भैरहवा
भैरहवा भन्सार कार्यालय, रुपन्देहीले चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि माघसम्मको सात महिनामा ५३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १६.७७ प्रतिशत बढी हो । पछिल्लो समय रुपन्देहीको भैरहवा नाका हुँदै भारत तथा तेस्रो मुलुकमा हुने वैदेशिक व्यापारमा पनि वृद्धि भएको पाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको तथ्यांक हेर्दा यो नाका हुँदै निर्यात व्यापार २४.७७ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार गत वर्षको यही अवधिमा ४५ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । तर, चालु वर्षको ७ महिनामा वार्षिक लक्ष्यको ४८.६४ प्रतिशत राजस्व असुली भएको छ भने मासिक लक्ष्य पनि औसतमा ८५ प्रतिशतमाथि छ ।
कार्यालयले चालु वर्षमा एक खर्ब नौ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको छ । भन्सारका अनुसार यस नाकाबाट भित्रिने मुख्य १० वस्तुमा मोटरसाइकल, जीप, कार र भ्यान, पेट्रोल, मोबाइल, एमएस विलेट, टायल, डिजेल, मार्बल स्ल्याव, एलपी ग्यास छन् ।
चालु वर्षको सात महिनामा सबैभन्दा बढी राजस्व मोटरसाइकलबाट १० अर्ब पाँच करोड असुली भएको छ । त्यस्तै, इन्धनबाट चल्ने जीप, कार र भ्यानहरुबाट ५ अर्ब ७५ करोड रुपैयाँ, पेट्रोलबाट दुई अर्ब १५ करोड, विद्युतीय जीप, कार र भ्यानबाट एक अर्ब ३४ करोड, शुद्ध फलामबाट एक अर्ब ९५ करोड, इन्धनबाट चल्ने डबल पिकअप गाडीबाट एक अर्ब १७ करोड, सेलफोनबाट एक अर्ब ३ करोड, चकलेटबाट एक अर्ब ५२ लाख, एम.एस. विलेटबाट ८१ करोड ९२ लाख तथा टायलबाट ८१ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार प्रमुख रेग्मीले जानकारी दिए ।
भैरहवा भन्सार कार्यालयका अनुसार गत वर्ष प्रशोधित तेल भारत निकासी भएको थिएन । तर, यस वर्षको ७ महिनामा भटमासको प्रशोधित तेल २ अर्ब ९ करोड ३९ लाख ७६ हजार रुपैयाँ तथा सूर्यमुखी प्रशोधित तेल ३२ करोड ७६ लाख १५ हजार रुपैयाँ बराबरको भारततर्फ निर्यात भएको छ । ‘गत वर्ष प्रशोधित तेल भारत निर्यात शून्य थियो । भारत सरकारले रोक लगाएको थि यो । तर, यस वर्ष भने भारतले निर्यातमा सहजता अपनाएसँगै प्रशोधित तेलको निर्यात भारतमा भैरहेको छ ।’–भैरहवा भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले भने ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ७ महिनामा भटमास तथा सूर्यमुखी प्रशोधित तेलको निर्यात भारतमा उच्च हुँदा वैदेशिक व्यापार बढेको हो । चालु वर्षको सात महिनामा भटमासको प्रशोधित तेल १ करोड ५ लाख ४७ हजार ३ सय ७६ लिटर तथा सूर्यमुखी प्रशोधित तेल १८ लाख १५ हजार ३ सय २३ लिटर निर्यात भएको छ । रूपन्देहीका २ तथा नवलपरासीको एक गरी ३ उद्योगले तेल निर्यात गर्दै आएका छन् ।
रूपन्देहीको मायादेवी गाउँपालिकामा रहेको सिद्धार्थ रिफाइनरी, रोहिणी गाउँपालिकामा रहेको सनसाइन फुड्स प्रालि र नवलपरासीको सिद्विविनायक आयल्सले प्रशोधित तेल भारत निर्यात गर्दै आएका छन् । गत वर्षसम्म सबैभन्दा बढी भारत तथा तेस्रो मुलुकमा निर्यात हुने बस्तुमा सेन्थेटिक यार्न (धागो) रहेकोमा चालु वर्षमा भटमास र सूर्यमुखी को प्रशोधित तेल सबैभन्दा बढी हुने सूचीमा १ नम्बरमा छ ।
चालु आर्थिक वर्षको ७ महिनामा भारततर्फ ९ अर्ब ६६ करोड भन्दा बढी रुपैयाँ मूल्यका बिभिन्न सामानहरू भारत तथा तेस्रो मुलुकमा निकासी भएका छन् । अघिल्लो आर्थिक वर्षको यसै अवधि ७ अर्ब ७४ करोड रुपैयाँ मूल्य बराबरका विभिन्न सामान भारत तथा तेस्रो मुलुकमा भैरहवा नाका हुँदै निर्यात भएको थियो । ‘गत वर्षको तुलनामा भारत एवं तेस्रो मुलुकमा निकासी वृद्धि भएको छ, तथ्याङ्कले पनि देखाएको छ, बस्तुहरू निकासी बढ्दो छ, यसले केही भए पनि ब्यापार घाटालाई घटाएको भन्सार छ ।’–भन्सार प्रमुख रेग्मीले भने ।
यो नाका हुँदै निकासी बढी हुने मुख्य साामनमा सेन्थेटिक यार्न, सिमेन्ट, क्लिन्कर, प्लाइउड, विभिन्न वनस्पति उत्पादन, पीना, अदुवा, सुठोलगायत जडिबुटी छन् । त्यसैगरी तयारी चाउचाउ, पास्ता तथा चोकर भुस, रोजिन टर्पेन्टाइन, पिभिसी फिटिङ पाइप, खोटो रोजिन, बियर, अल्कीड रेजीन र अन्य पिभिसी रेजीन, स्टिलका भाँडाकुँडा लगायतका बस्तु भारत तथा तेस्रो मुलुकमा निर्यात हुने गर्छन् ।
गत आर्थिक वर्षको तुलनामा सिमेन्टको भारतमा निकासी कम भएको छ । भारत सिमेन्ट निर्यातका लागी बिआईए (ब्युरो अफ इण्डियन स्टयाण्डर्स)बाट गुणस्तर प्रमाणपत्र अनिवार्य रहेकोमा सिमेन्ट निर्यात गर्दे आएका केही सिमेन्ट उद्योगहरुको बिआइए नविकरण भारतको सम्बन्धित निकायले समयमै नगर्दा निर्यात रोकिएको थियो । भैरहवा नाका हुँदै सेन्थेटिक यार्न ७ महिनामा १ अर्ब ९५ करोड ७ लाख ७९ हजार रुपैयाँको निकासी भएको भन्सार कार्यालयले जनाएको छ । त्यसै गरी सिमेन्ट ६७ करोड ६३ लाख ५६ हजार रुपैयाँको निर्यात भएको छ ।
विगतका वर्षमा भन्दा चालु आर्थिक वर्षमा यो नाका हुँदै विभिन्न वनस्पति उत्पादन, पीना, अदुवा, सुठोलगायत जडीबुटीको निर्यात पनि बढ्दै गएको छ । भन्सार कार्यालयका अनुसार गत साउनदेखि माघ मसान्तसम्म पीना ५२ करोड ६ लाख ९९ हजार रुपैयाँको निर्यात भएको छ । यसैगरी ५१ करोड ६८ लाख ७६ हजार रुपैयाँ बराबरको खयर कत्था पनि भारत निर्यात भएको छ ।
यो नाका हुँदै तयारी चाउचाउ, पास्ता तथा चोकर भुससमेत निकासी भइरहेको छ । ७ महिनामा चाउचाउ र पास्ता ३५ करोड ३७ लाखको निकासी हुँदा चोकर निकासी पनि बढेको छ । बेलहिया नाकाबाट रोजिन टर्पेन्टाइन, पिभिसी फिटिङ पाइप पनि भारत निकासी हुँदै आएको छ ।




