मोहन कुँवर
पछिल्लो समय विश्वका विभिन्न देशहरुमध्ये जापान पनि नेपालीहरुको लागि प्रमुख गन्तव्यको रोजाइमा परेको छ । विशेषगरी जापनमा विद्यार्थी भिसा, वर्किङ्ग भिसा, व्यावसायिक भिसा,पारिवारिक भिसा र विशिष्ट सीप भएका कामदार (SSW) भिसामार्फत् नेपालीहरु जापान प्रवेश गर्ने गर्दछन् । जसरी नेपालमा विभिन्न मिडिया, सामाजिक सञ्जाललगायत कन्सलटेन्सीहरुबाट जापानको बारेमा धेरै कुराहरु सुनिन्छ त्योभन्दा निन्तान्त फरक रहेको छ, जापानको अवस्था । जापानका विभिन्न कम्पनी तथा कार्यालयहरुमा जापानी भाषाभन्दा अन्य भाषाहरु खासै प्रयोग नहुने हुँदा पनि प्रमुख समस्या भाषागत नै मानिन्छ । पछिल्लो तथ्याङ्कअनुसार जापानमा करिब २ लाख ६ हजारभन्दा बढी नेपालीहरुको संख्या रहेको छ ।
जापानमा विद्यार्थी भिसामा प्रवेश गर्नेहरुले १ वर्षको कलेज शुल्क, ६ महिनाको आवास शुल्क र अन्य खर्चहरु गरेर करिब १३ लाखभन्दा बढी रकम खर्चेर जापान प्रवेश गर्दछन् । जापानमा अध्ययनको विषय र क्षेत्र अन्य देशमा भन्दा फरक रहेको हुन्छ । विशेष गरी अधिकांश विद्यार्थीहरुले १६ महिनादेखि २ वर्षसम्म जापानी भाषा सिक्ने गर्दछन् भने त्यसपछि २ वर्षको भोकेसनल कलेज तथा ४ वर्षको लागि युनिभर्सिटी प्रवेश गरी अध्ययन गर्ने गर्दछन् । आफ्नो अध्ययन पूरा गरिसकेपछि अध्ययनअनुसारको सम्बन्धित क्षेत्रको कम्पनी खोजेर विद्यार्थी भिसाबाट वर्किङ्ग भिसामा परिवर्तन गर्दछन्, तर त्यहि सहज भने छैन जापानमा विद्यार्थी भिसाबाट वर्किङ्ग भिसामा परिवर्तन गर्न ।
एउटा विद्यार्थीको लागि कलेज शुल्क, आवास शुल्क, बिमा तथा कर रकम शुल्क र अन्य खर्चहरु गरेर १ महिनाको करिब १ लाख ५० हजारभन्दा बढी खर्च लाग्दछ भने जापान सरकारको नियमअनुसार विदेशी विद्यार्थीको हकमा १ हप्तामा २८ घण्टा मात्र काम गर्ने अनुमति प्राप्त भएको हुन्छ जस अनुसार १ महिनामा लगभग १ लाख २० हजारको सेरोफेरोमा आम्दानी गर्न सकिन्छ । धेरैजसो विद्यार्थीहरुले आफ्नो दैनिकीलाई सहज बनाउन तथा बचतको लागि नगद भुक्तानी को रुपमा तलब पाउने काम गरेका हुन्छन्, तर सबै क्षेत्रमा यस प्रकारको काम पाउन भने मुस्किल हुन्छ । साथै कुनै कारणवश चेकिङ्गमा परियो भने भिसा रद्ध गरिदिने उच्च सम्भावना पनि रहेको हुन्छ । जापानमा केहि नेपाली विद्यार्थीहरुले जापानको बढ्दो महङ्गीसँगै अन्य कुराहरुलाई आत्मसाथ गर्न नसकी आत्महत्या समेत गर्दछन्, साथै पछिल्लो समय यो घटनाक्रम तीब्र रुपमा बढिरहेको छ । त्यसैले आफ्ना छोराछोरीहरुलाई जापान पठाउनुभन्दा घरको आर्थिक अवस्था, छोराछोरीहरुको शारीरिक तथा मानसिक अवस्थाबारे राम्रोसँग बुझ्न जरुरी पनि देखिन्छ ।
पछिल्लो समय जापानमा काम गर्ने अनुमति भिसामा पनि दुई तरिकाले आउने गरेको पाइन्छ, पहिलो होटेल तथा रेष्टुरेण्टमा १० वर्ष काम गरेको अनुभवको सर्टिफिकेट देखाई नेपालीहरुको रेष्टुरेण्टमा काम गर्न आउने कामदार र दोस्रो नेपालबाट स्नातक पास गरी जापानी तथा अन्य कम्पनीहरुमा वर्किङ्ग भिसाका रुपमा काम गर्न आउने व्यक्तिहरु । विशेषगरी नेपाली रेष्टुरेण्टहरुमा काम गर्न आउने अधिकांश व्यक्तिहरुले करिब १२-१३ लाख रकम बुझाएर आउने गर्दछन् भने उनीहरुलाई कामको अनुभव र दक्षताको आधारमा १ लाखदेखि १ लाख ५० हजार सम्म मासिक तलब दिने गरेको पाइन्छ भने केहि रेष्टुरेण्टका मालिकहरुले माथि उल्लेख गरिएको रकमभन्दा तलमाथि पनि दिने गरेको पाइन्छ । कामदारहरुले परिवारको सदस्य नलिएको खण्डमा खान बस्नको व्यवस्था भने रहेको पाइन्छ । पछिल्लो समय नेपाल तथा जापानमा रहेको कन्सल्टेन्सीहरुको माध्यमबाट करिब १२÷१३ लाखभन्दा बढी रकम बुझाएर जापानी तथा अन्य विदेशी कम्पनीहरुमा काम गर्ने अनुमति भिसामा आउने नेपालीहरुको संख्या बढ्दो क्रममा रहेको छ ।
जापान प्रवेश गर्नुभन्दा पहिला सबैभन्दा महत्वपूर्ण भाषा नै भएको तर धेरैजसो कन्सलटेन्सीहरुले एउटा कम्पनीबाट भिसाको प्रकृया पुरा गरी जापान पठाउने त्यसपछि कुनै पनि जिम्मेवारी नलिने गरेको पाइन्छ । आजभोलि यस प्रकृयाबाट जापान आउने धेरै जसो नेपालीहरुलाई केहिदिनमै भाषाको कारणले नै कामबाट निकालिदिने गरेको पाइन्छ । जापानमा भाषाको तह राम्रो भएन भने अन्य कम्पनीहरुमा काम परिवर्तन गर्न पनि निकै गाह्रो हुने गर्दछ । त्यसैले केही व्यक्तिहरु विचल्लिमा परि हारगुहार गरेको पाइन्छ । त्यसैले जापान प्रवेश गर्नुभन्दा पहिले आफ्नो सीप र भाषा सिकाइलाई पूर्णता दिएर मात्र जापानको यात्रा तय गर्न आवश्यक पर्दछ ।
पछिल्लो समय “विशिष्ट सीप भएका कामदार” भिसाको रूपमा प्रवेश गर्ने नेपालीहरुको संख्या पनि बढ्दो क्रममा रहेको छ । यसको लागि कुनै सीप तथा जापानी भाषा दक्षताको परीक्षा (JFT–Basicअथवा JLPT$) र सम्बन्धित क्षेत्रको परिक्षा पास गरेर आउन पाइन्छ । यो दुई प्रकारको रहेता पनि अधिकांश नेपालीहरु SSW नम्बर १ अन्तर्गत स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको क्षेत्राधिकारमा पर्ने खाद्य सेवा उद्योग रेष्टुरेण्ट व्यवसाय, होटलसम्बन्धी उद्योगलगायत अन्य क्षेत्रहरुमा कामदारको रुपमा आउने गर्दछन् । SSW नम्बर १ बाट आउनेहरुले परिवारका अन्य सदस्यहरुलाई लिन पाउँदैनन भने ५ वर्षपछि भिसा अवधि पनि सकिन्छ, त्यसपछिको लागि फेरि अर्को तहको परीक्षा पास गर्न आवश्यक पर्दछ । यस प्रकृयाबाट आउन निःशुल्क भनिएता पनि नेपालका कन्सलटेन्सीहरुले कम्पनी र कामदारको बिचमा रहेर मध्यस्थकर्ताको भूमिकामा काम गर्ने हुनाले केही रकम लिएर काम गर्ने गर्दछन् । क्क्ध् मार्फत् आउँदा सामान्यतया २ लाखभन्दा माथि तबल हुने गर्दछ भने जापान सरकारलाई कर तथा बीमा शुल्क र खान र बस्नको लागि आफैँले तिर्नुपर्दछ । माथि उल्लेखित भिसा बाहेक पारिवारिक तथा व्यवसायिक भिसामा पनि जापान प्रवेश गर्न सकिन्छ । काम गर्ने अनुमति भिसामा जापान रहेका कामदार तथा व्यावसायिक भिसामा रहेका व्यक्तिहरुले आफ्ना श्रीमान- श्रीमती तथा छोराछोरीहरुलाई पनि साथमा लिन पाउँछन् भने पारिवारिक भिसामा रहेकाहरुलाई जापान सरकारले हप्तामा २८ घण्टा काम गर्ने पाउने अनुमति दिएको छ ।
अन्त्यमा, जापान आफैँमा विश्वसामु छुट्टै परिचय बनाउन सफल भएको देश हो, जहाँ हामीले जापानी नागरिकहरुको इमान्दारिता, नैतिकता, लगनशीलता र धैर्यताबाट पनि धेरै कुराहरु बुझ्न र सिक्न सकिन्छ, साथै जापान सीप तथा क्षमता भएकाहरुको लागि अवसरै अवसरको सम्भवना भएको देश हो । त्यसैले भाषा तथा सम्बन्धित क्षेत्रको काम तथा सीपमा दक्षता हासिल गरेर जापान प्रवेश गर्ने हो भने सहजै सुन्दर भविष्य निर्माण सकिनेछ ।
सत्यवती –२, गुल्मी हाल जापान ओसाका




