वर्तमान चालु संघीय गणतन्त्रको पक्ष र विपक्षमा अहिले देशमा व्यापक चर्चा परिचर्चा हुन थालेको छ । चर्चा मात्रै होइन आन्दोलनकै थालनी भइसकेको छ । यही चैत १५ गते दुवै पक्षबाट विरोध प्रदर्शन, जुलुस र आमसभा हुँदैछ । नेकपा (माओवादी केन्द्र) लगायतका केही वाम घटकहरुको समाजवादी मोर्चाले आजै राजधानी केन्द्रित राजतन्त्र विरोधी विशाल विरोध प्रदर्शनसहितको आम सभा गर्दैछ । त्यस्तै फेरि केही राजावादी पुराना पञ्चे, नयाँ पुराना मण्डले र दरबारियाहरुले पनि आजै संघीयता र गणतन्त्र विरोधी जुलुस, सभा गर्दै छन् । स्वयं पूर्व राजा ज्ञानेन्द्र पनि कथित मठमन्दिरहरुको पूजा र दर्शनको नाममा देशका विभिन्न भागमा प्रत्यक्ष गई गणतन्त्रको विपक्षमा आफ्नो पक्षमा जनसमर्थक जुटाउँदै छन् । पूर्व राजा र राजावादीहरुले आफ्नो पक्षमा जनसमर्थन जुटाउन र आन्दोलन परिचालन गर्न पूर्व पञ्चे र दरबारिया नेता नवराज सुवेदीकै नेतृत्वमा एउटा संघर्ष समिति नै निर्माण गरिसकेका छन् । यसरी अब देशमा गणतन्त्र र राजतन्त्रको पक्ष विपक्षमा चर्चा परिचर्चा मात्रै होइन आन्दोलन नै हुने पक्कापक्की भइसकेको छ ।
भनिन्छ, नयाँ साँधुले धेरै खरानी घस्छ । ठीक यो केही नयाँ पञ्चे, मण्डले र दरबारियाहरुमा पनि देखिन थालेको छ । कुनै बेला कथित नागरिक अभियान्त भई जनसमर्थन बटुलेका र पछि त्यसको बलमा संसदीय चुनावबाट सभासद बनेका ज्ञानबहादुुर शाही अहिले खाटी राजावादी बनेका छन् । ठूलठूलो स्वरमा सदन र सडक चारैतिर गणतन्त्रको विरुद्ध र राजतन्त्रको पक्षमा चिच्याउँदै छन् । जबकि कुनै बेला अर्थात् चुनावी अभियानमा आफू राजा विरोधी भएको भनी जनताको मत मागेका थिए । तर अहिले तिनै शाही खाटी राजावादी बनेका छन् र पुरानो पञ्चे, मण्डले र दरबारिया दल राप्रपाका प्रवक्ता पनि बनेका छन् ।
त्यसैले यिनलाई नयाँ मण्डले र दरबारिया भनी सम्बोधन गर्न थालिएको छ । फेरि अर्का झापाका मेडिकल व्यवसायीको पनि त्यस्तै स्थिति छ । कुनै बेला प्रचण्ड–ओलीलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका दुर्गा प्रसाईंको पनि त्यस्तै गणतन्त्रको विरुद्ध र राजतन्त्रको पक्षमा ठूलठूलो स्वर छ । अझ उनले त पुराना–पञ्चे–मण्डले राप्रपा पक्षधहरुलाई नक्कली राजावादी भएको भन्दै आफू मात्र खास सक्कली राजावादी भएको भन्ने गरेका छन् । कुनै बेला ‘ओली बा’ भन्दै ओलीको भजनर्कितन गाउँदै अझ एमाले पार्टीकै केन्द्रीय सदस्य समेत गराइएका त झन बढी उग्र राजावादी देखिएका छन् । अझ बढी ओली र प्रचण्डको व्यक्तिगत भण्डाफोर गर्दै हिंडिरहेका छन् । अझँै पनि यस्ता नयाँ पञ्चे–मण्डले र दरबारियाहरु कांग्रेस–एमाले र माओवादीलगायत सबै दलहरुमा छद्म रुपमा लुकी बसेका छन् । यसरी यी पुरानाभन्दा नयाँ पञ्चे–मण्डले र दरबारियाहरुको खतरा झन बढी छ । २०१७ साल राजा महेन्द्रको फौजी ‘कु’का लागि यस्तै नयाँ राजावादी जस्तो उदाहरण तुल्सी गिरी, सूर्यबहादुर थापा, कमलराज रेग्मी, डीपी अधिकारी, डा. केशरजंग रायमाझी आदिको भूमिका जस्तै अहिले पनि दोहोरिन सक्छ । सावधान र सचेत होऊ आम कांग्रेस–एमाले र माओवादी सब नेता र कार्यकर्ता अनि समर्थकहरु पनि ।
केही ढिलै भए पनि बल्ल अहिले देउवा–ओली र प्रचण्ड पूर्व राजा ज्ञानेन्द्र अनि यिनका आसेपासे पूर्व पञ्चे–मण्डले र दरबारियाहरुका विरुद्ध बोल्न थालेका छन् । एमाले र माओवादीहरुले त यसका विरुद्ध सडक संघर्ष र आन्दोलनकै थालनी गरिसकेका छन् । धेरैै दिनपछि ने.का. सभापति देउवाले पनि ज्ञानेन्द्रलाई नालायक संवैधानिक राजा बन्ने हैसियत नभएको भनी निन्दा गरेका छन् । यसरी दिनप्रतिदिन राजावादी र गणतन्त्रवादीबिचको धु्रवीकरण बढेर जान थालेको छ । तै पनि अझैँ पनि विश्वास गरिहाल्ने स्थिति भने छैन । कांग्रेस पार्टीभित्र अहिले पनि राजावादीको ठूलो जमात छ । हिन्दू राष्ट्र नेपालको वकालत गर्दै आइरहेका छन् । वीपीको आदर्श संवैधानिक राजतन्त्र अझ ठोसमा भन्दा राजाको घाँटी र आफ्नो घाँटी एउटै भन्ने सिद्धान्तलाई मान्ने थुप्रै कांग्रेसी अहिले पनि छन् । तैपनि अहिले राजावादीहरुका विरुद्ध गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा कांग्रेस–एमाले र माओवादी बीचमा एकता र समझदारी बढेर गएको छ । प्रचण्डले त यसका विरुद्ध गणतन्त्र पक्षधरहरुको सर्वपक्षीय सरकार नै बचाउन पर्ने माग गरेका छन् ।
तर यही बेला सरकारले भने बेमौसमको बाजा भने जस्तै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गरी पदबाट हटाएको छ । गणतन्त्र र राजावादीबिचको यो तनावपूर्ण अवस्थामा सरकारले फेरि अर्काे विवाद उठाएर अर्काे समस्या खडा गरेको छ । जसको विरुद्ध अहिले देशव्यापी सडकदेखि सदनसम्म आवाज उठेको छ । सरकार खासगरी कांग्रेस एमालेका विरुद्ध आम दल यतिसम्मकि पूर्व पञ्चे–राजावादी सब एक भई आन्दोलित बन्न थालेका छन् । यसले गणतन्त्र विरोधीको माहोललाई अन्यत्र मोडन थालेको छ । कतै यसले पूर्व राजा र राजावादीहरुलाई फाइदा पु¥याउने त होइन ? हेक्का राखौं, एउटा सामान्य विद्यार्थीको माग पछि उठेको आन्दोलनको भेलले बंगालादेशमा के भयो ? प्रधानमन्त्री भागी विदेशिनु प¥यो । हिजो ज्ञानेन्द्र चोर देश छोड भन्नेहरुले अहिले ओली चोर देश छोड भन्ने नारा घन्काउँदै छन् । कारबाही सामान्य एउटा कर्मचारीकै हो । तर अहिलेको बेला र परिस्थिति के छ र अब के हुँदैछ ? हेक्का राख्नु पर्छ कि पर्र्दैन ? एकातिर सरकार नै अलोकप्रिय छँदैछ । त्यसमा पनि एमाले ओलीप्रति आम जनताको हेराई र नजर झन नकारात्मक त्यसमा पनि यस्ता निर्णयले जनतामा झन आक्रोस । आगोमा घ्यू तेल खन्याए जस्तै स्थिति । समाल्न कठिन पर्ला ? साेंच र विचार गर प्रम केपी ओली कमरेड ।
यो सामन्ती, दलाल र नोकरशाही बुर्जुवा राज्य व्यवस्था नै यस्तै होे, मुखले राम राम तर बगलीमा छुरा । षड्यन्त्र, जालसाजी, खुराफानी अनेक थरिका बाहनाबाजी सबै यसमा छ । मुखले केपी बा भने पनि भित्रभित्रै पख्लास् भन्नेहरुको जमात यहाँ धेरै छ । स्वयं एमाले पार्टी पंक्तिमै यस्तो छ । कांग्रेस–माओवादीका त कुरैै छाडौै । ढोक्सा थापी बसेकै छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय माहोल प्रम केपी ओली पक्षमा छैन । यस्तो अवस्थामा कांग्रेसले पनि ओलीलाई कति दिन काँध थापी बस्लान् ? यस्तो हुँदाहुँदा अन्तिममा कमरेड ओली आफ्नै पार्टी एमालेका लागि पनि घाडो बन्ने निश्चित छ । पुनः वाम एकताको कुरा पूर्व राष्ट्रपति विद्या भण्डारीले एमाले पंक्ति भित्रैबाट उठाउँदै हिंडेकी छन् । माधव– झलनाथ यतिसम्मकि त्यसलाई माओवादी प्रचण्डको समेत साथ रहने बुझिएको छ ।
सत्ता राजनीति र कुर्सीले मान्छेलाई अन्धो नै बनाइराखेको हुन्छ । यताउति दुरदृष्टि नै केही हुन्न । अहिले देशमा गणतन्त्रको विरुद्ध प्रतिगामी चलखेल बढ्दो छ । खुलेआम पूर्व राजा ज्ञानेन्द्रले आफूलाई साथ दिन जनतालाई आह्वान गरिसकेका छन् । पुराना पञ्चे–मण्डले र राजावादीहरुले दिन नै किटान गरी राजा र राजतन्त्र पुनस्र्थापना हुने घोषणा गरिसकेका छन् । यसमा भारतीय विस्तारवादको सहयोग र समर्थनका लागि योगी आदित्यनाथको फोटो नै प्रदर्शन भइसकेको छ । तर पनि कांग्रेस–एमाले सत्ताधारीहरुलाई यसले छोएकै छैन । यस्ता बेमौसमका बाजा बजाउँदै जनतालाई झन् चिडचिडाउने र उत्तेजना पार्ने काम सरकारले स्वयं प्रम ओलीबाट नै भइरहेको छ ।
अन्त्यमा भिरबाट लड्ने गाईलाई रामराम भन्न त सकिएला तर काँध थाप्न चाहिं नसके जस्तै प्रम ओली कमरेडलाई पनि पहिलो सुझाव तत्काल गणतन्त्र पक्षधर राजनीतिक दलको बैठक त्यसपछि क्रमशः अरु संघसंस्था, नागरिक समाज आदि सबैको संयुक्त भेला अनि त्यसको राय सल्लाह अनुरुप के गर्नुपर्ने हो, त्यही गरी अघि बढ्दा राम्रो हुनेछ । वर्तमान अहिले देशको मूल समस्या भनेको प्रतिगमन र अग्रगमन बीचको हो । प्रतिगमनको नेतृत्व पूर्व राजा ज्ञानेन्द्र अनि तिनका आसेपासे पुराना पञ्चे–मण्डले र दरबारियाहरुले गरिरहेका छन् भने अग्रगमनको नेतृत्व जनगणतन्त्रवादी पूर्व माओवादीलगायतका विभिन्न वाम दलमा विभाजित नेता कार्यकर्ता एवमं देशका सम्पूर्ण देशभक्त तथा जनवादी शक्ति र जनसमुदायले गर्दैछन् । तर अहिले सत्ताको नेतृत्व यथास्थितिवादीहरुले गरिरहेका छन् । कांग्रेस–एमाले– एमाओवादी सत्ता र प्रतिपक्ष दुवै अहिले न यता न उता अर्थात न प्रतिगामी न अग्रगामी ढूलमूलमा छन् । सारमा भन्दा यथास्थितिवादको जगमा बसेर अग्रगमनको नेतृत्व सम्भव छैन । त्यसैले तत्काल एक कदम पछि होइन एक कदम अघि बढेर मात्र वर्तमान देशको आसन्न समस्या समाधानको उपाय हो ।




