गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट हुँदै आएको अन्तर्राष्ट्रिय उडान आइतबारदेखि पुनः रोकिएको छ । गत कात्तिकदेखि जजीरा एयरवेजसहित तीन विमान कम्पनीले यहाँबाट उडान थालेपछि लुम्बिनीको पर्यटन प्रवद्र्धनमा आशा जगाएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान थालेका जजीरा, फ्लाई दुबई र थाइएयर एशियाले समर सेड्युल अर्थात् अप्रिलबाट अक्टोवरसम्म उडान गर्न अनुमती नलिएपछि ३० अर्ब लगानीमा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान भएको छ ।
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्नसक्दा लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने विश्वास थियो । लुम्बिनी आउन चाहने संसारभरका बौद्धमार्गीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले सहज बनाएको सन्देश प्रवाह भइरहेको बेला एकाएक उडान गर्दै आएका विमान कम्पनीले उडान रोकेका छन् । लुम्बिनीको पर्यटन प्रवद्र्धनबाट यस क्षेत्रले मात्रै नभई मुलुककै समृद्धिको यात्राको ढोका खोल्न सक्छ । तर राज्यको अर्बौं लगानीको विमानस्थल चलाउने दिगो आधार तयार हुन सकेको छैन । एकातिर भारतले सहज हवाइ रूट दिइरहेको छैन । अर्कोतिर विमानस्थल चलाउनका लागि आवश्यक राज्यका अरु युनिट पनि भैरहवामा स्थापित हुन सकिरहेका छैनन् । सरकारले भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडानको लागि कार्ययोजना तयार ग¥यो, तर कार्ययोजनाअनुसार काम हुन सकेन् । केही छुट सुविधाहरु केही कार्यान्वयन भए पनि श्रमस्वीकृति, स्वास्थ्य परीक्षण, भिसालगायत सुविधाका भैरहवामा स्थापना हुनुपर्ने कार्यालय स्थापना नहुनु सरकारको कमजोरी हो । अब छिटोभन्दा छिटो आवश्यक कार्यालय स्थापना गर्न ढिलाइ गर्न हुन्न ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्तिकदेखि उडान कटौतीपछि भैरहवा बलियो विकल्प बन्न सक्छ भन्ने विश्वास थियो । पूर्वाधार विस्तारका लागि भन्दै गएको २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरेर १४ घन्टामात्रै सञ्चालनमा ल्याइएको थियो । राति १० बजेपछि विमानस्थल बन्द हुने भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ४ वटा उडान गर्ने तथा काठमाडौंमा नयाँ उडान अनुमति माग्ने वायुसेवा कतार, फ्लाई दुबई, थाई एयर एसिया र जजीराका उडानलाई शर्तसहित भैरहवा पठाएको थियो । भैरहवा आउने एयरलाइन्सहरूलाई सरकारले विभिन्न सेवामा सहुलियतलगायतका आकर्षक प्याकेज घोषणा गरेको छ । भैरहवा विमानस्थलबाट सेवा प्रदानका लागि हवाई टिकटमा लाग्ने गरेको प्रतियात्रु ३ हजार रुपैयाँ, यात्रु सेवा शुल्क र १ हजार रुपैयाँ पर्यटन शुल्क पूर्ण छुट, ग्राउन्ड ह्यान्डिलङमा ७५ प्रतिशत छुट, ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा पूर्ण छुट प्रदान गरिएको छ । यसका अलावा काठमाडौं विमानस्थलभन्दा हवाई इन्धनमा पनि प्रतिकिलोलिटर १ सय अमेरिकी डलर छुट दिइएको छ ।
अब सरकारले विमानस्थल सञ्चालनका लागि दीगो आधार तयार गर्नुपर्छ । विमान कम्पनी चल्नका लागि यात्रु आवश्यक पर्छ । यात्रु यहाँ आउने वातावरण तयार गर्ने काम सरकारको हो । यात्रु पाइने निश्चित भए विमान कम्पनी यहाँ आउँछन् ।




