विद्युतीय तार उत्पादनमा अग्रणी लिट्मस केबल उद्योगले आयात प्रतिस्थापन गर्नेगरी नेपालकै पहिलो आल्मुनियम रड प्लाण्ट सञ्चालनमा ल्याएको छ । पश्चिम नवलपरासीको रामग्राममा स्थापना भएको उद्योगले वार्षिक २० हजार मेट्रिकटन आल्मुनियम रड उत्पादन गरी आयात पूर्ण विस्थापित गरी निर्यात समेत गर्ने योजना बनाएको छ । औद्योगिक वातावरण नभएको भन्दै उद्योगी निराश भएका बेला निर्यात समेत गर्ने गरी ठूलो लगानीमा उद्योग स्थापना हुनुलाई सकारात्मक मान्नुपर्छ ।
अहिले नेपालमा ८ हजार मेट्रिकटन आल्मुनियम रड भारत र थाइल्याण्डबाट आयात भइरहेको छ । उद्योगले वार्षिक २० हजार मेट्रिकटन आल्मुनियम रड उत्पादन गर्ने लक्ष्य लिएकाले आयात प्रतिस्थापन हुने नै छ, निर्यात पनि हुनेछ । बुटवल औद्योगिक क्षेत्रमा सञ्चालन भइरहेको लिट्मस केबल इण्डष्ट्रिजले अन्तर्राष्ट्रिय गुणस्तरको विद्युत् तार, केबल र कण्डक्टर निर्माण गर्दै आएको छ । लिट्मसले उत्पादन गरिरहेको विद्युत् तार, केबल र कण्डक्टरले मुलुकमा भइरहेको विद्युत् तार आयातलाई प्रतिस्थापन गरेको छ । मुलुकलाई विद्युत् तारमा आत्मनिर्भर बनाएको छ । बुटवल औद्योगिक क्षेत्रभित्रको दुई बिघा क्षेत्रफल लिट्मसलाई अपर्याप्त भएपछि रामग्राममा नयाँ प्लान्ट सुरु गरेको उद्योगीले बताएका छन् । पहिले ४ सय केभीए कण्डक्टर तार आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने, त्यसपछि नेपालमा आवश्यक सबै प्रकारका हाइटेन्सन कण्डक्टर उत्पादन गरेर आयात प्रतिस्थापन गर्ने उद्योग सञ्चालकको योजना छ ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र उद्योगको क्षमता विस्तारका लागि सरकारले आवश्यक नीतिगत सुधार पनि गरेको छ । सरकारले व्यवसायिक वातावरण बनाउन एक दर्जन कानुन संशोधनदेखि स्वदेशी बस्तुको प्रवद्र्धन गर्न निर्देशिका ल्याएको छ । कानुन संशोधन र स्वदेशी वस्तुको प्रवद्र्धन गर्न निर्देशिकाले औद्योगिक वातावरणको ढोका खोलेकाले निराशा हैन, अपार संभावना छ भन्ने मानसिकताले उद्योगीले नयाँ संभावनाको खोजी गरी लगानी बढाउनुपर्छ ।
मुलुकमा केही भएको छैन्, केही हुँदैन, गर्नका लागि वातावरण छैन भन्ने भाष्य निर्माण गरेर निराशाको खेती गर्नेहरुका लागि उद्योगी रोहित गुप्तासहितको अग्रसरताले दरिलो जवाफ दिएको छ । सरकारले नीतिगत सुधार गरेकोले उद्योगीले चाहे गर्न सक्छन् भन्ने सन्देश दिन सफल भएका छन्, उद्योगी गुप्ता । सरकारले आयात प्रतिस्थापन गर्ने र उत्पादन निर्यात गर्ने उद्योगको कच्चा पदार्थ आयातमा सहुलियत दिने र स्वदेशी उद्योगबाट उत्पादित वस्तुको बजार सुनिश्चित गर्न आयात हुने सामानमा भन्सार कडाइ अपरिहार्य छ ।




