बुटवल । बुटवलमा फागुन १२ देखि सर्वाधिक पुरस्कार राशीको राष्ट्रियस्तरको स्नुकर प्रतियोगिता शुरु हुंदैछ । नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एशोसियसन रुपन्देही र खस्यौली स्नुकर क्लबको आयोजनामा हुने प्रतियोगितामा देशका प्रमुख शहरबाट १२८ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
फागुन २१ गतेसम्म चल्ने प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीपको उद्घाटनका दिन १० वटा तथा दोस्रो दिन २० वटा खेल हुने खेल संयोजक शिशिर गुरुङले जानकारी दिए । प्रतियोगिताको उद्घाटन फागुन १२ गते बिहान ९ बजेपछि शुरु हुने छ ।
बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा हुने प्रतियोगितामा रुपन्देही, काठमाडौं, पोखरा, धरान, ललिलतपुर, भक्तपुर, नारायणगढ, हेटौंडा, इटहरी, बिर्तामोड, बनेपा, परासी, तौलिहवा लगायतमा देशका प्रमुख शहर र जिल्लाबाट खेलाडी सहभागी भएका नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए । प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैया र हाइएस्ट ब्रेकरले ५५ हजार रुपैया नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष पुनले बताए । सेमिफाईनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०–३० हजार रुपैया, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने खेल संयोजक शिशिर गुरुङले बताए ।
स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताले बुटवलको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने छ ।
प्रतियोगितालाई बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा सिंह कम्प्लेक्सका सञ्चालक महेशमान सिंहबाट ३ लाख ३ हजार र आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवबाट एक लाख रुपैयां आर्थिक सहयोग भएको अध्यक्ष पुनले बताए ।
प्रतियोगिता सम्पन्न गर्न कोषाध्यक्ष अमिन थापाको संयोजकत्वमा आर्थिक समिति,कुनल श्रेष्ठको संयोजकत्वमा खेलाडी तथा आवास व्यवस्थापन समिति,विजय गुरुङको संयोजकत्वमा जिन्सी समिति गठन गरी काम भइरहेको अध्यक्ष पुनले बताए ।




