स्पेनको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन डेमोक्रेसी संस्थाले जनसहभागितामा आधारित असल अभ्यास गर्ने संसारभरका स्थानीय र प्रदेश सरकारहरुबीच प्रतिस्पर्धा गराई ओआइडीपी अवार्ड वितरण गर्दै आएको छ । उक्त अवार्डको १९औं संस्करणको प्रतिस्पर्धामा नेपालबाट तिलोत्तमा नगरपालिका छनोट भएको छ । अवार्डका लागि विश्वका ३७ देशका स्थानीय र प्रदेश सरकार गरी १३७ वटा संस्थाले आवेदन दिएका थिए । ती मध्येबाट उत्कृष्ट ४० मा तिलोत्तमा नगरपालिका छनोट भएको हो । तिलोत्तमा नेपालबाट मात्र नभई सार्क मुलुकहरुबाटै छनोट भएको एक मात्र पालिका हो ।
अब यी ४० आवेदकबिच मार्च २८ अर्थात् चैत १५ गतेसम्म अनलाइन भोटिङमार्फत् अवार्ड विजेता घोषणा गरिने छ । तिलोत्तमा नगरपालिका २०७४ सालदेखि ८ वर्षसम्म अर्थात् हालसम्म निरन्तर हरेक महिनाको १ गते र १५ गते जन सहभागितामा नगर सरसफाइ र हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएकाले अन्तर्राष्ट्रियस्तरको अवार्डमा छनोट भएको हो । उक्त अभियानको १४०औं श्रृंखला सम्पन्न भएको छ । यो तिलोत्तमा नगरको मात्र नभई समग्र नेपालकै लागि खुशीको विषय हो । अब धेरैभन्दा धेरै अनलाइन भोटिङमार्फत् तिलोत्तमालाई विजेता बनाउन सके एउटा नगरपालिका, जिल्ला र प्रदेशको मात्र नभई नेपालकै नाम अन्तर्राष्ट्रिय जगतमा थप उचाइमा पुराउन मद्दत मिल्न सक्छ ।
नेपालीहरुले यसअघि दार्जिलिङका प्रशान्त तामाङलाई यस्तै अनलाइन भोटिङ गरेर इण्डियन आइडलको विजेता बनाएका थिए । रुपन्देहीकी तेरिया फौजा मगरलाई डान्स इण्डिया डान्स लिटिल मास्टरको उपाधि जिताउन पनि अनलाइन भोटिङमार्फत् विश्वभरका नेपाली एकजुट भएका थिए । अहिले हुन गइरहेको ओआइडीपी अवार्ड त ती प्रतियोगिताभन्दा धेरै माथिल्लो स्तरको अन्तर्राष्ट्रिय र गरिमा बोकेको अवार्ड हो ।
अब अनलाइन भोटिङ गर्न ३ दिन मात्र बाँकी छ । विश्वभरका नेपालीहरुले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा विजेता बनाउने हो भने बढीमा आधा घण्टा समय देशका लागि निकालेर ओआइडीपीको वेबसाइटमा गएर भोट दिनुपर्ने हुन्छ । भोट दिन कुनै शुल्क लाग्दैन केवल बढीमा आधा घण्टा समय लाग्न सक्छ । वेबसाइटमा गएर कसरी भोट गर्ने भन्ने तरिका समेत तिलोत्तमा नगरपालिकाले आफ्नो फेसबुकमा राखेको छ । नगर प्रमुख र उपप्रमुखले आम नगरवासी र विश्वभरका नेपालीसँग भोट दिन अपील समेत गरेका छन् ।
एकपटक विश्वभरका नेपालीले एकाध घण्टा आफ्नो मातृभूमिका लागि छुट्टाएर भोट दिने हो भने नेपाल विश्वका ३७ देशका १३६ स्थानीय र प्रदेश सरकारलाई पछाडि पार्दै अवार्ड विजेता बन्न सक्छ । यो असम्भव छैन । यो आम नेपालीका लागि आफ्नो मुलुकलाई जिताउने एउटा महत्वपूर्ण मौका र अवसर हो, यसलाई सदुपयोग गरेर तिलोत्तमालाई भोटिङ गरेर जिताउन सके सिंगो नेपालको जित हुनेछ । ओआइडीपीले विभिन्न पाँच विधामा भोटङ गर्नुपर्ने नियम बनाएको छ । तिलोत्तमालाई पारिस्थितिक संक्रमण र वातावरण (इकोलोजिकलक ट्रान्जिसन एण्ड इन्भाइरन्मेन्ट) विधामा मत दिन सकिन्छ । तर तिलोत्तमासँगै अन्य ४ विधामा पनि एकसाथ मत दिनुपर्छ । ५ वटा विधामा मत नदिए तिलोत्तमालाई दिएको मत रद्द हुन जान्छ । तसर्थ यो अवसरलाई खेर जान नदिन राजनीतिक आस्था र विचार, दलीय आबद्धता, भेगीय सोंचभन्दा माथि उठेर सिंगो नेपालको जितलाई अर्जुन दृष्टि बनाएर मात्र ३ दिन भोटिङमा सरिक हुनु हामी सबै नेपालीको दायित्व हो । अनलाइन भोटिङको ५० अंक र जुरी (निर्णायक) को ५० अंकका आधारमा आगामी मे महिनाको २१ देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने २४औं ओआइडीपी कन्फेरेन्स (सम्मेलन) मा अवार्ड वितरण गरिने छ ।




