देवदह । रुपन्देहीको देवदहमा तेश्रो अन्तरविद्यालयस्तरीय उपमेयर छात्रा भलिबल प्रतियोगिता–२०८१ सुरु भएको छ ।
देवदह नगरपालिकाको आयोजनामा भएको उक्त प्रतियोगिताको एक कार्यक्रमकाबिच नगरप्रमुख धुव्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् । देवदह नगरपालिकाले हरेक वर्ष उप–प्रमुख छात्रा भलिवल प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । तेश्रो अन्तरविद्यालयस्तरीय उपमेयर छात्रा भलिबल प्रतियोगिताअन्र्तगत पहिलो दिन विभिन्न खेलहरु सम्पन्न भएको छ ।
प्रतियोगितामा ग्रीन प्लान्ट आवासी मावि, केरवानी मावि, कोलिय इङ्लिस बोर्डिङ्ग स्कुल, न्यू लुम्बिनी बोर्डिङ्ग स्कुल, देवदह मावि दोश्रो चरणमा प्रवेश गरेको छ । खेलमा ग्रीन प्लान्ट स्कुलले एशियनलाईट बोर्डिङ्गलाई २५–१८, २५–१३ को सोझो सेटमा हराउदै दोश्रो चरणमा प्रवेश गरेको हो ।
यसैगरी केरवानी मविले महामाया भवानी माविलाई २५–२२, २५–१९ को सोझो सेटमा हराउँदै दोश्रो चरणमा प्रवेश गरेको हो । प्रतियोगिताअन्र्तगतको तेश्रो खेलमा कोलिय बोर्डिङ्ग स्कुलले जनप्रिय माविलाई २५–१६, २५–१० को सोझो सेटमा हराएको छ ।
न्यू लुम्बिनी बोर्डिङ्ग स्कुलले भविश्ष्य माविलाई २५–२३, २५–१६ को सोझो सेटमा हराउँदै दोश्रो चरणमा प्रवेश गरेकोमा प्रताप खवासले जानकारी दिऐ । यसैगरी देवदह माविले मदरल्याण एकेडेमीलाई २५–१२, १५–२, को सेटमा हराउँदै दोश्रो चरणमा प्रवेश गरेको छ भने मदरल्याण एकेडेमीले २५–१२ मा एक सेट जित्न सफल भएको थियो । प्रतियोगितामा देवदह क्षेत्रका १७ वटा विद्यालयको सहभागिता रहेको शिक्षा शाखा अधिकृत पर्शुराम ढकालले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, द्वितीय हुनेले नगद ३० हजार, तृतीय हुनेले नगद २० हजार र सान्त्वना हुनेले नगद १० हजार, शिल्ड, मेडल प्राप्त गर्ने अधिकृत ढकालले बताए । नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेको अध्यक्ष, सदस्य मिलन मास्की रानाको स्वागत र सदस्य सचिव पर्शुराम ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




