बुटवल उप–महानगरपालिका-११ प्रगतिनगरस्थित प्रगतिनगर खानेपानी उपभोक्ता संस्थाको साधारणसभा नभएको डेढ दशक भएको छ । कुनै पनि संस्थाको अधिवेशन र साधारणसभा नियमित हुँदैन भने संस्था राम्रोसँग चल्न सक्तैन् । साधारणसभा र अधिवेशन भनेको आम उपभोक्ता र सदस्यले आफ्नो राय सुझाव राख्ने र नेतृत्वलाई खबरदारी गर्ने थलो हो । नेतृत्वमा बसेकाले राम्रो गरेको भए अझैँ राम्रो गर्नका लागि वातावरण बनाउने र कमजोरी गरेको भए सुधार गरी संस्थागत सुशासन बढाउने काम साधारणसभा तथा अधिवेशनले गर्छ । तर लामो समयसम्म साधारणसभा नभएकाले प्रगतिनगर खानेपानी संस्थामा संस्थागत सुशासनको अभाव छ भन्ने प्रष्ट भएको छ ।
२ हजार ६ सय ४५ घरधुरी उपभोक्ता भएको प्रगतिनगर खानेपानी संस्थामा लामो समयसम्म साधारणसभा हुन नसक्नु नेतृत्वको मात्रै कमजोरी होइन्, खानेपानी संस्थाका सदस्यले बेलैमा खबरदारी नगर्दा नै नेतृत्वले साधारणसभा गर्न वास्ता गरेन । लामो समयसम्म साधारणसभा नगर्नु गैरकानुनी काम हो । विधानअनुसार निश्चित समयभित्र अधिवेशन र साधारण सभा गर्नुपर्छ ।
लामो समयसम्म साधारणसभा नहुँदा बेवास्ता गर्ने उपभोक्ताको कमजोरीले नेतृत्वले मनपरी गर्न पाएको देखिन्छ । संस्थाको साधारणसभा २०६४ साल भदौ १५ गते साधारणसभा भएपछि अहिलेसम्म साधारणसभा गर्न नेतृत्वले चासो नदिनुले संस्थाभित्र अनियमितताका विषयहरु पनि रहेको बताइन्छ । लामो समयसम्म साधारणसभा किन हुन सकेन् ? के-के कमजोरी भए भन्ने बारेमा छानविन हुनुपर्छ । अपारदर्शी काम भएको भए त्यसलाई रोक्ने गरी योजना बनाएर अघि बढ्नुपर्छ ।
खानेपानी संस्था सबै सदस्यको भएकाले निश्चित व्यक्तिको सम्पत्तिझँै मनपरी गर्ने छुट कसैलाई छैन । अहिले बल्ल उपभोक्ता सदस्यहरुले साधारणसभा नभएको भन्दै खानेपानी डिभिजन कार्यालय, उप–महानगरपालिका, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिएर दबाब दिएका छन् ।
नगरभित्रको संस्थामा साधारणसभा नभएको विषय उप–महानगरपालिकासहित सरोकारवाला सबै कार्यालयको चासो पुग्नुपर्छ । प्रगतिनगर खानेपानी संस्थाझँै साधारणसभा तथा अधिवेशन नभएका अरु संस्था पनि हुनसक्छन् । त्यस्ता संस्थाको साधारणसभा तथा अधिवेशन विधानअनुसार गर्न निर्देशन दिने र नगर्नेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउने काम जिल्ला प्रशासन कार्यालयको हो ।




