बुटवल । बुटवल सुनचादी व्यवसायी संघ, बुटवलको आयोजनामा बुटवलमा एक दिने राजश्व तथा गोमेल सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सरकारले अगाडी सारेका करका नीति र त्यसलाई कार्यान्वयन गर्दा देखिएका समस्यालाई समाधान गरि व्यवसायी मैत्री राजश्वको अवस्था सिर्जना गर्न चाल्नु पर्ने कदमका बारेमा छलफल भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले लगानीमैत्री वातावरण तयार गर्दै राजश्वमा देखिएका समस्याहरु व्यवहारिक ढंगले समाधान गर्न सके आर्थिक कारोबार र राजस्व स्वतः बढ्ने बताए।
आन्तरिक राजस्वबाट हुने अनुसन्धान असल व्यापारीहरूका व्यवहारिक गल्तीहरू दण्डको रुपमा होइन सुधारको ढंगले अगाडी बढेमा राज्यलाई नै फाइदा हुने धारणा राखे। अध्यक्ष अर्यालले ठूला व्यवसायीहरुको जातोमा साना व्यवसायीहरु पिल्सने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउर्दै सुनचादीको कारोवारमा धेरै व्यवहारिक जटिलताहरु रहेको हुदा त्यसमा कानुनका पाना मात्र पल्ट्यार समाधान नआउने सुझाव दिए।
संघका अध्यक्ष गकुल विश्वकर्माको अध्यक्षता, महासचिव चुरामणी विकको सञ्चालन तथा उपाध्यक्ष कृष्ण बहादुर सुनारको स्वागतमा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय, बुटवलका कर अधिकृत अर्जून पन्थी र कमल सुवेदीले राजश्वका अवधारणा, सरकारले लिएको निती र त्यसको कार्यान्वय पक्षका बारेमा प्रस्तुति राखेको थियो ।
कार्यक्रममा बुटवल नगर क्षेत्रमा सुनचादी व्यवसायमा संलग्न संघका सदस्यहरुको सहभागीता रहेको थियो । त्यस अवसरमा सुनचादीको व्यवसाय गर्दा देखिएका र झेल्नु परेका अप्ठ्याराका बारेमा सहभागीहरु जिज्ञाशा राख्दै व्यवसायको सहजिकरणको उपाय खोजी गरिएको थियो ।




