सिद्धार्थ नगरपालिकामा पार्किङ् व्यवस्थापन हुन नसक्दा समस्या देखिएको छ । पैदलयात्रु निर्वाध आवगमनको सहजताका लागि फुटपाथ बनाइएको भए पनि फुटपाथलाई पार्किङ्को रुपमा प्रयोग गरिएको छ । सडकमा सवारी साधनको चाप दिन प्रतिदिन बढ्दै गए पनि पार्किङ् स्थलको व्यवस्थापनमा नगरपािलकाको ध्यान गएको देखिंदैन । जसले भैरहवा बजार अस्तव्यस्त हुँदै गएको छ ।
सिद्धार्थनगर नगरपालिकाले पछिल्लो केही दिनदेखि नगरप्रहरीको प्रयोग गर्दै सडकपेटी अतिक्रमणलाई हटाउने अभियान सुरु गरेको छ । यो अभियानले थुपै्र व्यवसायीहरु कारबाहीको दायरामा आइ जरिवानामा पर्दा नगरपालिकाले बुद्धचोक नजिकै राखेको फुटपाथको पार्किङ्को विषयमा केही गर्न सकेको छैन ।
फुटपाथसहित सर्भिस रोडमा समेत जथाभावी पार्किङ् गर्दा पैदल यात्रीलाई समस्या भएको छ । जथाभावी पार्किङ् गर्दा र एउटा लेनमा चल्नुपर्ने साधन उल्टो लेनमा चल्दा दुर्घटनाको जोखिम बढेको छ । फुटपाथ व्यवस्थित गर्दा नगरप्रहरीले स्थानीय व्यसायीलाई चित्र बुझाएर अघि बढ्नुपर्छ । अर्कोतिर भैरहवामा प्रवेश निषेध गरेको क्षेत्रमा सवारीसाधन निरन्तर प्रवेश गर्दा समेत ट्राफिक प्रहरी मुकदर्शक भई बसेको जनगुनासो छ ।
सबैले देखिने गरी राखिएको ट्राफिक चिन्हलाई बेवास्ता भएको छ । अर्कोतिर भैरहवा क्षेत्रको राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि बुद्धचोक र देवकोटा चोकमा रहेको ट्राफिक लाइट नियमित रुपमा नचल्दा दुर्घटनाको उच्च जोखिममा छ । स्वचालित रुपमा २४ घण्टा बल्नुपर्ने ट्राफिक बत्ती कहीले बल्ने र कहिले नबल्दा चालकहरु झुक्किएर झन् दुर्घटनाको जोखिम बढेको छ ।
भैरहवामा सवारी साधनको चाप बढेसँगै पार्किङ् स्थल र ट्राफिक व्यवस्थापनमा स्थानीय सरकार र सम्बन्धित सरकारी निकाय संवेदनशील हुन अति आवश्यक छ । राज्यले सवारी साधन गुडाएबापत चर्को कर लिन्छ, तर पार्किङ स्थल र ट्राफिक व्यवस्थापनमा ध्यान नदिँदा नागरिकमा असन्तुष्टी बढेको छ । समग्र ट्राफिक व्यवस्थापनका लागि नियमित रुपमा चेकजाँच र नियम विपरीत गर्नेलाई कारबाहीको दायरामा ल्याउन जरूरी छ ।




