प्यूठान
प्रशिद्ध धार्मिक पर्यटकीय तिर्थस्थल गौमुखी दर्शन गर्न आउने पर्यटकको लागि सुविधायुक्त सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । गौमुखी गाउँपालिका वडा नं. २ अर्खा, किनाममा गौमुखी सामुदायिक होमस्टे सञ्चालनमा आएको हो ।
गौमुखी तिर्थ गर्न आउने पर्यटकहरु बढ्दै गएकाले बसोवास र खानपानका लागि सहज होस् भन्ने उद्देश्यले होमस्टे सञ्चालन गरिएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले बताए । ‘चालु आर्थिक वर्षभित्र सडक सञ्जालले जोड्दै छ,’ उपाध्यक्ष रानाले भने–‘सडक पुगेपछि पर्यटकको संख्या झनै बढ्ने छ । पर्यटकलाई खाली हात नफर्काउन त्यस क्षेत्रलाई किवी पकेट क्षेत्रको रुपमा विकास गर्दैछौं ।’ पहिलेको तुलनामा पर्यटकहरु बढ्दोक्रममा रहेकोले स्थानीय उत्पादनलाई बजारीकरण गर्न होमस्टेले थप सहयोग पुग्ने उनले बताए । गौमुखी क्षेत्र, वाइसमुल झरना र झाँक्रीढुंगा घुम्न आउने सबै पर्यटकहरुलाई किवी खुवाउनका चालु आर्थिक वर्षमा १३ लाख बजेट विनियोजनमा किवीको बिरुवा लगाउने काम सुरु गरिएको उपाध्यक्ष रानाले बताए ।
गाउँपालिकाको नाममा जग्गा लिइ लुम्बिनी प्रदेश सरकारको ६० लाख बजेटमा होमस्टेको संरचना निर्माण भएको रानाले जानकारी दिए । होमस्टे २ वटा शौचालयसहितको कोठा, एउटा हल कोठा र एउटा सादा कोठाको संरचना बनाइएको छ ।
होमस्टे सञ्चालनमा आएपछि अर्खा, ठूलाचौर र किनामवासी जनसमुदायले अत्यन्तै खुसी व्यक्ति गरेका छन् । गौमुखी क्षेत्रमा तारबार गर्नुपर्ने, पर्यटकको सरसामान सुरक्षाका लागि गेट बनाएर साँचो लगाउने व्यवस्था हुनुपर्ने र दैनिक छोटो समयमा लागि भए पनि पुजारी राख्नु पर्ने स्थानीयवासी खड्ग घर्तीमगरले बताए । त्यस्तै सोही निवासी झुमाकुमारी बुढाले गौमुखी क्षेत्रको सरसरफाइ गर्न र महिला पुरुषका लागि छुट्टाछुट्टै नुहाउने ठाउँ बनाउन गाउँपालिकालाई आग्रह गरेकी छिन् ।
होमस्टे संरचना निर्माणका लागि स्थानीयवासी दुजमान घर्तीमगर, गणेशबहादुर पुन, इकबहादुर घर्ती, झुमा कुमारी बुढा र खड्ग घर्तीमगरले जग्गा दान गरेका थिए । बाटो पुग्नासाथ पार्किङ्का लागि जग्गा निःशुल्क उपलब्ध गराउनका लागि स्थानीयवासी तयार रहेको गणेश पुनमगरले बताए । बैदेशिक राजेगारी छोडेर गाउँमै काम गर्ने उद्देश्यका साथ होमस्टेको सम्पूर्ण जिम्मा लिएको होमस्टे सञ्चालक जीवन घर्तीमगरले बताए ।




