बुटवल । बुटवलमा जारी सर्वाधिक पुरस्कार राशीको स्नुकर प्रतियोगितामा सोमबार भएका ५ प्रिक्वाटर फाइनल खेलमा विजयी हुंदै पांच खेलाडी क्वाटर फाइनल प्रवेश गरेका छन् ।
बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा जारी प्रतियोगितामा बुटवलका रेगन श्रेष्ठले भैरहवाका विश्वास कर्माचार्यलाई पछि पार्दै जित हासिल गरे । रेगन श्रीलंकामा सम्पन्न सागस्तरीय प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउन सफल नेपालकै सर्वोत्कृष्ट स्नूकर खेलाडी हुन् ।
यस्तै काठमाडौंका सविन तामाङले बिर्तामोडका खेम बुढाथोकीलाई, काठमाडौका वाङचु तामाङले भैरहवाका अजय सुनारलाई, काठमाडौंका कुमार शाही ठकुरीले पोखराका नवीन गुरुङलाई तथा हेटौंडाका नितेश खण्डवालले काठमाडौंका फुर्वा दोर्जे तामाङलाई पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेका खेल संयोजक शिशिर गुरुङले जानकारी दिए ।
बेस्ट अफ नाइनका आधारमा खेलाइएको खेलमा रेगनले ५–१ अन्तरले, वाङ्चुले ५–२ ले, कुमारले ५–३ ले, सविनले ५–१ ले र नितेशले ५–३ अंकको अन्तरले खेल जित्दै अघिल्लो चरणमा स्थान पक्का गरेका हुन् ।
नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नूकर क्लबको संयुक्त आयोजनामा फागुन १२ देखि जारी प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीपमा देशभरबाट १२८ जना खेलाडीले भाग लिएका छन् ।
प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैया, हाइएस्ट ब्रेकरले ५५ हजार रुपैया,सेमिफाइनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०–३० हजार रुपैया, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए ।
स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाबाट मुख्य आर्थिक सहयोग भएको छ भने बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा सिंह कम्प्लेक्सका सञ्चालक महेशमान सिंहबाट ३ लाख ३ हजार र आवास ग्रुपका महेश थैवबाट एक लाख रुपैयां आर्थिक सहयोग भएको संघका सचिव प्रकाश क्षेत्रीले बताए । फागुन २१ गतेसम्म चल्ने प्रतियोगिता निशुल्क हेर्न पाइने आयोजकले व्यवस्था गरेका छन् ।
नेपाल विलियर्डस स्नुकर तथा पुल संघका केन्द्रीय अध्यक्ष सरोजकुमार मुल्मीले नेपालमा स्नुकर खेलको इतिहासमै बुटवलको प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको महाकुम्भ प्रतियोगिता भएकाले यसले स्नुकर खेलको उचाई थप माथि पु¥याउने बताए । प्रतियोगिता सम्पन्न गर्न कोषाध्यक्ष अमिन थापाको संयोजकत्वमा आर्थिक समिति, कुडूल श्रेष्ठको संयोजकत्वमा खेलाडी व्यवस्थापन समिति, विजय गुरुङको संयोजकत्वमा जिन्सी समिति गठन भएको छ ।
सोमबार नै पाल्पाका कुडूल श्रेष्ठ र हेटौंडाका सोम लामा, बिर्तामोडका सरोज गौतम र पोखराका विकास महर्जन,बिर्तामोडकै आयुश गौतम र काठमाडौंका तेन्जिङ लामाबीच प्रतिस्पर्धा भएको छ ।




