भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा बीटेक अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको विषयलाई लिएर तनाव भएको छ । प्रकृतिको मृत्युको छानविन गर्न माग गर्ने नेपाली विद्यार्थीलाई घर पठाउने निर्णय गर्ने विश्वविद्यालय प्रशासनको निर्णय निन्दनीय छ ।
प्रकृतिको मृत्यु विश्वविद्यालय प्रशासनले आत्महत्या भने पनि शंकास्पद भएको भन्दै विद्यार्थीले छानविनको माग गर्ने बित्तिकै विश्वविद्यालय प्रशासन उत्तेजित भएर घर पठाउने निर्णय अस्वाभाविक र अमर्यादित छ । विद्यार्थीसँग कुनै विवाद भए छलफलबाट समाधान गर्नुको साटो घर पठाउने निर्णयले विद्यार्थीको पढ्न पाउने अधिकार हनन भएको छ । विद्यार्थीको ज्यान गएको घटनालाई विश्वविद्यालय प्रशासनले नै छानविन गर्न तत्परता देखाउनुपर्नेमा विद्यार्थीलाई घर पठाउने निर्णय विश्वविद्यालय प्रशासनको खेलाँची हो । यद्यपी घटना लगत्तै लम्सालको मृत्यु भएपछि उनलाई दुव्र्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
नेपाली विद्यार्थीहरुलाई तत्काल छात्रवास छाड्न उर्दी दिइएको थियो । उनीहरुलाई रेल्बे स्टेशनमा छाडिएको थियो । अध्ययन छात्रा लम्सालको मृत्यु र विद्यार्थीलाई छात्रावासबाट निकालेर घर पठाइएको बारे सरकारले कुटनीतिक संयन्त्रबाट काम गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । दिल्लीस्थित नेपाली दुतावासले पनि घटनापछि भारतको केन्द्रीय सरकार, उडिसा राज्य सरकारसँग सम्पर्कमा रहेर काम गरिरहेकोले सरकारले घटनाको संवेदनशिलतालाई ख्याल गरेर अघि बढेको देखिन्छ ।
अहिले अध्ययन र रोजगारीका शिलशिलामा धेरै नेपाली विदेशमा छन् । कुनै ठाउँमा असामान्य अवस्था निम्तिने बित्तिकै जोखिम रहेकोले नागरिकको सुरक्षाका लागि ती देशका दुतावासको सक्रियता आवश्यक पर्छ । सकेसम्म विभिन्न देशका दुतावासले ती मुलुकमा रहेका नेपालीको तथ्याङ्क राख्ने, उनीहरुको अवस्थाका बारेमा जानकारी लिने, कुटनीतिक संयन्त्र र सम्पर्क फराकिलो बनाउने जस्ता विषयमा ध्यान दिनुपर्छ । आगामी दिनमा यस्ता घटना हुन नदिने भइहाले नियन्त्रण बाहिर जाने अवस्था आउन नदिन सचेत हुनुपर्छ ।




