विषादीको मनपरी प्रयोगले जोखिम बढेको छ । किसानले खेतबारीमा विषादी मनपरी प्रयोग गर्दा क्यान्सरलगायतका रोगको जोखिममा पर्न थालेका छन् । मनपरी विषादी प्रयोगले नागरिकको स्वास्थ्य जोखिममा पर्दा समेत सचेतनाको कार्यक्रम प्रभावकारी हुन सकेको छैन । सरकारी निकाय विषादीको प्रयोग न्यूनीकरण गर्न र सुरक्षा सतर्कता अपनाउन सचेत नगराउनु नागरिकको स्वास्थ्यप्रति खेलवाड गर्नु हो ।
प्रतिबन्ध भएका विषादीको आयात र बेचबिखन भए कारबाहीको दायरामा ल्याउनुपर्छ । तर सरकारी निकायबाट नियमन छैन । यसको दायित्व प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रको हो । केन्द्रकै अनुसार, ६ वर्षको अवधिमा विषादीको आयात दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७४।०७५ मा ६ लाख ३५ हजार ७ सय २१ किलो विषादी आयात भएको थियो । ०७९।०८० मा आयात परिमाण बढेर ११ लाख ८३ हजार ७ सय ४१ किलो पुगेको छ । रकमको कुरा गर्दा गत आर्थिक वर्षमा मात्रै १ अर्ब ६९ करोड ६३ लाख रुपैयाँको विषादी आयात भएको छ ।
खेतबारीमा विषादी राख्नुको कारण हो, खेतबारीमा लाग्ने किरालाई मारेर उत्पादन बढाउनु । विषादीको प्रयोगले शत्रु जीव मात्रै मर्दैनन्, मित्र जीव पनि मर्ने भएकाले विषादीको प्रयोगमा न्यूनीकरण अत्यावश्यक छ । किसानले मनपरी विषादी प्रयोग गर्दा खेतबारीका शत्रु र मित्र जीव मात्रै मरेनन्, मान्छेको स्वास्थ्य नै जोखिममा प¥यो । एकातिर किसानको स्वास्थ्य जोखिममा परेको छ, अर्कोतिर खुला सीमाको प्रयोग गरी विषादी मनपरी आयात भइरहेको छ । किसानलाई विषादी प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयका बारेमा तालिम दिन जति आवश्यक छ, मनपरी विषादी आयात न्यूनीकरण गर्न उत्तिकै जरूरी छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर हालै पाराक्वाटारपाराक्वाट डाइक्लोराइड, क्लोरोपाइरिफस र फोरेट नामक विषादी आयात बिक्रीमा प्रतिबन्ध लगाएको छ । यी विषादीको प्रयोगले किसानको स्वास्थ्य जोखिम बढाएकोले प्रतिबन्ध लगाएको हो । अन्य घातक विषादी आयात र नियन्त्रण गर्न ध्यान दिनुपर्छ । अति विषादी प्रयोग भएको तरकारीले तत्काल टाउको दुख्ने, बान्ता आउने, वाकवाकी आउने, हात काँप्ने, बेहोस हुनेलगायत समस्या देखिएका छन् । खतरानाक विषादीले दीर्घकालीन रूपमा क्यान्सर, लुलो–लङ्गडो हुने, गर्भ तुहिने, कलेजोको खराबीलगायत समस्या निम्त्याउने विज्ञहरु बताउँछन् ।
प्रतिबन्ध भएका विषादीको आयात र बेचबिखन भए कारबाहीको दायरामा ल्याउनुपर्छ । तर सरकारी निकायबाट नियमन छैन । यसको दायित्व प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रको हो । नागरिकको स्वास्थ्य जोखिम रोक्न र वातावरणीय सन्तुलन बिग्रन नदिन विषादी प्रयोग न्यूनीकरण गर्दै जानुको विकल्प छैन ।




