्तवमा खाली यसको स्मरण मात्रै गर्ने होइन यो १० वर्षे माओवादी जनयुद्धको पुनस्र्थापना गर्नुछ । तर आज प्रचण्ड–बाबुराम–बादल बाहेकका केही माओवादी घटकहरु पनि यसबाट बरालिदै छन् । एकीकृत जनक्रान्तिको नारा दिँदै आएका विप्लव सि पनि जनयुद्धकै हत्याराहरुसँग घाँटी जोड्दै यही राज्य सत्ताअन्तर्गतको संसदीय निर्वाचनमा होमिन थालेका छन् । वैद्य समूहको हालत पनि त्यस्तै दोक्लो न यता न उता । जनयुद्ध भने पनि त्यस अनुरुपको कार्यदिशा र कार्य योजना छैन । हुनत भनिन्छ अगुल्टाले हानेको कुकुर बिजुलीदेखि पनि तर्सन्छ । आज त्यही भएको छ ओली–बादल–बाबुरामको तमसा यस्तै छ । अब पछि क्रमशः प्रचण्ड–विप्लव र अरुहरु सबको पनि स्थिति यस्तै हुँदै जानेछ । प्रतिक्रान्तिको जहरले सबैलाई लठयाइसकेको छ । तैपनि ढिलो–चाँडो १० वर्षे माओवादी जनयुद्धको पुनस्र्थापना र विकासका लागि नयाँ क्रान्तिकारी पिंढी जागी अघि बढ्ने नै छन् र आशा गरौं । १० वर्षे माओवादी जनयुद्ध अमर छ, माक्र्सवाद–लेनिनवाद–माओवाद–जिन्दावाद !




