बुटवल । बुटवलमा यही फागुन १२ देखि जारी सर्वाधिक पुरस्कार राशीको राष्ट्रियस्तरको स्नुकर प्रतियोगितामा आज दोस्रो चरणका १६ खेल हुंदैछन् । बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा देशभरबाट १२८ जना खेलाडीले भाग लिएको प्रतियोगितामा बेस्ट अफ सेभेनका आधारमा बिहान १० बजेदेखि ४ खेल एकसाथ शुरु भएका छन् । यस्तै दिउसो १२.३० देखि ४ खेल, ३.३० देखि ४ खेल र ५.३० बजेदेखि आज हुने मध्ये अन्तिम ४ खेल हुनेछन् । १० बजे शुरु भएका खेलहरुमा पोखराका युसी सुनार र बुटवलका बिशाल दर्लामी, पोखराका परिवेश रेग्मी र हेटौडाका नितेश खण्डवाल,बुटवलका अमर थापा र पाठमाडौंका निर्मल तामाङले अघिल्लो चरणमा छनोट हुनका लागि प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एशोसियसन रुपन्देही र खस्यौली स्नुकर क्लबको आयोजनामा भएको प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीप फागुन २१ गतेसम्म चल्ने् नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए । प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैया र हाइएस्ट ब्रेकरले ५५ हजार रुपैया नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष पुनले बताए । सेमिफाईनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०–३० हजार रुपैया, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने खेल संयोजक शिशिर गुरुङले बताए ।
स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताले बुटवलको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने छ ।
प्रतियोगितालाई बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा सिंह कम्प्लेक्सका सञ्चालक महेशमान सिंहबाट ३ लाख ३ हजार र आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवबाट एक लाख रुपैयां तथा समृद्धि हेयर सैलुनले समेत आर्थिक सहयोग भएको संघका सचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगिता सम्पन्न गर्न कोषाध्यक्ष अमिन थापाको संयोजकत्वमा आर्थिक समिति,कुनल श्रेष्ठको संयोजकत्वमा खेलाडी तथा आवास व्यवस्थापन समिति,विजय गुरुङको संयोजकत्वमा जिन्सी समिति गठन गरी तयारीका काम अन्तिम चरणमा पुगेका अध्यक्ष पुनले बताए ।




