राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले स्वास्थ्य बिमाको भुक्तानी नभएको भन्दै बिमा सेवा कटौती गरेको छ । प्रतिष्ठानले तीन महिनासम्म पाउने औषधिलाई एक हप्तामा सीमित गरेको छ । साथै प्रयोगशाला र रेडियोलोजी जाँच पनि स्थगित गरेको छ । प्रतिष्ठानले दाबी गरेअनुसार बिमाले ११ करोड भुक्तानी गर्न बाँकी छ ।
बिमित बिरामीलाई औषधि उपलब्ध गराउन र विभिन्न जाँच गर्न आवश्यक केमिकल खरिद गर्न प्रतिष्ठानमा समस्या भएपछि सेवालाई कटौती गरेको अस्पतालको भनाइ छ । स्वास्थ्य बिमा सेवा कटौती गर्ने राप्ती पहिलो अस्पताल होइन, यसअघि त्रिवि शिक्षण अस्पतालले पनि भुक्तानी नपाएको भन्दै बिमा सेवा ५ महिनासम्म बन्द गरेको थियो । पछि बिमा बोर्डले भुक्तानी केही समयमै दिने आश्वासन दिएपछि सेवा सुचारु गरेको छ ।
अन्य स्वास्थ्य संस्थाहरूले समयमै सरकारले भुक्तानी दिन नसकेको भन्दै सेवा बन्द गर्ने चेतावनी दिइरहेका छन् ।
सरकारले पछिल्ला वर्षमा वार्षिक स्वास्थ्य बिमाका लागि ७ अर्ब ५० करोड दिँदै आएको छ । तर यस वर्ष ४५ अर्बभन्दा बढी रकम भुक्तानी गनुपर्ने अवस्था छ । जसले गर्दा यो वर्ष ठूलो रकम अपुग भएको छ ।
अघिल्लो वर्षको बक्यौता मात्रै १६ अर्ब रहेको र यो वर्ष खर्च गर्न पाउनुपर्ने सबै रकम अघिल्लो वर्ष नै खर्च भइसकेको अवस्थामा कसरी रकम दिने भन्ने चुनौती थपिएको छ । अस्पतालले नागरिकलाई अनावश्यक परीक्षण र औषधि खरिद गर्न लगाएर पैसा सकाइदिएकाले स्वास्थ्य बिमा सेवा चल्न कठीन भएको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बताउँदै आएका छन् ।
गरिब तथा विपन्न वर्गका नागरिकका लागि ठूलो राहत बनेको स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्नुको विकल्प छैन । सबैका लागि बिमाभन्दा पनि तलब खाने नागरिक, कर तिर्ने नागरिक, प्रिमियम गर्ने नागरिक र प्रिमियम पनि तिर्न नसक्ने नागरिक गरी नागरिकलाई चार प्रकारमा विभाजन गरेर बिमा कार्यक्रम व्यवस्थित गर्न सकिन्छ । यसतर्फ सरकारले तत्काल काम सुरु गर्न आवश्यक छ ।




