स्थानीय तहका जनप्रतिनिधिहरु अराजक बन्दै गएको भन्दै आलोचना भइरहेका बेला काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहको व्यवहारले आलोचनालाई झनै बल पु¥याएको छ । महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागार्इंलाई कार्यालयमा हाजिर गर्न नदिने, तर संघीय सरकारले कार्यकारी अधिकृत पठाएन् भनेर सामाजिक सञ्जालमा आक्रोश पोख्ने साहको रवैया गैरजिम्मेवार छ ।
काठमाडौं टावरको स्वीकृति र नक्सापासको सम्बन्धमा पहिलेदेखि नै विवाद छ । यो विषयमा प्रमुख बालेन्द्र साह पनि संलग्न छन् । आफूलाई विवादमा बाहिर निकालेर कर्मचारीलाई दोषी देखाउने प्रवृत्ति पनि उनको गलत नै छ । अब रह्यो, कार्यकारी अधिकृतको विषय । प्रमुख कार्यकारी अधिकृत नहुँदा कर्मचारी र शिक्षकको मंसिरदेखिको तलब रोकिएको छ ।
महानगरपालिकाको नियमित कामकाज प्रभावित भएको छ । प्रमुख कार्यकारी अधिकृत गुरागाईंले नियम विपरीत काठमाडांै टावरको नक्सा स्वीकृत गरेको भन्दै साहले पहिले उनलाई सात दिन बिदा बस्न भने । बिदा सकिएपछि उनको कार्यकक्षमा ताला लगाइदिए । नक्सा स्वीकृत गर्ने उनको निर्णयबारे छानबिन गर्न समिति गठन गरे । समितिले गुरागाईंको निर्णय गलत नभएको भन्दै प्रतिवेदन तयार गरेपछि प्रमुख साहले प्रतिवेदन नै बुझेनन् । कार्यकक्षमा ताला लगाएर कार्यकारी अधिकृतलाई कार्यालय आउन नदिने तर प्रधानमन्त्रीप्रति आक्रोश व्यक्त गर्ने साहको रवैया अराजक र अमर्यादित छ । कुनै कमजोरी बिना कर्मचारीको हुर्मत लिने उनको कार्यशैलीले स्थानीय तहका जनप्रतिनिधिहरु अराजक बन्दैछन् भन्ने भनाइलाई पुष्टि गरेको छ ।
ताला लगाएर कार्यकारी अधिकृतलाई कार्यालय आउन नदिने, तर संघीय सरकार र प्रधानमन्त्रीप्रति आक्रोश व्यक्त गरेर सामाजिक सञ्जालमा लेखेर उनले गैरजिम्मेवारी त देखाएका छन् नै, यसले कर्मचारीको मनोबल पनि गिरेको छ । कर्मचारी प्रशासन स्थायी सरकार हो । कर्मचारीको मनोबल गिराएर सरकारले अपेक्षित उपलब्धि पाउन सक्दैन् । कर्मचारीले कमजोरी गर्दा कमजोरीको प्रकृतिअनुसार कारबाही गर्ने र राम्रो गर्दा पुरस्कार दिने व्यवस्थाले उनीहरुको मनोबल बढ्ने हो । कमजोरी विना कारबाही गर्ने, प्रतिशोध साँध्ने र संघीय सरकारलाई धम्क्याउने प्रमुख साहको व्यवहार सुधार नहुने हो भने काठमाडौं महानगरपालिकाको कर्मचारी प्रशासन झनै भताभुङ्ग र अस्तव्यस्त हुँदै जानेछ ।
संघीय सरकारसँग प्रदेश र स्थानीय तहले समन्वय र सहकार्य गर्न अनिवार्य छ । संघीय शासन प्रणालीको मुल मर्म भनेकै सहकार्य र समन्वय हो । साहले कुनै समस्या भए प्रधानमन्त्रीलाई भेटेर गुनासो राख्न सक्छन् । अन्य मन्त्रालयहरुमा उनले गुनासो राख्न सक्छन् । सामाजिक सञ्जालमा भ्रम छर्ने गरी पोष्ट गर्नु गलत छ ।
प्रमुख कार्यकारी अधिकृत गुरागाईंलाई कार्यालयमा जाने वातावरण बनाउने काम प्रमुख साहकै हो । कमजोरी नगर्ने कर्मचारीलाई भइरहेको दुव्र्यवहार सच्चाएर अघि बढ्दा मात्रै विवाद समाधानको मार्ग सुनिश्चित हुन्छ ।




