बुटवल । विद्युतीय तार उत्पादनमा अग्रणी लिट्मस केबल उद्योगले पश्चिम नवलपरासीको रामग्राममा नेपालकै पहिलो आल्मुनियम रड प्लान्ट सञ्चालनमा ल्याएको छ । रामग्राम–१६ हकुईस्थित १५ बिगाह क्षेत्रफलमा उद्योगको नयाँ प्लान्ट सञ्चालनमा आएको हो ।
एक अर्ब लागतको प्लान्टले वार्षिक २० हजार मेट्रिक टन आल्मुनियम रड (तार) उत्पादन गर्ने छ । अहिले नेपालमा वार्षिक ८ हजार मेट्रिक टन आल्मुनियम रड भारत र थाइल्याण्डबाट आयात भइरहेको छ ।
लिट्मसले यसअघि अन्तर्राष्ट्रिय गुणस्तरको विद्युत तार, केबल र कन्डक्टर निर्माण गर्दै आएको थियो ।
२०३४ सालमा बुटवल औद्योगिक क्षेत्रमा रमेश गुप्तासहित तीनजनाले स्थापना गरेको लुम्बिनी विद्युत उद्योग सन् २०१९ मा एक अर्ब लगानी थप गरी आधुनिक प्रविधि र मेशिन सहित लिट्मस केबल इण्डष्ट्रिजका रुपमा रि ब्राण्डिङ भई नेपालकै अग्रणी विद्युतीय तार उत्पादक कम्पनीमा रुपान्तरण भएको प्रबन्ध निर्देशक रोहित गुप्ताले बताए । २०१९ यता हालसम्म उद्योगमा करिब ४ अर्ब लगानी भइसकेको उनले बताए ।
प्रबन्ध निर्देशक गुप्ताले यो उद्योगले वार्षिक करिब २० अर्ब रुपैयांको आल्मुनियम रड उत्पादन गरी देशलाई आत्मनिर्भर बनाई आयात पूर्ण विस्थापित गर्नुका साथै विदेश निर्यात समेत गर्ने बताए । यो उद्योग नेपालको उत्पादन क्षेत्रकै लागि एउटा ठूलो कोशेढुङ्गा र रणनैतिक फड्को हुने गुप्ताले बताए । निर्यातजन्य उद्योगलाई सरकारले कच्चा पदार्थ आयातमा भन्सार दरमा सहुलियत दिनुपर्ने माग गरे ।
प्लान्टको उद्घाटन गर्दै उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालका सचिव कृष्णबहादुर राउतले नेपालमै पहिलोपटक सञ्चालनमा आएको आल्मुनियम रडको उत्पादनले आयात प्रतिस्थापनका साथै विदेश निर्यात गरेर नेपालले व्यहोरिरहेको व्यापार घाटा न्यूनीकरण गर्ने बताए ।
अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र भएको उल्लेख गर्दै सचिव राउतले सरकारले व्यवसायीक वातावरण बनाउन एकदर्जन कानून संशोधनदेखि स्वदेशी वस्तुको प्रवद्र्धन गर्न निर्देशिका ल्याएको बताए ।
उद्योगका नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले लिटमसले केबल तारमा नेपाललाई आत्मनिर्भर बनाउन अग्रणी भूमिका खेलेको उल्लेख गर्दै अब आल्मुनियम रडमा पनि आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरे । उनले विदेशी उत्पादन मात्र गुणस्तरीय हुन्छन्, भन्ने सोंच र मानसिकता त्यागेर नेपाली उत्पादनलाई विश्वास गर्न आग्रह समेत गरे ।
रामग्राम नगरपालिकाकी कार्यवाहक प्रमख सम्झना चौधरीले उद्योगले संस्थागत सामाजिक उत्तरदायित्वमा गर्ने मुनाफाको एक प्रतिशत खर्च स्थानीय सरकार र सुमदायसंग समन्वय गरेर मात्र गर्न र रोजगारीमा स्थानीयलाई प्राथमिकता दिन सुझाव दिइन् । सो अवसरमा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा,उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष ओमप्रकाश अग्रहरी,विद्युत प्राधिकरण परासीका सुरज रेग्मी लगायतले भैरहवा–परासी खण्ड औद्योगिक हबका रुपमा विकास हुंदै गएको धारणा राख्दै स्वदेशी उद्योगको संरक्षण र प्रवद्र्धनमा राज्यको ध्यान जानुपर्ने बताए ।
रामग्राममा सञ्चालनमा आएको प्लान्टमा सय जनाले रोजगारी पाउने उद्योगका प्रमुख सञ्चालन अधिकृत प्रकाश काफ्लेले बताए ।
सुरुमा एसीएसआर कन्डक्टर उत्पादन गर्ने उद्योगले क्रमशः घरायसी वायरिङका केबल, कन्डक्टर, ट्रान्सफर्मरमा प्रयोग हुने इनामेल बाइन्डिङ वायरदेखि अहिले नेपालमै पहिलो र एक मात्र ४०० केभिए क्षमताको कन्डक्टर उत्पादन गर्दै आएको छ ।
नेपालमा जलविद्युुत परियोजना र विद्युतीकरण विस्तार हुँदै गर्दा उद्योगले ५ वर्षअघि एक अर्ब लगानी थपेर जर्मन प्रविधिको नयाँ मेसिनहरु भित्राएको थियो । अहिले ४०० केभीए कन्डक्टर तार उत्पादनका साथै प्रसारण लाइनमा आवश्यक सबै क्षमताको केबल उत्पादन गर्ने नेपालको एक्लो उद्योग बनेको छ लिट्मस केबल ।
३० करोड रुपैयाँबाट सञ्चालित लुम्बिनी विद्युत उद्योगमा एक अर्ब लगानी थपेर ‘रिब्रान्डिङ’ गरी लिट्मस केबल इण्डष्ट्रिजलाई अगाडि बढाएको गुप्ता बताउँछन् । उनका अनुसार बुटवल औद्योगिक क्षेत्रभित्रको २ बिगाह क्षेत्रफल लिट्मसलाई अपर्याप्त भएपछि रामग्राममा नयां प्लान्ट शुरु भएको हो ।
आल्मुनियम रड निर्यातका लागि अफ्रिकी मुलुकहरुमा बजारको सम्भाव्यता अध्ययन गरिसकेको छ । ‘पहिले ४०० केभीए कन्डक्टर तार आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने हो’– प्रबन्ध निर्देशक गुप्ता भन्छन– ‘त्यसपछि नेपालमा आवश्यक सबै प्रकारका हाइटेन्सन कन्डक्टर उत्पादन गरेर आयात प्रतिस्थापन गर्छौं ।’
आउँदो पाँच वर्षमा सबै प्रकारका इलेक्ट्रिक उत्पादन गर्ने उद्योगको तयारी छ । उनका अनुसार कम्पनीले एमसिभी, फ्यान, स्विच, इन्डक्सन र एलइडी लाइटसमेत उत्पादन गर्ने योजना बनाएको छ ।
अहिलै नै देशभर करिब १५० भन्दा बढी डिस्ट्रिब्युटर र दुई हजारभन्दा बढी रिटेलरमार्फत आफ्ना उत्पादन बिक्री गरिरहेकाले नयाँ उत्पादन उपभोक्तासम्म पु¥याउन कठिनाइ नरहेको गुप्ताको विश्वास छ ।
उनका अनुसार, अहिले घरायसी प्रयोजनका चार प्रकारका एफआर, एफआरएलएस, फ्लेक्जिबल ट्वीन र कन्सेन्ट्रिक तारसँगै औद्योगिक तथा व्यापारिक क्षेत्रमा प्रयोग हुने १.५देखि हजार वर्गमिलिमिटर आकारको एलभी पावर केबल, ट्रान्सफर्मर, विद्युतीय उपकरणमा प्रयोग हुने इनामेल वायर र पेपर स्ट्रिप्स उत्पादन भइरहेको छ ।
ट्रान्सफर्मर उत्पादनमा भने ‘निक इन्जिनियरिङ’ कम्पनीसँग ज्वाइन्ट भेन्चर छ ।
गुप्ताका अनुसार, बुटवल औद्योगिक क्षेत्रमा २०० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको उद्योगले परासीको प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आउंदा २५० जनालाई रोजगार बनाउँदैछ ।
नेपालमा गुणस्तरीय विद्युतीय तार उत्पादन हुँदाहुँदै पनि भारतबाट भन्सार छुट र अवैध रुपमा समेत तारहरु आउँदा नेपाली उद्योगहरु मरमा परेको गुप्ताको गुनासो छ । अहिलेपनि भारतबाट वार्षिक २० अर्ब रुपैयाँको तार आयात भइरहेको उनको दावी छ ।
‘आयात नियन्त्रण नहुंदा हामीले क्षमताअनुसार उत्पादन गर्न पाएका छैनौं’, उनले भने, ‘जस्तो, वार्षिक २५ लाख कोइलभन्दा बढी केबल उत्पादन गर्न सक्छौं, तर महिनामा २५–३० हजार कोइल उत्पादन गर्दा पनि बिक्री नहुने अवस्था छ ।’
विद्युतीय तारमा नीतिगत रुपमा १५ प्रतिशत भन्सार दर भएपनि नेपालमा उत्पादन नै अपुग भएको वहानामा १ प्रतिशत भन्सारमा भारतबाट आयात भइरहेको छ ।
नेपाल सरकारले स्वदेशी उद्योग प्रवद्र्धन हुनेगरी भन्सार दरमा कडाइ गर्नुपर्ने उनको माग छ । विद्युतीय तारले अनिवार्य रूपमा नेपाल गुणस्तर प्रमाण चिन्ह लिनुपर्नेमा बजारमा गुणस्तर चिन्ह नलिएका तार समेत बिक्री भइरहेकाले पनि यसमा नियन्त्रण आवश्यक रहेको उनको माग छ ।




