काठमाडौँ । देशबाट अधिकांश वस्तुुको निर्यात घटिरहेको बेला सिमेन्ट र क्लिङ्करको निर्यात भने ४८४ प्रतिशतले वृद्धि भएको छ । स्थानीय बजारमा सिमेन्टको खपत न्यून हुुँदा निर्यातमा उलेख्य वृद्धि भएको हो । चालुु आर्थिक वर्षको ११ महिनामा साढे तीन अर्ब रुपियाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि जेठ महिनासम्म तीन अर्ब ६५ करोड ७१ लाख ६१ हजार रुपियाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात भएको हो ।
११ महिनामा एक अर्ब ८३ करोड ४६ लाख ८९ हजार रुपियाँको सिमेन्ट र एक अर्ब ८२ करोड ४५ लाख ७१ हजार रुपियाँको क्लिङ्कर निर्यात भएको छ । गत वर्ष सो अवधिमा ३१ करोड ३६ लाख ४२ हजार रुपियाँ बराबरको सिमेन्ट निर्यात भएको थियो ।
चालुु आवको ११ महिनामा एक अर्ब ८२ करोड ४६ लाख ८९ हजार रुपियाँको क्लिङ्कर निर्यात भएका छन् । गत वर्ष सो अवधिमा ३६ करोड ४० लाख ११ हजार रुपियाँको क्लिङ्कर निर्यात भएको थियो ।
सरकारले गत आवको बजेटमार्फत सिमेन्ट निर्यातमा आठ प्रतिशतसम्म नगद अनुुदानको व्यवस्था गरेसँगै निर्यातमा उलेख्य वृद्धि भएको हो । देशको समग्र निर्यात निराशाजनक रहेका बेला सिमेन्ट र क्लिङ्करको बढ्दो निर्यातले आशा जगाएको छ । सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले आन्तरिक बजारमा खपत न्यून हुँदा सस्तो मूल्यमा निर्यात गरेकाले निर्यातमा वृद्धि भएको जानकारी दिए ।
“आन्तरिक बजारमा ३५ प्रतिशत मात्र सिमेन्ट खपत हुने गरेको छ,” उनले भने, “आर्थिक गतिविधि न्यून भई माग घट्दा १५ देखि २० वटा सिमेन्ट उद्योग बन्द रहेका छन् ।” सिमेन्टको उत्पादनमा ३० देखि ३५ प्रतिशत कमी आएको उनको भनाइ छ ।
आर्थिक सङ्कटका कारण पछिल्लो समय मुलुकमा नयाँ घरसमेत निर्माण भएका छैनन् । सरकारले विकास बजेट राम्ररी खर्च गर्न नसक्दा पनि सिमेन्टको खपत प्रभावित भएको र जसको कारणले गर्दा पनि बजारमा सिमेन्टको माग घट्दै गएको व्यवसायीको भनाइ छ ।




