पाल्पा
वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन तानसेनमा सञ्चालन भएको आप्रवासीश्रोत केन्द्र प्रभावकारी बनेको छ । पाल्पाको जिल्ला प्रशासन कायालयमै आप्रवासीश्रोत केन्द्र (सहायताकक्ष) सञ्चालन गरेको छ भने तानसेन नगरपालिकाको ५ वटै वडाहरुमा सचेतनाका कार्यक्रमले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्दित भएका छन् । वैदेशिक रोजगारीसंग सम्बन्धित सल्लाह, परामर्श तथा आइ परेका समस्याहरु आप्रवासीश्रोत केन्द्र पाल्पाले निःशुल्क रुपमा प्रदान गर्दै आएको छ । पाल्पाबाट मात्र आर्थिक वर्ष २०८०-०८१ मा १०हजार १ सय ८५ जना श्रम स्वीकृत गरेर वैदेशिक रोजगारीमा गएका छन् भने लुम्बिनी प्रदेशबाट १ लाख ३० हजार ५ सय ८७ जनाले श्रम स्वीकृत लिएका छन् ।
केन्द्रले चालु आर्थिक वर्षको फागुनसम्म पाल्पामा ५ हजार ६२ जनालाई सुरक्षित वैदेशिक रोजगारीको विषयमा सामूहिक परामर्श गरेको छ भने परामर्श दिएका व्यक्तिहरुमध्ये एक सय ११ जनालाई पुनःफलोअप गरेर थप आवश्यक जानकारी, सुझाव, सल्लाह लिने दिने गरेको छ ।
यसैगरी केन्द्रले वैदेशिक रोजगारीमा समस्या परेका र मृत्यु भइ जिल्ला प्रशासन कार्यालय पाल्पामा उजुरी दिएका २४ जनाको परिवारसंग सहजीकरण गरी समस्या समाधानमा पहल गरेको छ । जसमध्ये ८ जनाको समस्या समाधान गरिसकेको छ । यसैगरी ४ जनाको प्रक्रियामा रहेको, १२ जनाको क्षतिपूर्ति दिलाउन सफल भएको, १५ जनालाई व्यक्तिगत परामर्श दिएको र ३ वटा सामूहिक अन्तरक्रिया गरेको छ ।
केन्द्रले अध्ययन गर्न जाने, आफन्त भेटघाट तथा घुमघामको लागि जाने र रोजगारीको लागि र व्यापारिक प्रयोजनका लागि जाने समूहलाई फरक–फरक किसिमको परामर्श तथा जानकारी, सहजीकरण गर्दै आएको छ ।
तानसेन नगरपालिकाको वडा नंं १ देखि ५ सम्म चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीबाट फक्रिएका ५० जना, अध्ययनको लागि ३ सय २९ जना र वैदेशिक रोजगारीको लागि ६५९ जना रहेका छन् । परियोजनाले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सही सूचना लिएर, र आवश्यक सीप सिकेर मात्रजाने विषयमा सचेतना अभियान सञ्चालन गर्दै आएको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।
वैदेशिक रोजगारीमा जाने निर्णय गरिसकेपछि वैदेशिक रोजगार विभागको वेबसाइट हेरेर सही सूचना र जानकारी लिने, आफूले गर्ने कामको सीप सिकेर जानु पर्ने, श्रम स्वीकृत गरेर मात्र जाने र सामाजिक सुरक्षा कोषमा आबद्ध हुने, भिजिट भिसामा काम गर्न नजाने, सरकारबाट मान्यताप्राप्त मेनपावरबाट जानु पर्ने, मेनपावरलाई रकम बुझाउँदा रसिद वा भरपाइ लिनु पर्ने, आफ्ना कागजपत्रहरुको सुरक्षा र फोटोकपी गर्नुपर्ने, नेपालको विमानस्थल प्रयोग गरेर मात्र जानु पर्ने, सहयोगी संस्थाहरुको जानकारी तथा सम्पर्क नम्बरहरु राख्नु पर्ने, श्रम स्वीकृती जाँच गर्नुपर्ने, भिसा जाँच गरेर वैदेशिक रोजगारीमा गएमा सुरक्षित वैदेशिक रोजगारी हुने देखिन्छ ।
श्रम स्वीकृत गरेर वैदेशिक रोजगारीमा जाने कामदार बिरामी भएमा, मृत्यु भएमा वा काम छोडी नेपाल फर्कि बसेमा समेत वैदेशिक रोजगारी बोर्ड कल्याणकारी कोष बाट प्रदान गरिने सहायता कार्यक्रमहरुले ठूलो राहत प्रदान गरेको छ । कामदारको मृत्यु भएमा एक वर्षभित्रमा १० लाख रुपैयाँ क्षतिपूर्ति, अंगभंग भएका कामदारलाई नेपाल फर्केको एक वर्षभित्रमा ७ लाख रुपैयाँ क्षतिपूर्ति, मृतक तथा अशक्त कामदारका छोराछोरीहरुलाई अध्ययनको लागि आधारभूत तहका बालबालिकालाई रु १२ हजार वार्षिक, माध्यमिक तहका बालबालिकालाई रु १८ हजार वार्षिक छात्रवृत्ति प्रदान गर्ने, मृत्यु भएका कामदारको शव विदेशबाट नेपाल, नेपालबाट घरसम्म निःशुल्क ल्याउने व्यवस्था, कामदारका परिवारलाई वार्षिक उपचार खर्च रु ५० हजारसम्म, सहयोग उपलब्ध गराउँदै आएको केन्द्रका जिल्ला संयोजक दिनेश घिमिरेले जानकारी दिए ।
अर्काेतर्फ वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा जीवन बिमामार्फत् परिवारले पाउने राहत रकम एकमुष्ट १० लाख रुपैयाँ, क्रिया खर्च १ लाख, बिमितको आयको नोक्सानी बापत २ लाख, शव ल्याउने खर्च बापत १ लाख, औषधि उपचार खर्च बापत १ लाख र घातक रोग उपचार खर्च बापत ५ लाख रुपैयाँ सहयोग पाउने छन् । श्रम स्वीकृती गरेर वैदेशिक रोजगारीमा जाने कामदारको भविष्यमा आइपर्ने सबै किसिमका समस्या कठिनाइ नेपाल सरकार वैदेशिक रोजगार बोर्डले निःशुल्क रुपमा सहयोग गर्ने, बिरामी तथा मृत्यु भएमा उचित क्षतिपूर्तिको व्यवस्था गर्दै आएको छ ।
वैदेशिक रोजगारीका विषयमा परेका हरेक समस्या समाधानको लागि आप्रवासीश्रोत केन्द्र पाल्पाले पहल तथा सहजीकरण गर्दै आएको जनाएको छ ।
वैदेशिक रोजगार बोर्डबाट हुने अधिकांश कामहरु श्रोत केन्द्र पाल्पाबाट हँुदै आएको जिल्ला संयोजक घिमिरेले बताए । आप्रवासीश्रोत केन्द्र, सामी परियोजना स्वीस सरकारको ३२ प्रतिशत, संघ, प्रदेश र स्थानीय सरकारको ६८ प्रतिशत लगानीमा सन २०२४ देखि २०२८ सम्म सञ्चालन हुनेछ । वैदेशिक रोजगारी गइ नेपाल फर्किएर मृत्यु भएका कामदारका परिवारको लागि पनि बोर्डबाट २५ हजार रुपैयाँ सहयोग प्राप्त हुने भएकोले पाल्पाबाट १२ जनाको सिफारिस पठाएको केन्द्रले जनाएको छ ।




