बुटवल । बुटवलमा यही फागुन १२ देखि हुने सर्वाधिक पुरस्कार राशीको राष्ट्रियस्तरको स्नुकर प्रतियोगितामा १२८ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एशोसियसन रुपन्देही र खस्यौली स्नुकर क्लबको आयोजनामा हुने प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीपमा १२८ जना खेलाडीले नाम दर्ता गराएका हुन् । प्रतियोगितामा भाग लिन फागुन ७ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने म्याद रहेको थियो ।
बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा हुने प्रतियोगितामा रुपन्देही, काठमाडौं, पोखरा, धरान, ललिलतपुर, भक्तपुर, नारायणगढ, हेटौंडा, इटहरी, बिर्तामोड, बनेपा, परासी, तौलिहवा लगायतमा देशका प्रमुख शहर र जिल्लाबाट खेलाडीले नाम दर्ता गराएका नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए । प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैया र हाइएस्ट ब्रेकरले ५५ हजार रुपैया नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष पुनले बताए । सेमिफाईनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०–३० हजार रुपैया, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने खेल संयोजक शिशिर गुरुङले बताए ।
स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताले बुटवलको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने छ ।
प्रतियोगितालाई बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा सिंह कम्प्लेक्सका सञ्चालक महेशमान सिंहबाट ३ लाख ३ हजार र आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवबाट एक लाख रुपैयां तथा समृद्धि हेयर सैलुनले समेत आर्थिक सहयोग भएको अध्यक्ष पुनले बताए ।
खेल संयोजक विजय गुरुङले बुटवल बाहिरबाट आउने खेलाडीहरुलाई आवासको ब्यवस्था आयोजकबाट गरिने तथा क्वाटरफाइनल खेलबाट खेलाडीहरुलाई आवास र खानाको समेत ब्यवस्था गरिने जानकारी दिए । प्रतियोगिताको फाइनल फागुन २१ गते हुने संघका सचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगिता सम्पन्न गर्न कोषाध्यक्ष अमिन थापाको संयोजकत्वमा आर्थिक समिति,कुनल श्रेष्ठको संयोजकत्वमा खेलाडी तथा आवास व्यवस्थापन समिति,विजय गुरुङको संयोजकत्वमा जिन्सी समिति गठन गरी तयारीका काम अन्तिम चरणमा पुगेका अध्यक्ष पुनले बताए ।




