जो चोर उसैको ठूलो स्वर भने जस्तै अहिले पुराना पञ्चे, मण्डले र दरबारियाहरुको स्वर पनि ठूलठूलो हुँदै जाने थालेको छ । सदन–सडक चारैतिर उनीहरुको स्वर बढेर जान थालेको छ । एकदमै ढुक्क साथ उनीहरुले राजतन्त्र फर्किन्छ, हिन्दु राष्ट्र नेपाल हुन्छ भनिरहेका छन् । यतिसम्मकि आगामी वर्ष अर्थात् २०८२ सालको सुरुवातमा नै पूर्व राजा ज्ञानेन्द्र नारायणहिटी दरबारमा पुनः भित्रिने निश्चित नै गरिसकेका छन् । उनीहरुको यो निश्चितता अनि यो ठूलो स्वरमा पछाडिको कारण के छ ? पहिलो कारण स्वयं ज्ञानेन्द्रको सक्रियता र भनाइ छ भने दोस्रो पोखराबाट ज्ञानेन्द्र शाह काठमाडौं फर्किदा एयरपोर्टमा उनको स्वागतका लागि जम्मा भएको भीड र त्यसले ज्ञानेन्द्रलाई उनको बासस्थान निर्मल निवाससम्म नारा, जुलुससहित पु¥याइकाले हो । हुन पनि हिजोसम्म अर्थात् २०६२÷०६३ सालमा ज्ञानेन्द्र चोर देश छोड भनी उनको विरुद्ध यस्तै नारा, जुलुस हुने गर्दथ्यो तर अहिले उल्टो ओली, देउवा र प्रचण्ड चोर देश छोड भन्ने नारा घन्किए । यो खाली बाहिरी देखावटी मात्र हुन् भित्री कारण त छुट्टै छ । जसले यी पुराना पञ्चे–मण्डले र दरबारियालाई बढवा गराइरहेको छ ।
धेरै भन्नै पर्दैन स्वयं फागुन २५ गते ज्ञानेन्द्रको स्वागत जुलुसमा प्रदर्शित दुई ठूला एउटा पूर्व राजा ज्ञानेन्द्रको भने अर्काे भारत उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथको फोटो प्रदर्शन प्रष्ट पारेको छ । अझैँ यसलाई पुष्टि गराउने काम नयाँ राजावादी सांसद ज्ञानेन्द्रबहादुर शाहीले गराएका छन् । चोरको खुट्टा काट्छु भन्दा आफैँ तर्सिएर खुट्टा पहिले नै ताने जस्तै ज्ञानेन्द्रबहादुर शाहीले हत्त न पत्त योगी आदित्यनाथको फोटो प्र.म. केपी ओलीको निर्देशनमा उनका राजनीतिक सल्लाहकारले हाम्रो बदनाम अर्थात् भारतीय दलाल भन्नका लागि गरिएको षड्यन्त्र बताएका छन् । तर फाटेको जालले छेकेको छेके पनि छर्लङ्गै देखेको अर्थात् ज्ञानेन्द्र शाहीले जो भनी त्यसको खण्डन गरे पनि यथार्थ छर्लङ्गै छ । भारतीय शासकहरुको चाहना राजा फर्काउने र हिन्दू राष्ट्र नेपाल बनाउनेमै छ ।
यो कुनै लुकेको र छिपेको केही पनि छैन । पटक–पटक पूर्व राजा ज्ञानेन्द्र योगी आदित्यनाथसँग बिन्तीभाउ गरिनै रहेका थिए । उक्त त्यो फोटो स्वयं पूर्व पंचे मण्डले र राजावादी हिजोका राप्रपाका केन्द्रीय सदस्यले प्रदर्शन गर्न लगाएको स्वीकार गरिसकेका छन् । यतिसम्मकी गिरफ्तारीको डरले उनी अहिले योगी आदित्यनाथकै शरणमा भारत पुगेको बताइसकेका छन् । तर सांसद ज्ञानेन्द्रबहादुर शाहीले भने आरोप प्रम ओली र उनका सल्लाहकारलाई लगाउन पुगे । आखिर ज्ञानेन्द्रबहादुरले झुटो बोली त्यसलाई छेक्न जति खोजे पनि अहिले सबै छर्लङ्गै भइसकेको छ । भारतीय शासकहरुको बुई चढेर पूर्व राजा ज्ञानेन्द्रलाई पुनः दरबार भित्राउनेमा यी सबै पुराना नयाँ पञ्चे मण्डले दरबारिया र भारतीय दलाल सबै ढुक्क छन् । आम नेपाली जनतालाई समेत त्यही सन्देश बाँड्दै अब छिट्टै देशमा गणतन्त्र विस्थापित गराई पुनः राजतन्त्र फर्काउने र देशलाई हिन्दू राष्ट्र बनाउने सपना बाँड्दिैछ ।
नेपालको सन्दर्भमा यस्तो भारतीय हस्तक्षेप र षड्यन्त्र कुनै नौलो विषय होइन । २००७ सालदेखि नै हुँदै आएको छ । भगौडा राजा त्रिभुवनलाई २००७ साल फागुन ०७ गते त्रिपक्षीय दिल्ली सम्झौता (राजा, राणा र कांग्रेसबीच)मार्फत् भारतले नै नेपालमा पुनः राजा बनायो । तिनै राजा त्रिभुवन नेपाल फर्किन मानेकै थिएनन् । महेन्द्रले २०१७ सालमा संसद र संसदीय राज्य व्यवस्थामाथि हस्तक्षेप गरी निरंकुश पंचायती व्यवस्थालाई पनि भारतद्वारा समर्थन गर्ने गरी नेपालको पश्चिमी भूभाग लिपुलेक, कालापानी र लिपिम्याधुरामाथिको भारतीय अतिक्रमणप्रति केही नबोली भारतकै साथ सहयोगमा राजा महेन्द्रले शासन सत्ता चलाइरहे । २०४५÷०४६ सालको जनआन्दोलनमा समेत भारतीय हस्तक्षेपकै कारण राजतन्त्रको अन्त्य नभई कथित संवैधानिक राजतन्त्रकै पुनस्र्थापित भयो । २०६२÷०६३ सालको आन्दोलनको थालनीको सुत्रपात नै माओवादी सहितको नेपालका सात दलीय राजनीतिक दलबिचको १२ बुँदे दिल्ली समझदारीबाट भयो । यसरी हरेक कालखण्डमा नेपालको राजनीतिमा कुनै न कुनै रुपले भारतको प्रत्यक्ष प्रभाव र असर पर्दै आएको छ ।
ठीक यही असर र प्रभाव अहिले पनि भारतीय विस्तारवादको पर्न थालेको छ । हिजो भारत नेपालका राजनीतिक दलमार्फत् नेपालमा यस्तो असर र प्रभाव पार्र्दै आएको थियो भने अहिले पूर्व राजा, पुराना पञ्चे मण्डलेको र दरबारिया मार्फत् सक्रिय हुन थालेको छ । २०६२।०६३ सालको जनआन्दोलनपछि भारतले संघीयताको नाममा एक मधेस एक प्रदेशअन्तर्गत नेपालका केही मधेसवादी दलहरुलाई उचाल्ने काम ग¥यो । यो असफल भए पछि भारत अहिले पूर्व राजा अनि पूर्व पञ्चे, मण्डले र दरबारियाहरुलाई कथित हिन्दू राष्ट्र नेपालको नारा अघि बढाउन लगाई त्यसैमा खेल्न थालेको छ । राजा र पुराना पञ्चे मण्डले र दरबारियाहरुको यो चलखेल अर्थात् राजाको पुनस्र्थापना र हिन्दू राष्ट्रको अभियानलाई बढाई चढाई गरेर पहिले कांग्रेस–एमाले र माओवादीहरुलाई तह लगाउने अर्थात् त्वंमशरणम् कान समातेर बस उठ पार्ने, कुनै कारण त्यो नभए पूर्व राजा र राजावादीहरुलाई उचालेर नेपाललाई तहसनहस नै पार्ने आखिर जसरी हुन्छ नेपाललाई सदा आफ्नै छाहारीमा राखिरहने । यतिसम्मकी नेपालको पश्चिम भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा मात्र होइन, भारतीय सैनिक भुटानमा जस्तै नेपालको समग्र भूभागमा तैनाथ गराई राख्ने योजनामा भारत पुगेको छ । त्यसलाई साथ जसले दिन्छ त्यसैलाई यहाँको शासक बताउँछ भारत ।
बुढी मरी भनेर होइन, काल पल्क्यो भनेर रुन्छु भन्ने उखान जस्तै अहिले पूर्व राजा ज्ञानेन्द्र र उसका दलाल आसेपासे पञ्चे–मण्डले र दरबारियाहरुको यो गणतन्त्र मास्ने र राजतन्त्र फर्काउने अनि हिन्दू राष्ट्र नेपाल बनाउने, जुन चुरीफुरी छ यस्तो दिवासपना देख्न सबैलाई छुट नै छ । यी सबैका खुट्टी देख्दै पत्याइयो गणतन्त्र मास्ने र राजतन्त्र फर्काउने षड्यन्त्र ।
तर कुरा के भने यिनीहरुलाई उचाल्ने, देशमा अराजकता र हिंसा मच्याउने र नेपाललाई असफल राष्ट्र बनाउने भारतीय योजना षड्यन्त्रप्रति भने गम्भीर हुनै पर्ने भएको छ । भनिन्छ कहिलेकाहीं नपत्ताइएको खोलाको बाढीले पनि बगाउन सक्छ । श्रीलंका र बंगलादेशको राजनीतिक घटना यसको उदाहरण हुन सक्छ । त्यसैले अहिलेका गणतन्त्रवादी दल र दल नेता–कार्यकर्ता सबै बेलैमा सचेत र सावधान होऊन । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेदछ भने जस्तै अहिले कांग्रेस–एमाले र माओवादी सबैलाई यी पुराना प्रतिगामी पञ्चे–मण्डले र राजावादीहरुले खेदन थालेका छन् । सदन–सडक चारैतिरबाट यिनीहरुलाई बदनाम गराउँदै छन् । तै पनि कांग्रेस–एमाले र माओवादीबिचमा यसको बारेमा छलफल भेटघाट र वार्ता केही पनि हुन सकिरहेको छैन । सबैका आ–आफ्नै डम्फु । ओली–देउवा सत्तामा नै रमाइरहेका छन् भने माओवादी प्रचण्ड कथित अभियानको नाममा खाली ओली र देउवालाई सराप्दै हिडिरहेका छन् ।
यी तिनै नेता अर्थात् देउवा–ओली र प्रचण्डलाई अझैँ पनि के विश्वास छ भने भारतले हामी बेगर अर्थात् हाम्राविरुद्ध त्यस्तो केही गर्ने वाला छैन । किनकि बेला मौकामा भारतलाई ठूलै गुन यिनीहरुले लगाएकै छन् । अब पनि जे गर्न प¥यो त्यही गर्नमा यी सब छन् । अनि फेरि भारतलाई किन राजा चाहियो । खाली यो भारतको दरबारिया कार्ड मात्र हो । त्यही भएर अहिले बडो हौसिदै र कुर्लदै हिंडेका पूर्व राजा ज्ञानेन्द्र अनि पुराना पञ्चे मण्डले र दरबारियाहरुका लागि यो सब हात्ती आयो फुस्सा भने जस्तै पनि हुन सक्छ । परराष्ट्र मन्त्री आरजु राणा देउवा दिल्लीमा छन् । भारतीय प्रम मोदीलाई जसरी हुन्छ भेटी फकाउन नै लागि धर्ना कसी बसिरहेकी छन् ।
जे होस् अहिलेको यो स्थितिमा एकातिर देशको राष्ट्रियता र स्वाभिमान एकदमै कमजोर छ भने अर्काेतिर यो चालु परजीवी कथित यो गणतन्त्र र लोकतन्त्रको के विश्वास ? जसले दियो उसले जे चाहयो त्यही हुन पनि सक्छ । भारतकै इशारा र आयोजनामा निर्मित १२ बुँदे दिल्ली समझदारी पत्र माथि पनि पुर्नभाषित हुन सक्छ । अर्थात् भारतकै रोहवरमा पुनः कांग्रेस–एमाले अनि माओवादी–राजाबिच नयाँ खाले संवाद र सहमति हुने सम्भावनालाई पनि नकार्न सकिंदैन । यो जे भए पनि अन्ततः देशको राष्ट्रियता र जनतन्त्र झन पछि झन कमजोर बन्दै देशको अस्तित्वमाथि नै गम्भीर संकट उत्पन्न हुने देखिन्छ ।




