बुटवल । सर्वाधिक पुरस्कार राशीको प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीप प्रतियोगितामा आज (सोमबार) प्रि क्वाटरफाइनलका ८ खेल हुंदैछन् । बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा फागुन १२ देखि जारी प्रतियोगिता अन्तर्गत आज दिउसो १२ बजेदेखि एकसाथ ४ खेल र दिउसो ४ बजेदेखि एकसाथ ४ खेल शुरु हुने आयोजक नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीले जनाएको छ ।
दिउसो १२ बजेदेखि शुरु हुने ४ खेलमा काठमाडौंका सविन तामाङ र बिर्तामोडका खेम बुढाथोकी, काठमाडौका वाङचुङ तामाङ र भैरहवाका अजय सुनार, काठमाडौंका कुमार शाही ठकुरी र पोखराका नवीन गुरुङ तथा हेटौंडाका नितेश खण्डवाल र काठमाडौंका पुर्वा दोर्जे तामाङबीच क्वाटर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने छ । यस्तै दिउसो ४ बजेदेखि शुरु हुने खेलहरुमा बुटवलका रेगन श्रेष्ठ र भैरहवाका विश्वास कर्माचार्य, बिर्तामोडका सरोज गौतम र पोखराका विकास महर्जन,बिर्तामोडकै आयुश गौतम र काठमाडौंका तेन्जिङ लामाबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका खेल संयोजक शिशिर गुरुङले जानकारी दिए ।
देशभरबाट १२८ जना खेलाडीले भाग लिएको प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैया, हाइएस्ट ब्रेकरले ५५ हजार रुपैया,सेमिफाइनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०–३० हजार रुपैया, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए ।
स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाबाट मुख्य आर्थिक सहयोग भएको छ भने बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा सिंह कम्प्लेक्सका सञ्चालक महेशमान सिंहबाट ३ लाख ३ हजार र आवास ग्रुपका महेश थैवबाट एक लाख रुपैयां आर्थिक सहयोग भएको संघका सचिव प्रकाश क्षेत्रीले बताए । फागुन २१ गतेसम्म चल्ने प्रतियोगिता निशुल्क हेर्न पाइने आयोजकले व्यवस्था गरेका छन् ।
नेपाल विलियर्डस स्नुकर तथा पुल संघका केन्द्रीय अध्यक्ष सरोजकुमार मुल्मीले नेपालमा स्नुकर खेलको इतिहासमै बुटवलको प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको महाकुम्भ प्रतियोगिता भएकाले यसले स्नुकर खेलको उचाई थप माथि पु¥याउने बताए ।




