बुटवल । विभिन्न प्रतियोगिताका उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई तिनाउ बोर्डिङ स्कूलले सम्मान गरेको छ । बुटवल उपमहानगरपालिकाद्वारा आयोजित नृत्य प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल विद्यार्थीहरु सिम्रन हमाल, सिम्रन थापा , प्रतिष्ठा पुन , मेरिन केसी , समिक्षा श्रेष्ठ , सोनिङ थापा , आयुशा घिमिरे र एन्जल मगरलाई एक कार्यक्रम बिच विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमुर्ति पाण्डे,प्राचार्य सीता पाण्डे र अतिरिक्त क्रियाकलाप प्रमुख नवीन शाक्य लगायतले सम्मान गरेका छन् । यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान द्वारा आयोजित जिल्ला स्तरिय चित्रकला प्रतियोगितामा तेस्रो भएकी कक्षा ७ की प्रसिद्धी बस्नेत, रोट्रयाक्ट क्लब अफ तिनाउ बुटवल द्वारा आयोजित टेबलटेनिस प्रतियोगितामा उदियमान खेलाडीको उपाधि जित्न सफल कक्षा ५ का रोजित अधिकारीलाई पनि विद्यालयले सम्मान गरेको छ ।
सो अवसरमा विद्यालयका अध्यक्ष, प्राचार्य र अतिरिक्त क्रियाकलाप प्रमुखले शैक्षिक गुणस्तरसंगै खेलकुद, संगीत र अन्य अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासलाई विद्यालयले उच्च प्राथमिकतामा राखेर अघि बढेको बताएका थिए ।




