टिआर शर्मा
बुटवल
हाइड्रो पावर व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले रुपन्देहीको तिलोत्तमास्थित मगरघाटमा पर्यावरण मैत्री शव दाह गृहका लागि ३५ लाख रुपैयाँ मूल्यको आधुनिक मेशिन दिएका छन् ।
नेपालका ९ स्थानमा शवदाह मेशिन र एउटा शव दाह वाहन गरी १० करोड रुपैयाँ खर्च गर्ने योजनाअन्तर्गत प्रधानले पहिलो मेशिन तिलोत्तमामा दिएका हुन् ।
मेशिन जडानका लागि इञ्जिनियरिङ डिजाइनमा १५ लाख समेत गरी ५० लाख खर्च भएको प्रधानले बताए ।
परम्परागत ढंगले दाउराको प्रयोगबाट शव दाह गर्दा फ्यांकिने वस्तुका कारण नदीहरुमा भइरहेको फोहोर तथा प्रदूषण रोक्न र अन्त्येष्टी कार्यलाई आधुनिक र पर्यावरणमैत्री बनाउने उद्देश्यले रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ सँग सम्झौता गरी काम अघि बढाएको प्रधानले बताए ।
पर्यावरणमैत्री रोटरी शवदाह गृह निर्माण पूरा गरी बिहीबार एक कार्यक्रमकाबिच तिलोत्तमा नगरपाकिलाका प्रमुख रामकृष्ण खाँण, रोटरी डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन र मेशिनका दाता प्रधानले मगरघाट विकास तथा ब्यवस्थापन परिषदका अध्यक्ष तेजमान थापालाई हस्तान्तरण गरेका हुन् ।
प्रधानले ललितपुर महानगरपालिका र अन्य दुई स्थानीय तहमा विद्युतीय शव दाह मेशिन र अन्य ठाउँमा तिलोत्तमाको जस्तै मेशिन जडान गरिदिने योजनामा रहेको बताए । मलेशियन प्रविधिको उक्त मेशिनमा शब जलाउँदा निस्कने धुवाँको ९० प्रतिशत प्रदूषण रोकिने तथा दाउरा र समय दुबै आधा कम लाग्ने प्रधानले बताए ।
‘४२ वर्षदेखि पानीबाट विद्युत् निकाल्ने व्यवसायमा छु, तर नदीको स्वच्छ पानीलाई परम्परागत ढंगले दाह संस्कार हामीले फोहोर र प्रदुषित बनायौं, अब यसलाई रोक्नुपर्छ र दाह संस्कारलाई आधुनिक र प्रविधिमैत्री बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराउन ९ ठाउँमा आधुनिक शव दाह मेशिन र एउटा शव दाह वाहन खरिद गर्न दश करोड वजेट खर्च गर्दैछु,’ प्रधानले भने–‘हिन्दु बाहुल्य मुलुकमा अन्त्येष्टीका क्रममा नदीहरुमा हुने फोहोर र प्रदूषणबारे कसैले चासो नदिएको हुँदा यसबारे पर्यावरणीय र वातावरणीय सचेतना फैलाउने उद्देश्य पनि हो ।’
प्रदुषणमुक्त दाहसंस्कार गर्ने मेशिन बनाउन डा. महाविर पुनसंग थप मद्दत लिएर काम गरिरहेको उनले बताए ।
मेशिन सञ्चालनका लागि घाटमा अक्षयकोष स्थापना गर्ने र मृत्यु हुने व्यक्तिको परिवारबाट न्यूनतम शुल्क लिएर त्यसबाट वृक्षारोपण गरी वातावरण संरक्षण गर्न सकिने र भविष्यमा दाउराको स्रोत हुने उनले सुझाव दिए ।
परियोजना संयोजक बिन्ध्याकेशर जोशीले पर्यावरणमैत्री शव दाह गृहको संरचना निर्माणमा तिलोत्तमा नगरपालिकाबाट १० लाख रुपैयाँ तथा ८७ जना दाताहरुबाट ३७ लाख रुपैयाँ आर्थिक सहयोग भएको बताए ।
मगरघाट विकास तथा ब्यवस्थापन परिषद्का अध्यक्ष तेजमान थापाले पर्यावरणमैत्री नयाँ मेशिनबाट शव दाह गर्दा वातारवण संरक्षणमा योगदान पुग्ने बताए । मगरघाटमा मेशिन जडित एउटासहित ५ वटा शव दाह स्थल भएका छन् ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले आधुनिक मेशिनसहितको शव दाह गृहले पर्यावरण संरक्षणमा टेवा पुग्ने भन्दै यसलाई सबै स्थानीय तहले अनुशरण गर्नुपर्ने बताए ।
कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ का पूर्व डिजी राजेन्द्र ध्वजु, आरसी काष्ठमण्डपका सोफिया उपाध्याय, समाजसेवी डा. विमला प्रधान, रोटरी बुटवलका अध्यक्ष प्रज्ज्वल थान्जु, क्लबका प्रेसिडेन्ट इलेक्ट कृष्ण पराजुलीले समयको मागअनुसार समुदायको उत्थानमा सरकार र संघसंस्थाहरुको पहल जरुरी रहेको भन्दै आगामी दिनहरुमा समेत थप परियोजनाहरु गर्ने बताए ।




