बुटवल
भैरहवाकी पुनमकुमारी अग्रवाल नेपालकै ठूलो अर्गानिक मल कारखाना स्थापना गर्न चाहिने ३० करोडमध्ये १० करोड अपुग भएपछि वर्षांै कारोबार गरिरहेका दुई वटा निजी वाणिज्य बैंकमा गइन् । तर दुवै बैंकले अर्गानिक मल कारखाना सफल नहुने भन्दै कोरोनाको कारण देखाएर कर्जा दिएनन् । त्यसपछि उनी फाइल बोकेर शाइन रेसुंगा डेभलपमेन्ट बैंक पुगिन् । आपूmले वर्षौं कारोबार गरेका बैंकले ऋण नपत्याएर फर्काई दिएपछि निराश बनेकी पुनमलाई शाइन रेसुंगाले पहिलो प्रयासमै कर्जा दिन तयार भयो । ‘वर्षाैं काम गरेका बैंकले कर्जा नदिएर निराश बनाएका थिए, शाइन रेसुंगाका सिइओ र कर्जा विभागको टिमले पहिलो प्रयासमै हाम्रो प्रोजेक्टलाई स्वीकार गरेर हाम्रो सपना पुरा गर्न साथ दियो’ पुनमले भनिन् ।
कर्जा पाएपछि उनीहरुले रुपन्देहीको रोहिणीमा ३० करोड लगानीमा नेपालकै ठूलो अर्गानिक मल उद्योग स्थापना गरेका छन् । यो एउटा उदाहरण मात्र हो, यो बैंकले पुनम जस्ता थुप्रैलाई उद्यमशिल बनाएको छ ।
साविकको लुम्बिनी र राप्ती अञ्चलका पाँच वटा बैंकको सफल एकीकरणबाट बनेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक अहिले लुम्बिनी प्रदेशलाई केन्द्र बनाएर राष्ट्रियस्तरको पहिचान बनाउन सफल भएको छ । पाँच प्रदेशका २० जिल्लामा ८८ शाखा कार्यालयमध्ये लुम्बिनी प्रदेशका १० जिल्लामा मात्रै ७२ वटा शाखा कार्यालय र एउटा एक्स्टेन्सन कार्यालय सञ्चालन गरेको बैंकले लुम्बिनी प्रदेशमा आफूलाई अग्रणी सावित गरेको छ ।
कुनै समय आधा दर्जन विकास बैंकका केन्द्रीय कार्यालय बुटवलमा थिए । ती सबै अरुसँग मर्ज वा विलिन भएर अलग पहिचानमा छन् । तर शाइन रेसुंगा मात्रै यस्तो बैंक हो जसले आफ्नो अस्तित्व थप मजबुद बनाउँदै बुटवलमै केन्द्रीय कार्यालय राखेर प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंकको पहिचान स्थापित गरेको छ ।
बुटवल कालिकानगरमा आफ्नै सुविधासम्पन्न भवनमा प्रधान कार्यालय रहेको बैंकका बागमती प्रदेशको काठमाडौंमा ६, ललितपुर, भक्तपुर र चितवनमा एक–एक वटा, गण्डकीको पोखरा, बुुर्तिबाङ र नवलपुरमा एक–एक शाखा सञ्चालनमा छन् ।
यस्तै सुदुरपश्चिम प्रदेशको कैलालीमा दुई तथा कञ्चनपुरमा एक र कर्णालीको सुर्खेतमा एउटा शाखा रहेको बैंकको १८ स्थानमा एटिएम सञ्चालनमा छन् । बैंकका ७ लाख ३५ हजार भन्दा बढी ग्राहक छन् ।
यस्तो छ वित्तीय अवस्था :
बैंकको अधिकृत पुँजी ८ अर्ब पुगेको छ भने जारी पुँजी ४ अर्ब ८७ करोड र चुक्ता पुँजी पनि ४ अर्ब ८७ करोड छ । देशभरका डेढ दर्जन विकास बैंकहरुमा शाइन रेसुंगाले आफूलाई टप थ्री मा उभ्याउन सफल भएको छ ।
२०८१ पौष मसान्तको अपरिष्कृत वित्तिय विवरण अनुसार निक्षेप संकलन रु. ६९ अर्ब ७२ करोड बचत निक्षेप ३६.९३ प्रतिशत, मुद्दती निक्षेप ५६.७४ प्रतिशत, कूल चल्ती तथा अन्य ६.३३ प्रतिशत रहेको छ ।
कर्जा लगानीतर्फ रु. ५७ अर्ब ४९ करोड रहेको छ । जसमा व्यापार कर्जा १८.९१ प्रतिशत, कृषि कर्जा ५.९१ प्रतिशत, आवास निर्माण कर्जा ३.८२ प्रतिशत, विपन्न बर्ग कर्जा ५.८९ प्रतिशत, जग्गा खरिद कर्जा ४.९५ प्रतिशत, होटल तथा पर्यटन कर्जा १६.८५ प्रतिशत, उद्योग कर्जा १४.२१ प्रतिशत, उपभोग्य कर्जा २०.३५ प्रतिशत, हायरपर्चेज कर्जा १.४८ प्रतिशत रहेको छ भने अस्पताल, शिक्षा आदीमा ६.५५ प्रतिशत र अन्य कर्जा १.०८ प्रतिशत रहेको बैंकले जनाएको छ ।
बैंकले ग्रामीण क्षेत्रमा शाखा विस्तारसँगै ग्रामीण अर्थतन्त्र बलियो बनाउन कृषि, उद्यम जस्ता उत्पादनशील क्षेत्रमा माग अनुसार कर्जा लगानी गरेको र सहज बैकिङ सेवा दिएकाले ग्राहकको रोजाईको बैंक बनेको अध्यक्ष थानेश्वर पौडेलले बताए ।
‘निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गर्दै अघि बढेका छौं, कर्जाको गुणस्तरमा विशेष ध्यान दिई ग्रामीण क्षेत्रमा कृषि, साना तथा मझौला उद्यम लगायतका क्षेत्रहरुमा लगानी विस्तार गरेका छौं,’ अध्यक्ष पौडेलले भने–‘डिजिटल कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउँदै उत्कृष्ट विकास बैंक बन्ने हाम्रो लक्ष्य छ ।’
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले नेपाल राष्ट्र बैंकको मार्गदर्शनअन्तर्गत रही लुम्बिनी प्रदेशलाई मुख्य आधार/केन्द्र बनाई शाखा विस्तार गर्दै,समाजका सबै वर्ग, समुदाय र पक्षसँग जोडिएर देशकै अग्रणी विकास बैंक बन्ने लक्ष्यमा रहेको बताए ।
‘सफल मर्जरपछि मोफसलमा केन्द्रीय कार्यालय राखेर पनि राष्ट्रियस्तरको विकास बैंकका रुपमा लिड गर्न सकिन्छ भन्ने पुष्टी गरेका छौं, त्यसैले पनि सबैको साथ र माया पाएका छौं, इथिकल बैंकिङ, संस्थागत सुशासन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र प्रुडेन्ट बैंकिङ्गमा हामी पूर्णरुपमा प्रतिबद्ध छौं,’ सिइओ पौडेलले भने–‘बैंकले युवा उद्यमशिलता, डिजिटल बैंकिङ र वित्तीय साक्षरतालाई पनि उच्च प्राथमिकता दिएर अघि बढेकाले युवा पुस्तामाझ अझ बढी लोकप्रिय बनेको छ ।’
बैंकले वित्तीय साक्षरताअन्तर्गत व्यक्तिगत वित्तीय योजना, बचत, लगानी, ऋण व्यवस्थापन, बिमा र डिजिटल बैंकिङजस्ता विषयको ज्ञान र त्यसको प्रयोगका बारेमा ग्राहकलाई प्रभावकारी ढंगले जानकारी दिने गरेको पौडेलले बताए । बैंकिङसम्बन्धी कुनै समस्या परेमा शाखा कार्यालय धाउनु नपर्ने गरी डिजिटल च्याटबटबाट समाधान दिने एप प्रयोगमा ल्याएर ग्राहकलाई सन्तुष्ट बनाएको नायव प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले बताए । ‘मोफसलमा रहेर पनि ठूला वाणिज्य बैंक सरह उत्कृष्ट सेवा दिएर ग्राहकलाई सन्तुष्ट बनाएका छौं, त्यसैले दुई–दुई पटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंको अवार्ड जित्यौं यो नै हाम्रो बलियो पक्ष हो ।’– पनेरुले भने ।
७२ करोड ६४ लाख कर दाखिला
बैंकले आर्थिक वर्षमा २०८०÷०८१ मा ब्याजकर, पारिश्रमिक कर लगायत अन्य शीर्षकमा गरी श्रोतमा कर कट्टीतर्फ रु. ३५ करोड ५७ लाख ८० हजार, आयकरतर्फ रु. ३७ करोड ०६ लाख ६६ हजार गरी कुल रु ७२ करोड ६४ लाख ४६ हजार सरकारी कोषमा जम्मा गरेको छ । चालु आ.व. २०८१÷८२ को पौष मसान्तसम्म अग्रिम आयकरतर्फ रु १७ करोड ९८ लाख ७३ हजार र ब्याजकर, पारिश्रमिक कर, लाभांश करलगायत अन्य शीर्षकमा गरी श्रोतमा कर कट्टीतर्फ रु. १६ करोड ९३ लाख ६४ हजार गरी कूल ३४ करोड ९२ लाख ३७ हजार जम्मा गरिएको छ । बैंकमा ९७० जना कर्मचारी कार्यरत छन् ।
उत्कृष्टताका विभिन्न अवार्ड प्राप्त
बैंकले आर्थिक वर्ष २०८०-०८१ मा इण्डियन च्याम्बर अफ कमर्सवाट आयोजित दोस्रो इमर्जिङ एशिया बैंकिङ अवार्डमा बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी, बेस्ट पर्फमेन्स अन ग्रोथ र बेस्ट बैंक शिर्षकमा रनर उपाधिबाट सम्मानित भएको थियो ।
यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा नेसनल बेस्ट प्रेसिडेन्टल एनुअल रिपोर्ट अवार्ड २०२३ मा सर्टिफिकेट अफ मेरिट र न्यू बिजनेश एज प्रा.लि. बाट बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इअर २०२४ वाट सम्मानित भएको थियो ।
१६ हजार वृक्षरोपण
सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले गो ग्रीन प्रोजेक्टअन्तर्गत आर्थिक वर्ष २०८०÷८१ मा विभिन्न प्रजातीका एक हजार रुख बिरुवा रोपेको छ । आर्थिक वर्ष २०७९-८० मा १५ हजार रुख बिरुवा रोपिएकोमा कूल १६ हजार रुख बिरुवा रोपी सोको संरक्षण समेत गर्दै आएको बैंकले जनाएको छ ।
११५ वटा वित्तीय साक्षरता कार्यक्रम
वित्तीय साक्षरतातर्फ आर्थिक वर्ष २०८०-८१ मा बैंकले विभिन्न स्थानहरुमा ११५ वटा कार्यक्रमहरु गरेको छ । उक्त कार्यक्रममा ५,९८३ कर्मचारी, किसान, साना तथा मझौला व्यवसायी, सम्भावित बैदेशिक रोजगारीमा जाने कामदार, विद्यार्थी, रेमिटेन्स प्राप्तकर्ताहरू र युवाहरूको प्रत्यक्ष सहभागिता रहेको थियो ।
यस्तो छ मर्जर इतिहास
२०६५ फागुन ११ गतेदेखि बुटवलमा केन्द्रीय कार्यालय राखेर कारोबार सुरु गरेको शाइन डेभलपमेन्ट बैंक र गुल्मीको रेसुङ्गा विकास बैंकबिच २०६९ चैत ४ मा मर्जर भई शाइन रेसुंगा डेभलपमेन्ट बैंक बनेको थियो । त्यसपछि २०७३ जेठ २९ मा प्यूठानको गौमुखी विकास बैंक लिमिटेडसँग मर्जर भयो भने २०७६ असोज २७ गते भैरहवाको पूर्णिमा विकास बैंक र नेपालगञ्जको भार्गव विकास बैंकलाई प्राप्ती गरेको थियो । बैंकले २०७६ मंसिर १० गते राष्ट्रियस्तरको विकास बैंकको इजाजतपत्रप्राप्त गरेको थियो ।




