२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जो बन्दूक फालेर पनि जीवनभरि लडिरहे !

जो बन्दूक फालेर पनि जीवनभरि लडिरहे !

जो बन्दूक फालेर पनि जीवनभरि लडिरहे !

जो बन्दूक फालेर पनि जीवनभरि लडिरहे !

जो बन्दूक फालेर पनि जीवनभरि लडिरहे !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • बुटवलले बिर्सेको बुटवलको व्यक्तित्व
    अर्जुन ज्ञवाली
    २००० सालको तेस्रो शतक । त्यसमा चार वर्ष थप्नु पर्ला । यसो गर्दा २०२१ देखि २०३४ सालसम्मको समय । यो कालखण्ड ऐतिहासिक नगरी बुटवलको लागि केही आधारभूूत कुरामा फड्को मार्ने अर्थमा विशिष्ट कालखण्ड हो । ब्रिटिश साम्राज्यसित लडेर विजयको इतिहास बनाएको बुटवलले यस कालखण्डमा आफ्नो व्यापारिक केन्द्रको भूमिकालाई समृद्ध गर्दैं शिक्षा, संस्कृति र राजनीतिक क्षेत्रमा छलाङ् मारेको छ ।
     
    साम्राज्यवादविरुद्धको देशभक्तिपूर्ण राजनीतिक उर्जामा यहाँ छलाङ् मार्न सम्भव भएको थियो । यस समयमा व्यापारमा विविधीकरण आयो । शिक्षामा स्कूलबाट अगाडि बढेर कलेज खुल्यो । यसै बेला लुम्बिनी कलेजको स्थापना भएको हो । युनाइटेड मिसनको पहलमा बुटवल टेक्निकल इष्न्टिच्युटको स्थापना भयो । यसको स्थापनापछि बुटवललाई प्रविधि र प्राविधिक दुवै  प्राप्त भए । सानातिना उद्योग स्थापना हुन सुरु भयो । उद्योगले बजारलाई उत्पादन दिन थाल्यो । यसले व्यापार विविधीकरणमा मद्दत पुग्यो । बुटवल टेक्निकलको प्रविधिले बुटवलमा मात्रै उद्योगीकरण सुरु गरेन, यसले पश्चिम नेपालमै लघु उद्योगको स्थापनामा ठाउँ बनायो । स्मरणीय छ, यसै बखत बुटवल पावर कम्पनीको स्थापना भएको हो र तिनाउ खोलामा पावर हाउस बनाई सानै स्केलमा भए पनि जलविद्युत् उत्पादन र वितरण सुरु भयो । यसबाट बुटवलले उज्यालो पनि पायो, उद्योगका लागि उर्जा पनि पायो ।
     
    समाज विकासका गतिविधिमा राजनीति कारक हुन्छ । यो समय र परिस्थितिअनुसार अन्तरङ्ग  पनि हुन्छ, बहिरङ्ग पनि हुन्छ । यस कालखण्डमा बहिरङ्ग राजनीतिले अलि छलाङ्  हान्यो । त्यसमा वाम राजनीतिले त्यसमा पनि कम्युनिष्ट राजनीतिले यहाँ बढी छलाङ् हान्यो । छलाङ्को कथा मार्गदर्शक छ । यसलाई पिढी–दरपिढीले बुझ्नु जरुरी छ ।
     
    यसलाई बुझाउन छलाङ्सित सम्बद्ध व्यक्ति वा संस्था सहयोगी हुन सक्छन् । यसका लागि कथा–विधि पनि एउटा विधि हुन सक्छ । सामाजिक व्यक्ति–विशेष वा संस्था–विशेषलाई रोजेर तिनका काम कर्मलाई अलिकति कथात्मकता दिई बोधगम्य सरल शब्द पस्किन सके बुझ्न बुझाउन सजिलो हुन्छ । यो विषयवस्तु उजागर गर्न बुटवलमा थुप्रै पात्र छन् । 
     
    बुटवलमा वाम राजनीति र वाम संस्कृतिको सन्दर्भमा यस्तो छलाङ् कथा लेख्नु पर्दा बुद्धिबहादुर थकाली र रेलिमै सांस्कृतिक संस्था महत्वपूर्ण प्रतिनिधि पात्र हुन सक्छन् ।
     
    बुद्धिबहादुर थकाली को हुन् ?
    नाम बुद्धिबहादुर थकाली, जन्म १९७९ साल भदौ २५, बाउको नाम गोरे थकाली, घर मुस्ताङ्ग जिल्लाको टुकुचे । त्यतिखेर त्यहाँ शिक्षादीक्षाको व्यवस्था थिएन । यिनी सानो बालक छँदै बाउ मरे । आमा सुनमायालाई टुहुरो छोरो हुर्काउन निकै गाह्रो भयो । ६ वर्षको बाल्ख काखमा च्यापेर सहारा खोज्दै कहिले स्याङ्जा, कहिले कुस्मा हुँदै नुवाकोटसम्म पुगिन्, आमा । अन्त्यमा एउटा सहयोगीको सहयोगमा नुवाकोटमा भट्टी पसल गरेर छोरो हुर्काउन थालिन् ।  छोरो १७÷१८ वर्षको लक्का जवान भयो । तबसम्म जेनतेन साक्षरसम्म गराइन् । त्यतिखेर विश्वमा युद्धका खबरले नेपाली युवाहरुलाई पनि आकर्षित गरेको थियो । यसमा बुद्धिबहादुर पनि आकर्षित हुन पुगे । अनि गाउँका अगुवा केटाहरुसित लागेर तिनी पनि ब्रिटिश छाउनीमा युद्ध लड्नका लागि भर्ना हुन पुगे । 
    दोस्रो विश्व युद्धमा १९९७ सालदेखि २००४ सालसम्मका सात वर्षसम्म बुद्धिले युद्धको बन्दूक खेलाए । तर, बन्दूक खेलाउँदै गर्दा युद्धले गरेको नरसंहार र रगतले उनको फौजी जीवनमा नफरत आयो । अनि त एकाएक बन्दूक फालेर स्वदेश फर्के । फौजी जीवनकै बिचमा उनको विवाह भएको थियो र एउटा छोरा पनि जन्मेको हो, तर असमयमै आमा छोरा र बज्यैलाई प्रकृतिले आत्मलीन गरिदियो । 
     
    स्वदेश फर्केपछि बुद्धिबहादुर थकालीको कर्मभूूमि बुटवल बनेको छ । बुटवलबाट उनको नयाँ जीवन पद्धति सुरु भएको छ । जीवन निर्वाहका लागि सामान्य कृषि र व्यापारमा हात हाले । युद्धको विभत्स नरसंहार र रगतको बाढी देखेपछि विक्षिप्त भएर बन्दूक बिसाएका बुद्धिबहादुरमा दानवताविरुद्ध मानवताको भाव उत्पन्न भएकै थियो । त्यही भावको प्रेरणा हुनुपर्छ, यिनी सामाजिक सेवामा बढी अग्रसर हुन थाले । छरछिमेकमा झैँझगडा, मुद्दा मामिलामा मेलमिलापको भूमिकामा देखिन थाले । सामाजिक काममा रुचि आयो । बाटाघाटा, धारापानी, मन्दिर, पाटी, पौवा, स्कुल बनाउनेमा अग्रसर भए । जोगीकुटी बगैंचामा स्थापित विश्वशान्ति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई कालिकानगरको बाङ्गे कुसुमको उपयुक्त ठाउँमा स्थानान्तरण गरी समृद्ध कालिका विद्यालय बनाउनेमा बुद्धिबहादुर थकालीलगायत जीतबहादुर गुरुङदेखि मानबहादुर गलामीसम्मका शिक्षाप्रेमीहरुको पहल उल्लेखनीय छ । जुन विद्यालय अहिले राष्ट्रकै एक उत्कृष्ट उच्च मा.वि.मा दर्ज छ । 
     
    बुटवलको कान्ति माध्यमिक विद्यालय जसको नाम एउटा उत्कृष्ट विद्यालयको रुपमा आउँछ, त्यसको पूर्वरुप गणेश जनता निम्न माध्यमिक विद्यालय हो । त्यसको सञ्चालन,  व्यवस्थापन र समृद्धिमा बुद्धिबहादुर थकालीको ठूलो योगदान छ । विद्यालयको जग्गा व्यवस्थापन, भवन निर्माण र कक्षामा राम्रो पठनपाठन बनाउनमा पनि यिनी निकै खटेका हुन् । यसमा यिनको सक्रियतालाई देखेर त्यो स्कुल कम्युनिष्टको स्कुल भन्ने पनि भएको हो । सामाजिक काममा सक्रिय देखिंदै गएपछि ठाउँ–ठाउँमा यिनको खोजी हुन थाल्यो । अरु विद्यालयले खोज्न थाले । संघसंस्थाले खोज्न थाले ।  कहीं नयाँ बाटो खोल्नुप¥यो बुद्धिबहादुर, कहीं झैझगडा, मुद्दा मामिला मिलाउन प¥यो बुद्धिबहादुर भन्ने भयो । यिनी ‘योजना निर्माण’मा अलि बढी रुचि राख्ने खालका रहेछन् । त्यसै भएर होला बुटवलको कृषि क्षेत्रमा कुलो पानी, बजारमा खेलकुद मैदान, मठमन्दिर क्षेत्र, नदी तटबन्ध, बस्ती बसाउने उपयुक्त ठाउँ रोज्ने जस्ता कुरामा अग्रसर देखिए । धेरै जसो विद्यालय, संघसंस्था, मठमन्दिरको अभिलेखमा यिनको नाम सञ्चालकमा छ । 
     
    दोस्रो विश्व युद्धको मैदानमा नरसंहारको दृश्य देखेर जब यिनले बन्दूक फाले त्यतिखेरदेखि नै साम्राज्यवादसित यिनको वितृष्णा पैदा भएको थियो । यसै वितृष्णाको कारण यिनी जाली फटाहा विरोधी भएर निस्के । शोषण, उत्पीडनविरुद्ध गरिब गुरुवाको पक्षमा देखिन पुगे । यिनको पक्षगत उपस्थितिलाई देखेर ठालुहरुले यिनलाई कम्युुनिष्ट भनेर कित्ताकाट गरेका हुन् । कम्युनिष्टको कित्तामा दर्र्ज भएका बुद्धिबहादुर अन्तमा नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भए । 
     
    यसरी सामाजिक क्षेत्रमा ख्याति बनाएका गरिब गुरुवाको पक्षमा देखिएका बुद्धिबहादुर थकाली २०२२ सालमा बुटवल नगर पञ्चायतको उप–प्रधान पञ्च चुनिए । उप–प्रधान पञ्च चुनिएपछि यिनले बुटवललाई आफूले प्लान गरेजस्तो बुटवल बनाउन भरमग्दूर प्रयास गरे । कतिपय कुरामा सफल पनि भए । जनपक्षीय काम गरेर उप–प्रधान पञ्च भएका बुद्धिबहादुर थकालीले जनपक्षीय कामै गरेर आफ्नो कार्यकाल पूरा गरे ।
    जनपक्षीय राजनीतिको चेतमा सामाजिक अभियन्ता बनेका बुद्धिबहादुर थकाली उप–प्रधान पञ्चपछि एउटा बलियो सांस्कृतिक योद्धा बनेर निस्के । 
     
    २०२२ सालमा बुद्धिबहादुर थकालीको घरमा मोदनाथ  प्रश्रितको डेरा भयो । त्यतिखेर मोदनाथ लुम्बिनी सन्देश साप्ताहिकको सम्पादक थिए । सँगसँगै साप्ताहिकको कार्यालय पनि त्यहीं भयो । त्यतिखेर बुटवलमा साहित्यिक गतिविधि खासै थिएन । त्यसतर्फ पहल सुरु हुन थाल्यो । एक दिन गणेश जनता मा.वि.मा एउटा गोष्ठीको संयोजन गरियो । त्यसमा सभापति बुद्धिलाई बनाइयो । त्यहाँ प्रस्तुत गीत, कविता, लघुनाटक, व्यंग्य, विचारहरु सुनेर तिनी निकै प्रभावित भए । त्यही गोष्ठी हो, जसले बुद्धिबहादुरलाई अन्ततः सांस्कृतिक योद्धा बनाइदियो । 
     
    २०२३ सालदेखि बुटवलमा राजनीतिक गतिविधिका साथसाथै सांस्कृतिक गतिविधि बढेर गएका छन् । त्यसमा यो घर राजनीतिकर्मीहरु र संस्कृतिकर्मीहरुको हेड क्वाटर नै बन्यो ।  यस घरमा एकातिर माक्र्सवाद मालाको क्लास चलेको हुन्थ्यो भने अर्काेतिर गीत संगीतको आलय हुन्थ्यो । 
     
    त्यहाँ 
    पूर्वमा रातो लालीमा छाउँदैछ
     धुरुमा धुरु नरोऊ आमा तिम्रो दिन आउँदैछ 
     
    लेफ्ट राइट लेफ्ट राइट नौजवान !
    ए देशका गरिब हो !
    विदेशीसित पसारी हात कति दिन माइखाने
    अब त चुप्प दुर्दशा हेरी बसे त गाइखाने
      जस्ता गीतहरुमा संगीत कम्पोज भइरहेको हुन्थ्यो । जागरणको यो अभ्यासले वस्तुतः माया प्रीतिको तरुनी तन्नेरी फकाउने बुटवलको भट्टी संस्कृतिलाई राम्रै प्रहार ग¥यो ।
    २०२४ सालमा बुटवलमा रेलिमै सांस्कृतिक मण्डलको स्थापना भयो । त्यसका प्रथम अध्यक्ष हुन् जीवराज आश्रित । मण्डलको स्थापनापछि सांस्कृतिक गतिविधि अरु बढेर गयो । त्यसै बखत मोदनाथ प्रश्रित, बुद्धिबहादुर थकाली, जीवराज आश्रित, रामप्रसाद प्रदीपहरुको संयुक्त प्रयासमा जाली फटाहाविरुद्ध ‘पचास रुपैयाँको तम्सुक’ नाउँको प्रगतिशील नाटक लेखियो र मञ्चन गरियो । यसले यथास्थितिको संस्कृतिमा जबर्जस्त प्रहार ग¥यो ।
     
    दाजै न हिंड न आजै
    बहिनीः दाजै न हिंड्न आजै हामीलाई छोडेर
    दाजुः बैनी ! कसरी हो जिउनी कमारो भै बसेर
    बहिनीः बूढाबूढी बाबु आमा साना छोराछोरी 
    कहाँ जान्छौं सबैलाई अलपत्र पारी ?
    दाजुः भुरुरुरु चरी उडिगयो हिमाल पार
    बहिनी !  यहाँ गरिबको छैन घरबार ।
    बुद्धिबहादुर थकालीको घर क्रमशः गीत, संगीत, नृत्य तथा नाटकको प्रशिक्षण केन्द्र बन्दै गएको थियो । यी यस्ता गीत, संगीत अनि नृत्य घरका दैनिकी नै बने । सँगसँगै नाटक, अभिनय र गीत लेखन तालिम हुन थाल्यो । 
     
    शोषककाविरुद्ध गरिबको पक्षपोषण गर्ने यी गीत संगीत र नृत्यले बुटवलमा अलि व्यापक रुपमै नयाँ उभार ल्यायो  । साथसाथै गरिब गुरुवाको पक्षमा पनि गीत संगीत हुन्छन्,  साहित्य हुन्छ भन्ने सन्देश सर्वसाधारणमा पुग्यो ।
     
    ल हेर है !
    ल हेर है ! ल हेर है ! ल हेर है ! ल हेर है ! !
    म धर्तीको  सपूत हुँ, किसान हुँ, किसान हुँ 
    नवीन विश्व सिर्जने परिश्रमी म ज्यामी हुँ,
    यसै बिसौ शताब्दीको सिकर्मी हुँ, म छात्र हुँ
    म न्याय पक्षको अजय वीर हुँ सिपाही हुँ ।
    यो हाम्रो हातेमालोमा यो देशको भविष्य छ
    यिनै बलिष्ठ हातमा यो विश्वको भविष्य छ !!!
    दुहेर धर्ती अन्नले असंख्य प्राण पाल्दछौं
    गरेर सिर्जना नयाँ  यो विश्व जगमगाउँछौं
    अनन्त ज्ञानका नयाँ नयाँ मुहान खोल्दछौं ।
    निभाई शत्रुलाई शान्तिको प्रकाश छर्दछौं ।
    यो विश्वको निधारमा भाग्य हामी लेख्दछौं
    ल हेर भोलि हुन्छ के आज हामी ठोक्दछौैं ।
    लेफ्ट राइट, लेफ्ट राइट नौजवान !
    यस्तै, बेला बखत विशिष्ट सांस्कृतिक कार्यक्रम, विद्यालयमा सांस्कृतिक कार्यक्रम, संघसंस्थाका विशेष कार्यक्रम तथा मेला पर्वमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रमले त्यो समयमा बुटवलले क्रान्तिकारी सांस्कृतिक क्रान्तिको विगुल फुकेको हो । अर्काेतिर बुटवलको तरुनी तन्नेरी फकाउने माया प्रीतिको भट्टी संस्कृतिमाथि बज्र प्रहार नै ग¥यो रेलिमैले । त्यस्तै यसै समयमा भैरहवामा प्रगतिशील तप्काका युवाहरुले मिर्मिरे सांस्कृतिक समाज खोली जागरण अभियान चलाए । 
     
    रेलिमैले आफ्नो जागरण अभियानलाई भैरहवा छपिया गर्दै जिल्लाव्यापी बनाएर लग्यो ।  यसको तरंग छिमेकी जिल्ला नवलपरासी र कपिलवस्तुमा पनि  फैलियो । जेहोस्, बुटवललाई केन्द्रविन्दु बनाएर यतातिर प्रगतिशील सांस्कृतिक जागरणको भूकम्प ठूलै रेक्टर स्केलमा गयो । यसका पराकम्प लुम्बिनी अञ्चलभरि गए ।
     
    रेलिमै झनपछि झन जबर्जस्त बन्दै गयो । कलाकारहरुमा जाँगर भरिदै आयो । कलाकारहरु झोला झोलामा दाल, चामल, नून, तेल हालेर गाउँगाउँ, बस्तीबस्ती पुगे । रुपन्देही बाहिर गुल्मी, पाल्पासम्म पनि पुगे । कपिलवस्तु, रुपन्देही, अर्घाखाँची र नवलपरासीलाई पनि समेटे ।
     
    यस क्रममा बुद्धिबहादुर थकाली गीत पनि लेख्ने, नाच्ने, बजाउने पनि अनि नाटकमा अभिनय गर्दा गर्दै र हास्यव्यंग्यमा भाग लिदालिदै लेखक, नर्तक, बाद्यवादक तथा अभिनेता बनिसकेका थिए । माक्र्सवादी चिन्तनले यिनको कलम सशक्त बन्दै गयो । यिनले ‘लाहुर जाने धोको’ शीर्षक सिंगो नाकट लेखे । सँगसँगै गमनसिंह गुरुङ (बुद्धिका धर्म बाउ) को जीवनी पनि लेखे । ‘लाहुर जाने धोको’ नाटकको सफल मञ्चन भयो । यसले दशर्कहरुमा राम्रो प्रभाव जमायो । युद्ध र साम्राज्यवादप्रति घृणा जगाइदियो । २०२८ सालमा आफ्नो बासमा मात्र होइन, प्रवासमा  पनि जागरण अभियान चलाउनु पर्छ भनेर रेलिमैको सांस्कृतिक अभियान भारत प्रवासमा पनि गएको छ ।  अभियानले दुई महिनासम्म भारतका गोरखपुर, वनारस, गुहाटी, तेजपुर, सिलाङ्, दार्जिलिङ् खर्साङ् आदि नेपालीहरुको बाहुल्य हुने ठाउँमा जबर्जस्त जागरण अभियान चलायो । अभियानमा ‘पचास रुपैयाँको तम्सुक’ नाटकले निकै राम्रो प्रभाव पा¥यो । त्यसमा बुद्धिबहादुरको अभिनय निकै ‘हिट’ भयो । त्यस्तै प्रगतिशील गीत संगीत नृत्य तथा प्रहसनहरुले घर छोडेर बिरानु देशमा बसेका नेपालीको मनमा हिम्मत जगाइदियो, साहस भरिदियो र आफ्नो भविष्य आफ्नै देशमा खोज्नु पर्छ भन्ने दिशाबोध गरिदियो ।
     
    अभियानमा १८ जना  कलाकारको टोली थियो । मोदनाथ प्रश्रितको नेतृत्वमा रहेको टोलीको प्रमुख व्यवस्थापक बुद्धिबहादुर थकाली थिए । कलाकारमा पन्नलाल शाक्य,  खेमान सिंह गुरुङ, देवानसिंह गुरुङ, रामप्रसाद प्रदीप, प्रचण्डबहादुर बुढाथोकी, चन्द्रबहादुर थापा, नयेन्द्र शेरचन, रामबहादुर मानव, गोपालप्रसाद कालिराज, गौतमप्रसाद कालिराज, शंकर कपाली, सरस्वती पाण्डे, सीता थकाली, मन थापा, विष्णु श्रेष्ठ, लक्ष्मी शाहीसहित गोविन्द आत्रेय थिए । रेलिमैको प्रवास सांस्कृतिक जागरण सामान्य अभियान भएन । प्रगतिको खाका बोकेको कलात्मक बहादुरीको कार्यक्रम भयो । यसले देशभरिबाट प्रवासमा गुजाराका लागि बसेका असंख्य नेपालीहरुमार्फत् नेपालभरि जागरणको सन्देश प्रवाह ग¥यो ।
     
    यसपछि पनि बुद्धिले आफ्नो सांस्कृतिक अभियानलाई जारी राखे । आफ्नो गार्हस्थ्य जीवनलाई गौण र यस अभियानलाई मुख्य बनाएरै रेलिमै सञ्चालन गरे । जनताको समस्या, दुःख, पीडा, अपेक्षालाई गीत संगीतमा नाटकमा समेटेर अझ सघन रुपमा सडकमा निस्के । यो सक्रियतालाई पंचायती शासकले सहन सकेन । २०३१ साल मंसिरमा यिनलाई पक्राउ गरेर पाल्पा जेलमा हालियो । जेलनेलसित नडराउने बहादुरले आफ्नो जेल जीवनमा पनि आफ्नो कलालाई अझ तिखारे । बिचमा एक पटक म भेट्न गएको थिएँ । छिलिङ् छिलिङ् गर्दै साङ्लाको गल्फन्दीमा जेलको ढोकामा प्रस्तुत मेरा श्रेद्धयबहादुरको शरीर क्षीण थियो । उनी बिरामी रहेछन् । तर, उनको नूर कति पनि गिरेको थिएन । 
     
    पछिल्लो समय उनको स्वास्थ्य गिर्दै गयो । उनी कमजोर भए । कहीं यिनको जेलमै मरण हुन्छ कि भन्ने भएर दुई वर्षपछि रिहा भए । बुटवलमा जहिल्यै रेलिमैको चर्चा हुन्थ्यो, बुद्धिबहादुरको नाम आउँथ्यो, मेरा मानस पटलमा त्यही साङ्लाले बाँधेको मानव चित्र मडारिएर आउँथ्यो । म जिरिङ्ङ हुन्थँे । रिहा भएको अर्काे वर्ष २०३४ श्रावण १० मा यिनको निधन भयो ।
     
    बुटवल आएपछिको गार्हस्थ्य जीवनमा उनका दुईवटी पत्नी हुन् । जेठी–मनमाया थकाली । तिनबाट एउटी छोरी –सीता मल्ल थकाली । मनमायाको निधन भएको छ । कान्छी –सुमित्रा थकाली । तिनका चारवटी छोरी । एउटीको निधन भएको छ । बुद्धिबहादुरलाई यो बुद्धिबहादुर बनाउनमा दुवै पत्नी र छोरीहरुको ठूलो हात छ । 
     
    म २०२४ सालदेखि २०३२ सालसम्म बुटवलमा लुम्बिनी सन्देश साप्ताहिकको सम्पादक थिएँ ।  त्यसो भएर पनि म २०२४ सालदेखि २०३२ सालसम्मको बुद्धिबहादुर थकाली र रेलिमै सांस्कृतिक मण्डलको बारेमा प्रत्यक्षदेखि जान्ने साक्षी हुँ । दोस्रो, तेस्रो कुन कालखण्ड हो बिर्से, त्यसमा रेलिमैको एउटा खण्डको निर्वाचनमा म निर्वाचन अधिकृत थिएँ ।
     
    तपशिलका दुईटा कुरा
    सांस्कृतिक योद्धा तथा सामाजिक अभिन्यता बुद्धिबहादुर थकाली व्यक्तिगत रुपमा पनि दीनहीन, गरिब, असहाय, अनाथहरुलाई सहयोग गर्ने र मठमन्दिरमा दान दातव्य दिने मनकारी मान्छे हुन् । यिनले कालिकानगरमा शिवालय मन्दिरका लागि जग्गा दान गरेका थिए । जहाँ अहिले शिवालय मन्दिर छ । त्यहाँ जाने बाटो पनि खोले । त्यसको नाम बुद्धि मार्ग राखियो ।  पछि त्यसलाई काटेर बुद्ध मार्ग बनाइयो । यस सम्बन्धमा छोरी सीताले भनिन्– बुबाले शिवालय मन्दिर बनाउन जग्गा दिनु भएको हो र त्यहाँ जान बाटो पनि बनाउनु भएको हो । त्यसको नाउ बुद्धिमार्ग लेखिएको थियो । पछि जाँदा बुद्धिमार्ग काटेर बुद्धमार्ग  लेखेका रहेछन् । कान्छी आमा सोझी । आपत्ति गर्न सक्नु भएनछ । आफूले कृति राख्न नसक्ने अर्काेले राखेको कृति पनि सहन नसक्ने कुकर्म अवश्य पनि अप्रिय हो– एक ।
     बुटवल अहिले शालिकै शालिकको शहर भएको छ । तर, यहाँ यिनको शालिक छैन । शालिकहरुको नामावली हेर्दै जाँदा जसलाई पनि बुद्धिबहादुर थकालीको शालिक छुटेको रहेछ  भन्ने लाग्छ – दुई ।
     
    सामग्री स्रोत
    १. मोदनाथ प्रश्रितको लेख
    २. गोविन्द आत्रेयको यायावरीय अनुभूति
    ३. स्वाधीन साप्ताहिकको सम्पादकीय र दुई अन्य लेख ।
    ४. प्राचार्य घनश्याम पाठकको प्रतिवेदन 
    ५. नेत्रप्रसाद पन्थी
    ६. मदन पौडेल
    ७. देवेन्द्र घिमिरे
    ८. कृष्ण ज्ञवाली (बुटवल उप–महानगरपालिकाका पूर्व प्रशासकीय अधिकृत)
    ९. सीता  थकाली मल्ल (बुद्धिबहादुर थकालीकी छोरी) २०८१ फागुन  १९

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij