पाल्पा
पाल्पा ढाका कपडाको राजधानी हो । संघीय सरकारले पाल्पालाई ढाका कपडाको राजधानी घोषणा गरी मान्यता दिएको छ । पाल्पामा वि.स. २०१५ सालदेखि ढाका कपडाको उत्पादन हँुदै आएको छ । पाल्पाको पहिचान नै ढाका र करुवा हो ।
तानसेन नगरपालिकाको १५आंै नगरसभामा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले प्रस्तुत गरेको २०८१ ÷८२ को निति तथा कार्यक्रममा पाल्पाली ढाका कपडाको विकास, विस्तार प्रचार प्रसार गर्ने उल्लेख गरेपछि निकै स्यावासी पाए । उद्योगी व्यवसायीहरुले नगरप्रमुख श्रेष्ठलाई धन्यवाद दिए । मिडियामा प्रमुख समाचार बने । पाल्पाली ढाकाको सम्वद्र्धन, प्रवद्र्धन हुने आशामा उद्योगीहरु नगरपालिकाको नीति तथा कार्यक्रमप्रति निकै खुसी देखिए । नगर प्रमुख श्रेष्ठलाई फोनमा र भेटेर उद्योगीहरुले राम्रो नीति ल्याएको भनेर खुसी व्यक्त गरे ।
तर नगरप्रमुखले पाएको धन्यवाद, धन्यवादमै सीमित राखे । नगरप्रमुख श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ९ महिनाको अवधीमा आइपुग्दा हराउने स्थितिमा पुगेको छ । ९ महिनाअघि खुसी बनेका पाल्पाली ढाका कपडा उद्योगीहरु अहिले खुसी छैनन् । सरकारको नीति उद्योगमैत्री छैनन्, कहि कतैबाट सहयोग नपाएका पाल्पाली ढाका उद्योगीहरु उद्योग बन्द गर्ने कि चलाउने अवस्थामा पुगेका छन् । यो अवस्थाबाट गुज्रिएका उद्योगीहरु नगरपालिकाले पारित गरेको नीति पनि कार्यान्वयन नहुँदा निराश देखिएका हुन् । १५आंै नगरसभाबाट पारित भएको नीति तथा कार्यक्रम अहिलेसम्म कार्यान्वयन भएको छैन । चालु आर्थिक वर्ष अब सकिन ३ महिना मात्र बाँकी छ, तर कार्यान्वयनमा नगरपालिकाले चासो र तत्परता देखाएको छैन ।
तानसेन नगरपालिकाले चालु आर्थिक वर्षको लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बँुदा नं. ६४ मा यस्तो भनिएको छ –‘पाल्पाली ढाकाको विकास, विस्तार र प्रचार प्रसार गर्न तानसेन नगरपालिका र मातहतका कार्यालयहरुमा कार्यरत जनप्रतिनिधि, कर्मचारीहरुका लागि प्रत्येक शुक्रबारका दिन पाल्पाली ढाकाबाट निर्मित पोशाक र ढाकाटोपी लगाउने नीति लिइएको छ । नगरपालिका र मातहतका कार्यालयमा प्रयोग गरिने रुमाल, पर्दाहरु ढाकाको राख्न अनिवार्य गरी स्थानीय ढाका प्रवद्र्धनको व्यवस्था मिलाइने र विदेशमा निर्यात गर्नको लागि समेत प्रोत्साहन गरिने छ ।’
यो नीतिअनुसार तानसेन नगरपालिका पालिका केन्द्र, सबै विषयगत शाखा, १४ वटै वडा कार्यालयहरुमा मातहत रहेका सबै वडा कार्यालयहरुमा ढाका कपडाको पर्दा र रुमालको अनिवार्य प्रयोग गर्नु पर्दछ, किनकी यो कार्यलाई नीति तथा कार्यक्रममा अनिवार्य भनिएको छ, तर यो नीतिमा मात्र अनिवार्य प्रयोग भएको छ, व्यवहारमा कार्यान्वयन भएको देखिंदैन ।
२०८१ चैत्र १ गते शुक्रबार तानसेन नगरपालिकामा कसैले पनि ढाकाको पोशाक लगाएका थिएनन् र ५ जना व्यक्तिले मात्र टोपी लगाएको देखियो । तर यी पाँचै जना नियमित टोपी लगाउने व्यक्तिहरु हुन् । उनीहरुले नगरपालिकाले यो नीति पास नगरेको अवस्थामा पनि नियमित टोपी लगाउने नागरिको रुपमा परिचित छन् ।
तानसेन नगरपालिकामा प्रमुख उप–प्रमुखसहित ७३ जना जनप्रतिनिधि रहेका छन् भने संघीय, स्थानीय तह, करार, ज्यालादारी, स्थायी, अस्थायी गरी २ सय कर्मचारीहरु कार्यरत रहेका छन् । सबै जनप्रतिनिधि र कर्मचारी पाल्पाली ढाकाको पोशाक र टोपी प्रयोग गर्दा ढाका उद्योगीहरुलाई ठूलो राहत मिल्नेछ । यो अभियानबाट पाल्पाली ढाका उद्योगहीहरु धरासायी हुनबाट बच्ने छन्, उत्पादन र रोजगारीमा वृद्धि हुनेछ । स्वदेशी उत्पादनको प्रयोगमा प्रोत्साहन बढ्ने छ ।
१५औं नगरसभाबाट पारित नीति तथा कार्याक्रमअन्तरगत पाल्पाली ढाकाको पोशाक र कार्यालयहरुमा ढाकाको पर्दा र रुमाल प्रयोग गर्न जनप्रतिनिधिदेखि कर्मचारीहरुमा सर्कुल भएको हो, तर फलोअप नहँुदा कार्यान्वयन हुन नसकेको नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले जानकारी दिए ।
‘तपाईंले हामीलाई पुनः खबरदारी गर्नुभयो, नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय गरी कार्यान्वयनको लागि पहल गर्ने छौं ।’–तानसेन नगरपालिकाका सूचना अधिकारी आचार्यले भने ।
तानसेन नगरपालिकाभित्र ठूला ९ वटा अन्य स–साना गरी करीब १५ वटा ढाका कपडाहरु उद्योग सञ्चालनमा रहेका छन् । ती उद्योगहरुका ढाका कपडा बुन्ने मात्र करीब २ सय जना, सिलाइ कटाइमा ५० जना गरी २ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । नगरभित्र रहेका यस्ता उद्योगहरुलाई संरक्षण, प्रवद्र्धन, प्रोत्साहन, निरन्तरता दिनु तानसेन नगरपालिकाको काम, कर्तव्य र जिम्मेवारी भित्र पर्दछ । स्थानीय सरकारले आफ्नो पालिकाभित्र सञ्चालन भएका उद्योगधन्दा कलकारखानालाई आवश्यक सहयोग र संरक्षण नगरे कसले गर्ने ?




