पोखरा भ्रमण वर्षको उद्घाटन कार्यक्रममा हाइड्रोजन भरेको बेलुनमा आगलागी हुँदा उप–प्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा उप–महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएको घटनाले औपचारिक कार्यक्रममा सुरक्षा संवेदनशिलता अपनाउनुपर्ने पाठ सिकाएको छ ।
सन् २०२५ मा पोखरामा २५ लाख पर्यटक ल्याउने योजनासहित उद्घाटन भएको पोखरा भ्रमण वर्ष कार्यक्रम जति तडकभडक थियो, सुरक्षात्मक उपाय पटक्कै अवलम्बन गरिएको थिएन् । हाइड्रोजन ग्याँस छिटो बल्ने र जोखिम निम्त्याउँछ भन्ने पटक्कै हेक्का नराख्नु आयोजकको कमजोरी हो । यस्ता कार्यक्रममा हाइड्रोजन हिलियम ग्याँस र तातो हावा भरिदै आएकोमा पोखरामा हाइड्रोजन ग्याँस मात्रै किन भरियो ? अब यो प्रश्नको उत्तर खोज्नुपर्छ । सरकारले पोखरा दुर्घटनाको सत्य तथ्य खोज्न विज्ञसहितलाई राखेर कास्कीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानवीन समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन तयार गर्न जिम्मेवारी दिइएको छ । औपचारिक घोषणा तथा यस्ता कार्यक्रमहरूमा फायर क्यान्डर बाल्दा नजिकै हाइड्रोजन भरिएको बेलुन जोखिम हुन्छ भन्ने हेक्का कसैले राखेन् । आगोको झिल्का बेलुनमा ठोक्किदा आगलागी भयो, बेलुन फड्क्यो । अहिले जे क्षति भयो, यो क्षतिले आगामी दिनमा फायर क्याण्डल र हाइड्रोजन भरिएको बेलुन प्रयोगमा नियन्त्रण लगाउनुपर्ने स्थिति श्रृजना भएको छ ।
यो घटनाबाट पाठ सिकेर अघि नबढ्ने हो भने आगामी दिनमा दुर्घटना अझैँ बढ्ने जोखिम छ । अहिले हरेक घरमा जन्म दिनलगायत हरेक उत्सवमा फायर क्याण्डल प्रयोग गर्ने चलन छ । पहिले दियो बालिथ्यो, फूलको प्रयोग हुन्थ्यो । समय फेरिएसँगै आयातित संस्कृति हावी भयो । आयातित संस्कृतिको जोखिम पटक्कै ख्याल गरिएन् ।
कीर्तिपुर बर्न अस्पतालको सघन कक्षमा राखेर दुवैको उपचार चलिरहेको र शरीरको ५, ६ प्रतिशत भागमा जलन रहेको भन्दै उच्च निगरानीमा राखिएको छ । अनुहारका विभिन्न भाग जलेकाले फोक्सोमा असर पुग्न सक्ने जोखिमलाई मध्यनजर गर्दै उच्च निगरानीमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । यद्यपी जलन गहिरो नभएकोले अवस्था जोखिममुक्त रहेको डाक्टरहरुको भनाइ छ । दुर्घटना अप्रत्याशित र कहालीलाग्दो तथा ठूलो क्षति गराउने खालको हो । ठूलो क्षति गराउने दुर्घटना भए पनि अहिलेको क्षति न्यून भएको भन्दै केही दिनमै बिर्सर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक छ । यो घटनाबाट हतास भएर होइन्, अब यस्ता सार्वजनिक कार्यक्रममा के–के विषयमा ध्यान दिने ? के गर्ने ? के नगर्ने ? बारेमा गृहमन्त्रालयले निर्देशिका बनाएर कार्यान्वयन गर्नुपर्छ ।




