कागले आफ्नो नाम आफैँ भने जस्तै यो वर्तमान सामन्ती दलाल र नोकरशाही बुर्जुवा संसदको बारेमा यसैका सभासदहरुले नै यसको वास्तविक चरित्र बताइरहेका छन् । केही दिन पहिले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम अर्थात् पार्टीका बुढाखाडाहरुको आश्रम गृह भनी चित्रण गरे । त्यस्तै रासपा नेपालका नेता उपेन्द्र यादवले संसदीय सदन र यसका सभासदहरु वस्तुभाउ बढाबढ किन बेचको थलो अर्थात् सरकारले सभासदहरुलाई करोडौ करोड रुपैयाँमा खरिद बिक्री गर्ने बताए । प्रसंग सरकारद्वारा प्रस्तुत अध्यादेश सदनबाट पारित गराउने क्रममा थियो । त्यस्तै कांग्रेस–एमाले र माओवादीका नेता–सभासद सबैले एकले अर्कालाई अनेक थरी आरोप–प्रत्यारोप गर्दै आइरहेका छन् । प्रचण्ड ओलीको त दैनिकी नै एकले अर्कालाई नङ्गाउने र खुइलाइन मै छ । ठीक यी संसदीय दल नेता अनि सभासदहरुको यी भनाइ र गराइले वास्तवमा यो संसद र संसदीय व्यवस्था भनेको के हो ? छर्लङ्ग पारेको छ । जुन कुरा आजभन्दा १०० वर्ष पहिले नै कमरेड लेनिनले रुसमा भनेका थिए– बाहिर खसीको टाउको देखाएर भित्र कुकुरको मासु बेच्ने अखडा । तर अहिले यहाँ त भित्र लुकाएर मात्रै होइन बाहिरै खुलेआम यो व्यवस्था र यसको सदनहरुबाट यस्ता गतिविधि भइरहेका छन् ।
सांसद ज्ञानेन्द्र शाहीले योभन्दा यसको केहीले तारिफ गरे भने केहीले विरोध । राष्ट्रियसभामा त यसको विरोधमा खेद प्रस्ताव नै पारित भयो । यो संसदीय व्यवस्थाको मान्यता बमोजिम राष्ट्रिय सभा अर्थात् उपल्लो सदन ख्याति प्राप्त पाका र ज्ञानी विद्वान सभासद चुनिने ठाउँ हो । प्रतिनिधिसभाद्वारा पारित प्रस्ताव र विधेयकमा समेत भएका गल्ती कमजोरीहरुलाई केलाएर सदनबाट पारित गराउने जस्तो महत्वपूर्ण जिम्मेवारी त्यसका सभासदहरुको हुने गर्दछ । तर यहाँ माथि ज्ञानेन्द्र शाहीले भने जस्तै वृद्धाश्रम अर्थात् ६०–७० काटेका बुढापाकाहरुको सभा जस्तै भएको छ । त्यो सदनको बनावट गराई र भनाइ सबै त्यस्तै छ । त्यहाँ धेरै अनपढहरुको जमात छ । प्रतिनिधिसभाको निर्वाचनबाट हारेका हरुवाहरुको जमघट छ । नेताका आआफ्ना नाता पाता टिपि राखिएका छन् । तैपनि केही लाज पचाउन त्यसको विरोधमा तत्काल उक्त सदनबाट नै खेद प्रस्ताव पारित गरिएको छ । बाहिरबाट हामीले त्यो भनिरहँदा कसैले पनि त्यसको मतलब नै गरेनन् । तर त्यही कुरा एउटा सभासद त्यो पनि पूर्व पञ्चे–मण्डले र राजावादी पार्टीका नेताले भन्दा बल्ल कांग्रेस–एमाले–माओवादी र एस समाजवादीका सभासदहरुको ठाउँको नै दुख्यो अनि मात्र त्यसको खण्डन र खेद प्रस्ताव पारित गरियो ।
एउटा भनाइ छ अरु कसैलाई चोर औलो ठडाउँदा अरु चार औला स्वयं आफूतिर तेस्रिएका हुन्छन् । ठीक यही कुरा फेरि माननीय ज्ञानेन्द्र शाहीप्रति पनि तेस्रिएको छ । स्वयं ज्ञानेन्द्र शाहीको पार्टीका त्यस्तै वृद्ध र रोगी सभासदहरु राष्ट्रियसभामा मात्रै होइन प्रतिनिधिसभामा नै छन् । पशुपति समशेर ८० काटेका वृद्ध पुराना पञ्चे र राजावादी अनि त्यस्तै रोगी वृद्ध पूर्व पञ्चे र मण्डले दीपक बोहराको अवस्था र हालत के छ ? सबैलाई थाहा नै छ । रुपन्देही क्षेत्र नं. ३ का सभासद दीपक बोहराको अनुहार जिल्ला नगर, गाउँ टोल आदिमा त देख्ने कुरै भएन स्वयं प्रतिनिधिसभा पनि कहिले काही अक्कल झुक्कल अनुहार त देखिन्छ तर आवाज त्यहाँ कहिले पनि सुनिएको छैन । खाली तलब, भत्ता पचाउने मात्र काम भएको छ । उनीबाट यहाँका जनतालाई ठूलो धोका भएको छ । जात फाल्नु गहतको झोलमा भने जस्तै एक त पुराना पञ्चे–मण्डले दरबारिया त्यसमा पनि वृद्ध रोगी काम नै छैन । त्यसमा राप्रपाको मात्रै होइन, उनलाई मत हाल्न लगाउने कांग्रेस–माओवादीहरु पनि बढी दोषी छन् । यो संसदीय निर्वाचनको नाङ्गो नाच यहाँ यसरी प्रदर्शन भएको छ ।
यसरी राष्ट्रियसभा मात्रै होइन स्वयं प्रतिनिधि सभा पनि त्यस्तै वृद्धाश्रम जस्तै भएको छ । त्यस्तै अवस्था फेरि समानुपातिक सभासदहरुको पनि छ । प्रायः सबै त्यस्ता सांसदहरु पार्टी नेताका आसेपासे, नातापाता भनसुन आदिबाट भएका छन् । यो व्यवस्थाअन्तर्गतको समानुपातिक दलीय नेताहरुको पकेट र दुहुनु गाई जस्तै भएको छ । प्रायः सबै समानुपातिक सभासदहरु कि त नेताका नातापाता र दलाल छन् भने कि त धनमा किनिएका छन् । करोडौं रुपैयाँमा किनिएका त्यस्ता सांसदहरुबाट देश र जनताले के पाउने ? भनिन्छ धन र बुद्धि दुई विपरीत कुराहरु हुन् । धन हुनेको बुद्धि हुन्न र बुद्धि हुनेको धन हुन्न बुद्धि–विचार नभएका द्रव्य पिचास बस्ने थलो पनि यही संसदीय सभाहरु नै भएका छन् । त्यसैले बेला मौकामा यो समानुपातिक पनि हटाउनु पर्ने माग पनि भइरहेको छ । हुन त यो राजनीतिक व्यवस्था नै यस्तै हो । तल्लो सदन उपल्लो सदन, समानुपातिक संघीयता आदि सबै यस्तै भर्ती केन्द्र नै हुन् ।
बहुदलीय र लोकतन्त्र जे भनिए पनि यहाँ व्यक्ति केन्द्रित शासन सत्ता नै चलेको हुन्छ । नेपालको सन्दर्भमा भन्दा अहिले मुलुक केवल तिन व्यक्ति केन्द्रित अर्थात देउवा–ओली र प्रचण्ड केन्द्रित शासन सत्ता छ । सदन–सरकार सबै यिनीहरुमा नै केन्द्रित छ । सदन केवल हुन्छ र हुन्नमा मात्र सीमित छ । हाल संसदीय सदन चालु छ तर सरकारले अध्यादेश मार्फत नीति–नियम बनाई सत्ता सञ्चालन गर्दैछ । यो लोकतन्त्र र सदन सबैको उपहास हो । सदनका सभासद सबै देखावटी मात्र पार्टीका मूल नेताले जे भन्छन् त्यही मान्नै पर्ने हुन्छ भने हुन्छ र हुन्न भने हुन्न भन्ने मात्रका सभासद । बाहिर बाहिर जे भने पनि सदनबाट विधेयक पारित गराउँदा नेताकै ह्वीप मान्नै पर्ने बाध्यता छ । आज कांग्रेस–एमालेले बहुदलीय भने पनि खाली दुई दलीय मात्रको कसरत अर्थात् भन्दा वामपन्थी र लोकतन्त्रवादी भने पनि खासमा कांग्रेस र एमाले मात्रको कसरत भइरहेको छ । त्यही अनुरुप पार्टी संगठनात्मक स्वरुप पनि बदलिन थालिएको छ । एमालेले पार्टी पदाधिकारीको संख्या खाली केवल नौ मा मात्र राख्न थालेको छ । यो सबै एक व्यक्ति अर्थात् ओली केन्द्रित अवधारणा हो । कांग्रेसमा देउवा, एमालेमा ओली र माओवादीमा प्रचण्ड केन्द्रित अवधारणा नै निरंकुशतन्त्रको उपज हो ।




