गुल्मी । गुल्मी जिल्लामा गहुँ उत्पादन बर्सेनि घट्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा गहुँ खेती गर्ने कृषकको संख्या घट्दै जाँदा उत्पादन पनि घट्न थालेको हो । गत आर्थिक वर्ष २०८०/०८१ मा ६३७० हेक्टर क्षेत्रफलमा गहुँ खेती भएको थियो । जसमा १९ हजार ५ मेट्रिक टन उत्पादन भएको थियो ।
त्यसअघिको आर्थिक वर्ष २०७९/०८० मा ६४८० हेक्टर क्षेत्रफलमा १९ हजार ३७५ मेट्रिकटन गहुँ उत्पादन भएको कृषि ज्ञानेकन्द्र गुल्मीका कृषिप्रसादर अधिकृत शिवप्रसाद बञ्जाडेले बताए । बर्सेनि गहुँ उत्पादन गर्ने क्षेत्रफल घटदै गएको छ ।
यस वर्ष पनि गहुँ भित्र्याउने समय सुरु हुन लावगेको छ । यस वर्ष पनि हिउँदको समयमा पानी नपरेकाले उत्पादन घट्ने अनुमान कृषि ज्ञानकेन्द्र गुल्मीले गरेको छ । जिल्लामा विशेष गरी जेहाङ्ग, अर्बेनी, चौरासी, मजुवा, हर्मिचौरलगायतका स्थानमा पर्याप्त मात्रामा गहुँखेती गरिदै आएको छ ।
गहुँ उत्पादन दर मौसम अनुसार तलमाथि भए पनि उत्पादन गर्ने कृषकको संख्यामा कमी हुँदै गएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । हिउँदे वर्षा हुँदा गहुँ बाली धेरै हुँदा मात्रै गहुँ खेती राम्रो हुने गर्दछ । तर, पछिल्ला केही वर्षयता हिउँदको सिजनमा वर्षात कम हुँदा उत्पादन पनि घट्दै गएको छ ।
धुर्कोट गाउँपालिका वडानम्बर–५ का कृषक कृष्णप्रसाद भण्डारील पछिल्ला केही वर्षयता हिउँदे वर्षात नहुँदा गहुँ उत्पादन घट्ने गरेको बताए । उनले ४ रोपनी जमीनमा गहुँ खेती गर्दै आएका छन् । जिल्लामा उत्पादन भएको गहुँ स्थानीयस्तरमै बिक्री हुने गर्दछ । जिल्लामा पछिल्लो समय बजारमा पाइने प्याकिङ्ग आटा पाउन थालेसँगै पहिलेको जस्तो गहुँ खेती गर्न कृषकहरु उत्साहित छैनन् ।
उत्पादन योग्य जमिन पनि बाँझै छोडेर बजारमा पाइने गहँुको आटा किन्ने गर्नाले गहुँ खेतीगर्ने कृषक कम हुँदै गएका छन् ।समयमा वर्षातसँगै मल–बिउ राम्रो परेको खण्डमा मात्रै गहुँ उत्पादन बढ्ने कृषकहरु बताउँछन् ।




