संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनका अमेरिकी समकक्षी डोनल्ड ट्रम्पबिच ह्वाइट हाउसमा विवाद र भनाभान भएको विषयले यतिबेला सिंगो विश्वको ध्यान खिचेको छ । युक्रेन केही वर्षदेखि रुससँग युद्ध गरिहेको छ, जुन युद्धले ठूलो जनधनको क्षति भएको छ भने युक्रेनको अर्थतन्त्र पनि डामाडोल भएको छ । र युक्रेनलाई रुससँगको युद्धमा सघाउने मुख्य शक्ति राष्ट्र अमेरिका नै हो । अमेरिकाले युक्रेनलाई युद्धका लागि ३५० अर्ब डलर र सैन्य उपकरण दिएको थियोे ।
त्यही अमेरिकाको ह्वाइट हाउसस्थित ओभल अफिसमा जेलेन्स्की र ट्रम्प बीच चर्काचर्की विवाद भएपछि अब के हुन्छ भन्ने चासो बढेको छ । ट्रम्पले जेलेन्स्कीलाई तृतीय विश्वयुद्ध निम्त्याउन चाहेको आरोप लगाउँदै युक्रेनले रुससँग शान्ति सम्झौता नगरेमा अमेरिका बाहिरिने चेतावनी दिएका थिए । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्झौता नगर्ने बताएका थिए । विवादपछि निकै अपेक्षा गरिएको अमेरिका र युक्रेनबिच हुने भनिएको खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर भएन र जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति कार्यालयबाट बाहिरिन भनियो । पछि जेलेन्स्कीले ट्रम्पसँग हुन गएको विवाद दुवै पक्षका लागि ठीक नभएको प्रतिक्रिया दिए ।
सो क्रममा उनले पछिल्लो घटनापछि पनि दुई देशबिच सम्बन्ध अगाडि बढ्न सक्ने आफ्नो विश्वास रहेको बताए । तर सम्बन्ध अघि बढ्छ भन्ने यकिन छैन । ट्रम्पले रुससँग लडाइँ गरेर युक्रेनले जित्न नसक्ने बताएका थिए । जबकि सुरुमा युद्ध गर्न उक्साउने अमेरिका नै हो । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमा एउटा पोस्ट गर्दै जेलेन्स्कीमाथि कैयौँ आरोप लगाएका छन् । उनले राष्ट्रपति जेलेन्स्की शान्तिका लागि तयार नभएको आरोप लगाए । उनले अमेरिकाको अपमान गरेको समेत ट्रम्पको भनाइ छ ।
ट्रम्प र जेलेन्स्कीबिच ओभल अफिसमा भएको वादविवादले उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका निम्ति महत्वपूर्ण संकटलाई संकेत गरेको छ । ट्रम्पले जेलेन्स्कीलाई यसअघि नै निरंकुशको संज्ञा दिइसकेका छन् भने युक्रेनले युद्ध थालेको पनि भनिसकेका छन् । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडनले सुमधुर बनाएको अमेरिका र युक्रेनबिचको गठबन्धन अहिले धुज्जाधुज्जा हुन पुगेको छ । युरोपेली राष्ट्रहरूको सुरक्षाबारे अमेरिकी प्रतिबद्धतालाई लिएर युक्रेनबाहिर थप आशंका र प्रश्नहरू खडा भएका छन् । नेटोका साझेदारमाथि गरिने आक्रमण अमेरिकामाथि आक्रमण गरिए सरह मान्ने भनेर सन् १९४९ मा ह्यारी ट्रूम्यानले गरेको वाचालाई ट्रम्पले जारी राख्ने छन् वा छैनन् भन्ने सबैभन्दा ठूलो प्रश्न हुनेछ ।
निचोडमा भन्नुपर्दा जसरी अमेरिकाले रुसलाई क्षति पुराउने उद्देश्यले युक्रेनलाई रुससँग युद्ध गर्न सुरुमा हतियार र ठूलो आर्थिक सहयोग ग¥यो, तर अहिले युक्रेनले ठूलो आर्थिक र मानवीय क्षति बेहोरेपछि अब युद्धलाई सहयोग गर्न नसकिने भन्दै विवादमा ओर्लिएको छ, यसबाट नेपालले पनि गम्भीर पाठ सिक्न जरुरी छ । भलै नेपाल अरु देशसँग युद्ध नगरे पनि अन्य कुटनीतिक सम्बन्धमा पनि कुनै मुलुकले भन्दैमा उसका कुरा पत्याइ हाल्न नहुने पाठ सिक्नुपर्छ । चीन र भारत दुवै छिमेकीसँग समान सम्बन्ध राख्ने कुरामा र नेपाल कुनै मुलुकविरुद्ध प्रयोग हुन दिन नहुने पाठ ट्रम्प–जेलेन्स्की विवादबाट नेपालका नेताहरुले सिक्नुपर्ने छ । कुनै मुलुकले उचालेकै भरमा निर्णय गर्न नहुने दृष्टान्त युक्रेन घटनाले प्रस्तुत गरेको छ । युक्रेन विवाद र शक्ति राष्ट्रहरूबिचको द्वन्द्वले विकासोन्मुख र साना राष्ट्रहरूलाई सार्वभौमिकता र अखण्डता जोगाउन समस्या पर्ने हुनाले धेरै चनाखो बन्नुपर्ने देखिन्छ ।




