तिलोत्तमा । तिलोत्तमा ६ नयांमिलस्थिल डन मोडेल एकेडेमीमा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यार्थीको खोज तथा अनुसन्धान गर्ने क्षमता प्रष्फुटनका लागि विद्यालयले हरेक वर्ष विज्ञान प्रदर्शनी गर्दै आएको छ ।
विद्यालय प्रांगणमा भएको विज्ञान प्रदशर्नीको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले अहिलेको युग विज्ञान र प्रविधिको युग भएकाले विद्यार्थीलाई नयाँ–नयाँ आविश्कार र खोजमा उत्प्रेरित गर्न यस्ता विज्ञान प्रदर्शनीले हौसला मिल्ने बताए । नगरका अन्य विद्यालयले विज्ञान प्रदर्शनीलाई नियमित रुपमा आयोजना गर्न नसकेको तर डन मोडेलले हरेक वर्ष आयोजना गर्नु सकारात्मक पक्ष भएको आचार्यले बताए ।
विद्यालयका प्राचार्य सिताराम भट्टराईले विद्यार्थीमा अन्तरनिहीत नव प्रवर्तन र आविष्कारको क्षमता उजागर गरी भविष्यमा वैज्ञानिक बन्न सक्ने बाटो देखाउन विद्यालयले विज्ञान प्रदर्शनीलाई निरन्तरता दिएको बताए । कार्यक्रमले विद्यार्थीहरु उत्प्रेरित भएका र हरेक वर्ष नयाँ नयाँ आविश्कार गरेका प्राचार्य भट्टराईले बताए ।
कार्यक्रममा तिलोत्तमा ६ का वडाध्यक्ष गणेश पाठक,विद्यालय सञ्चालक समिति अध्यक्ष यज्ञप्रसाद ज्ञवाली, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, प्याब्सन तिलोत्तमा अध्यक्ष दीपक गौतम, पुस्तक तथा स्टेशनरी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गोपाल बस्याललगायतले बोल्दै विज्ञान प्रदर्शनी सिर्जनशील कार्यक्रम भएको भन्दै सराहना गरेका थिए ।
विज्ञान प्रदर्शनीमा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीका सय बढी स्टलहरु रहेका र छिमेकी विद्यालयका सयौं विद्यार्थी समेत अवलोकन गर्न आएका डन मोडल एकेडेमीका सह–प्राचार्य सन्तोष पौडेलले बताए ।




