प्रमुख विपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि पार्टीको सार्वजनिक कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहलाई लक्षित गरी गम्भीर आरोप लगाउँदै अराजनीतिक र गैरजिम्मेवार अभिव्यक्ति दिए । प्रचण्डले शाहलाई लक्षित गरी मूर्ति चोर र भाइमाराको संगीन आरोप लगाए । पटक–पटक सरकारको नेतृत्व गरेका प्रचण्डले पूर्व राजा शाह पोखराबाट काठमाडौं फर्किंदा राजसंस्था पक्षधरले फागुन २५ गते काठमाडौंमा गरेको विशाल शक्ति प्रदर्शनपछि यस्तो आरोप लगाएका हुन् । माओवादी केन्द्र शान्ति प्रकृयामा आएपछि प्रचण्ड स्वर्य पटक–पटक प्रधानमन्त्री भएका छन् । यदि पूर्व राजा शाह हत्यारा हुन् र मूर्ति चोर हुन् भने उनीमाथि यतिका वर्षसम्म किन छानबीन नगरेको त ? छानबीन भएर दोषी प्रमाणित नभई कसैमाथि यस्ता संगीन आरोप लगाउनु गैर जिम्मेवार र अराजनीतिक विषय हो ।
प्रचण्डले नेतृत्व गरेको माओवादी पार्टी स्वयंले गरेको सशस्त्र युद्धका क्रममा १७ हजार बढीले ज्यान गुमाएका थिए । उक्त युद्धबारे प्रचण्डले ५ हजार जनाको मृत्युको जिम्मेवारी आफूले लिने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । त्यति मात्र होइन पार्टीसँग ७–८ हजार मात्र लडाकू भए पनि शान्ति प्रकृयामा आइसकेपछि क्यान्टोन्मेन्टमा नक्कली लडाकू भर्ती गरेर ३५ हजार लडाकू देखाएर राज्यलाई झुक्याउन सफल भई उनीहरुको तलब वापत राज्यबाट अर्बौं रुपैयाँ अपचलन गर्न सफल भएको प्रचण्डले चितवनको शक्तिखोर शिविरमा खुलेयाम भाषण गरेका थिए । प्रचण्डसहित कांग्रेस र एमालेका शीर्ष नेताहरुमाथि एनसेलको अर्बौं कर छलीमा मिलेमतो गरेर तीनवटै पार्टीले अर्बौं रकम लिएको, बुढीगण्डकी जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजनालगायत विभिन्न प्रकरणमा प्रचण्डको नाम मुछिने गरेको छ ।
त्यसैले शिशाको घरमा बसेर अरुको घरमा ढुंगा हान्ने काम प्रचण्डले गरेका छन् । यसले यसै पनि दलहरुप्रति नागरिकको वितृष्णा र निराशा बढिरहेको बेला देशमा थप अराजकता र द्वन्द्व निम्त्याउने खतरा हुन्छ । कुनै काण्डमा नमुछिएको स्वच्छ छविको नेताले अरुलाई दोषारोपण र आरोप लगाउन सक्छन्, त्यो स्वभाविक मान्न सकिएला, तर प्रचण्डको छवि निश्कलंक र स्वच्छ छैन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । २०६४ मा करिब बहुमत पाएको माओवादी केन्द्र त्यस यता निरन्तर जनमत घट्दै अलोकप्रिय बन्दै जानुले पनि त्यो पुष्टी गर्छ । यद्यपि कांग्रेस र एमालेका शीर्ष नेताहरु पूरै स्वच्छ छविका र निश्कलंकित छन्, प्रचण्ड मात्रै खराब भन्न खोजिएको हैन ।
प्रचण्ड र अन्य दलका शीर्ष नेताहरु जनभावनाअनुसार चल्न नसक्दा नै फागुन २५ मा दलहरुले नसोचेको जनसहभागिता राजसंस्थाको पक्षमा देखियो । यसलाई वस्तुपरक ढंगले समीक्षा गरी आफूहरुबाट भएका शासकीय कमजोरी सुधार गर्न, समीक्षा गर्न तयार हुनुको साटो पूर्व राजालाई बेमौसमको आरोप लगाउनुलाई आम नागरिकले किमार्थ राम्रो मानेका छैनन् । प्रचण्ड र अरु दलका नेताले पनि पूर्व राजालाई अहिले आएर तथानाम आरोप लगाउनुको साटो अहिलेसम्म उनीमाथि लगाइने आरोपमा किटानी जाहेरी गरेर किन मुद्दा नचलाएको ? किन कारबाही नगरेको भन्ने जवाफ आम जनतालाई दिनुपर्छ । आफैँले उठाएका प्रश्नको जवाफ मात्र हैन, अब त्यस बाहिरका विविध विषयहरूबारे पनि उनले जवाफ दिनु पर्नेछ ।
राजनीति र शासनलाई जवाफदेहीविहीन र मनलाग्दी बनाउन पाइंदैन । यस्तो संस्कारले समाजमा अराजकता सिर्जना गर्छ । त्यसैले लोकतान्त्रिक गणतन्त्रका हिमायती भन्नेहरु आफू लोकतान्त्रिक, जिम्मेवार, जवाफदेही र संयमित बन्न अपिरहार्य छ । अरुलाई आरोप लगाएर आफू पानीमाथिको ओभानो बन्ने छुट कसैलाई छैन ।




