२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गुठी पीडित किसानको पीडा

गुठी पीडित किसानको पीडा

गुठी पीडित किसानको पीडा

गुठी पीडित किसानको पीडा

गुठी पीडित किसानको पीडा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • स्वर्गद्वारी गुठी पीडित किसानले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको एक महिना नाघेको छ । उनीहरुको यो आन्दोलन पहिलो होइन । गत वर्ष पनि उनीहरुले आफ्ना माग राख्दै आन्दोलन गरेका थिए ।  मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था गर्न, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निस्काशित मोहीको हक पुनःस्थापित गर्न र किसानले बुझाउनुपर्ने रैतानी बापतको तिरो वडामार्फत् बुझाउने व्यवस्था गर्न उनीहरुले राखेको मागलाई बेवास्ता गरेर सरकारले गल्ती गरेको छ ।


    वर्र्षाैंदेखि जोतभोग गर्दै आएको जमिनको स्वामित्व पाउनुपर्ने माग गर्दै किसानले आन्दोलन गर्ने र सरकारले पूरा गर्ने वाचाले मात्रै समस्याको समाधान हुँदैन । किसानको आन्दोलन स्थगित गराउन सहमति गर्ने तर पूरा नगर्ने सरकारको नियत बेठिक छ ।
    किसानले अघि सारेका माग पूरा गर्न गुठीसम्बन्धी ऐन बनाउनुपर्छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले गुठीसम्बन्धी ऐन बनाउन पहलकदमी लिएको छैन । सरकारी उदासिनताले नै हो, नागरिकले आक्रोश सडकमा पोख्ने । २०७५ बैशाखमा गुठी जग्गासम्बन्धी समस्या सम्बोधन गर्न तत्कालीन केपी ओली नेतृत्वको सरकारले गुठी विधेयक संसदमा पेस गरेको थियो ।

    संविधानको मर्मलाई समातेर ल्याइएको उक्त विधेयकले गुठी जमिनका मूल समस्या समाधान गर्ने बाटो समातेको थियो । तर गुठी विधेयकलाई ओली सरकारको विरोध गर्ने औजारका रूपमा दुरूपयोग भयो । तत्कालीन प्रतिपक्ष नेपाली कांग्रेससहितका राजनैतिक दलहरुले चर्को विरोधले विधेयक अघि बढ्न सकेन । सरकारले विधेयक फिर्ता लियो ।  गुठी विधेयक अघि बढाएर कानुन बनाउने र मोही किसानका समस्या समाधान गर्न अहिले राम्रो अवसर छ । एमाले–कांग्रेसको बलियो सरकार छ । सरकारले महत्वपूर्ण कानुन बनाउन संसदलाई गतिशील बनाउन पहलकदमी लिनसक्छ  ।


    संविधानको धारा २९० मा गुठीसम्बन्धी व्यवस्था छ । यहाँ गुठीको मूलभूत मान्यतामा प्रतिकूल असर नपर्ने गरी गुठी जग्गामा भोगाधिकार भैरहेका किसान एवं गुठीको अधिकारका सम्बन्धमा संघीय संसदले आवश्यक कानुन बनाउने र  गुठीसम्बन्धी अन्य व्यवस्था संघीय कानुनबमोजिम हुने उल्लेख छ । यो व्यवस्थाअनुसार कानुन बनाउन सरकार चुक्दा अहिले किसान सडकमा आउन बाध्य भएका हुन् । शासन प्रणाली व्यवस्थित हुने कानुन निर्माण र कार्यान्वयनले हो । कानुन निर्माण नगर्ने प्रवृत्तिले शासन प्रणाली कमजोर हुन्छ । 


    संसदबाट छिटो कानुन बनाउन सक्दा मात्रै गुठी किसानका समस्या समाधान हुन सक्छन् । स्वर्गद्वारी गुठी पीडित किसानलाई आश्वासन र सहमति पत्र होइन्, समस्या समाधान हुने कानुन चाहिएको छ । संसद कानुन बनाउने थलो हो । यसले कानुन निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ  । अधिकार खोज्दै सडकमा निस्केका किसान लामो समय आन्दोलनमा लाग्दा बिरामी हुन थालेका छन् । उनीहरुको शान्तिपूर्ण आन्दोलनप्रति बेवास्ता गर्दा आक्रोश बढ्न सक्छ । समस्या समाधानको इमान्दार पहल र सहमति गरी आन्दोलनमा उत्रेका किसानलाई घर फर्कने वातावरण बनाउनुपर्छ  ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij