भनिन्छ, बाघ बुढो भएपछि घाँस खाँदैन बरु मर्दछ । ठीक यो राजा महाराजा, सामन्त, निरंकुश तानाशाहमा पनि देखिन्छ । बाघको जनावर मार्ने र खुन पिउने र मासु खाई बाँच्ने त्यसको वंशानुगत चरित्र हो । त्यस्तै राजा, महाराजाहरुको पनि राज्य कब्जा गर्ने विरोधीहरुको हत्या, हिंसा गरी जनताको शोषण, अन्याय, अत्याचार र यिनीहरुको खुन पसिनामा रमाउने बंशाणुगत चरित्र हो । समाज विकासको क्रममा हरेक राजा, बादशाहको जन्म र विकास यसरी नै हुँदै आएको छ । नेपालमा पनि यहाँका पुराना राजा, बादशाहरुको जन्म र विकासको इतिहास यस्तै छ । नेपालको पछिल्लो शाहवंशी इतिहास पनि यसैको उपज हो । आधुनिक नेपाल एकीकरणका नायक भनिने स्वयं पृथ्वीनारायण शाहको जन्म र विकास इतिहास पनि यस्तै छ । राजनीतिक षड्यन्त्र, धोका अनि हत्या, हिंसा यतिसम्मकि मामा ससुराली, दाइभाइ केही नभन्ने खाली राज्य कब्जा गर्ने एकमात्र निंसाना पृथ्वीनारायण शाहको रह्यो । हत्या, हिंसा त उनको दैनिकी नै बन्यो । मानवीय बर्बरता र क्रूरताको सीमा नै रहेन । कीर्तिपुरे जनताको नाक, कान काट्ने समेतको अमानवीय कुरता उनमा देखियो ।
आधुनिक नेपाल राज्य एकीकरणको नाममा पृथ्वीनारायण शाहले त्यहाँ जे गरे र गर्न लगाए त्यो नेपालको इतिहासमा एउटा कालो दाग जसलाई मेटेर मेट्नै नसक्ने मानवतामाथिको बर्बर र क्रुरताको पराकाष्ट थियो । त्यसपछिका उनका वंश सन्तानले पनि यस्ता थुप्रै अमानवीय घटना गर्ने गरेका छन् । यतिसम्मकि पछिल्लो घटनाक्रममा आफ्नै छोराले आफ्नै बाबा आमा, भाइबहिनी, काकाकाकी विरुद्धको वंशनाश हत्या गर्दै स्वयं आफँैको पनि आत्महत्या गरेको युवराज दिपेन्द्रको उदाहरण अहिले पनि ताजै छ । हुनत यसमा ज्ञानेन्द्र र उनको छोरा युवराज पारसको हात छ भन्नेहरु पनि धेरै छन् । हालै मात्र माओवादी अध्यक्ष प्रचण्डले एउटा कार्यक्रममा ज्ञानेन्द्रलाई खुलेआम दाइभाइ मारा र ‘तस्कर’भनी निन्दा र घृणा नै गरेका छन् ।
प्रचण्डले यो भनिरहँदा धेरैले उनीमाथि प्रश्न उठाए । प्रश्न मात्रै होइन राजावादीहरुले त उल्टै प्रचण्डलाई नै १० वर्षे माओवादी जनयुद्धमा भएका १७ हजारका हत्यारा भनी निन्दा र घृणा गरे । प्रचण्डले ज्ञानेन्द्रलाई यो भन्दानभन्दै ठीक त्यस्तै काम र व्यवहार पूर्व राजा ज्ञानेन्द्रले यही गत चैत १५ को तिनकुनेमा पुराना पञ्चे–मण्डले र दरबारियाहरुले खुलेआम हत्या, हिंसा तोडफोड र आगजनीको तान्डव्य नृत्य गरी देखाए । सम्भवत त्यो दिन आफ्नै निर्मल निवासको बार्दलीमा बसेर त्यो दृश्य हेर्दै मानौ रोम जलिरहँदा बादशाह निरो गीत संगीतमा रमाईरहे जस्तै ज्ञानेन्द्र, कोमल अनि पारस सबै त्यसैगरी रमाइरहेकोे हुनु पर्दछ । हुनतः कीर्तिपुरे जनताको चौध धार्नी नाक, कान काट्न सक्ने पूर्वजका यी सन्तानका लागि यो के नै हो र ? केवल २ जना नागरिकको हत्या अनि दर्जनौका घाइते साथै करोडौं बराबरको धन सम्पत्तिको बर्बादी मात्र । खाली यो त पूर्व पञ्चेहरुले भन्ने गरेको खाली एउटा फिल्मको सानो टेलर मात्र हो ।
चैत १५ राजधानीको तिनकुनेमा भएको यो हिंसात्मक घटनामा अहिले पक्ष विपक्ष अर्थात् गणतन्त्रवादी र राजतन्त्रवादीहरुका बीच आरोप–प्रत्यारोप चलिरहेको छ । गणतन्त्रवादीहरुले पूर्व राजा ज्ञानेन्द्रलाई जिम्मेवार ठानेका छन् भने राजावादी पूर्व पञ्चे, मण्डलेहरुले सरकार अझ, खासगरी प्रम केपी ओलीमाथि दोषारोपण गरिरहेका छन् । खासमा त्यो के हो ? पूर्ण रुपले छानविन र जाँचबुझ गर्न बाँकी नै छ । तर उक्त दिन भएको शान्तिपूर्ण भनिने त्यो कथित घटना खुलेआम विभिन्न सञ्चार मिडियाहरुमा प्रत्यक्ष प्रदर्शित भएको छ । त्यो प्रत्यक्ष देख्नेहरुका लागि यो सबै छर्लङ्ग छ । यो पुराना र नयाँ पंचे मण्डले र राजावादी दरबारियाहरुको आततायी हमला र आक्रमण अनि हत्या, हिंसा तोडफोड, लुटपाट र आगजनी नै थियो । त्यसमा सहभागी मुख्य पात्रहरुमा प्रमुख कथित कमाण्डर भनिएका दुर्गा प्रसाईं अनि राप्रपाका सांसद धवल समशेर र नेता रविन्द्र मिश्र आदि थिए । साँच्चै नै पूर्व पञ्चे राजावादीहरुले भने जस्तै त्यो एउटा फिल्मकोे एउटा सानो टेलर जस्तै थियो । त्यसका नायक दुर्गा प्रसाईं र उपनायक धवल समशेर र रविन्द्र मिश्र जस्तै देखिन्थे । एउटा जीप गाडी हाँकेर जनताको भिडलाई छिचोल्दै आओ आओ भन्दै प्रहरी छेकेवारलाई तोडेर प्रहरी गस्तीमाथि गाडी कुँदाएको दृश्य साँच्चै एउटा नामी फिल्ममा देखाइने टेलरभन्दा कमी आकर्षक थिएन । हिरोको कस्तो हिम्मत अचम्म ? प्रहरीको भागाभाग । प्रदर्शनकारीहरुको तालीको गडगडाहाट, नारा, जुलुस र जिन्दावाद र मूर्दावाद । तोडफोड, ढुंगामुढा । हातपात र मारकाट आदि दृश्य । यसको बारेमा यहाँ अझ बढी भन्नु र लेख्नु छैन । यो चारैतिर देशव्यापी छर्लङ्गै भइसकेको छ । तै पनि पुराना पञ्चे, मण्डले र दरबारियाहरुकालाई यो केही पनि होइन । उनले यो सब सरकारले गर्दा भएको हो भनिरहेका छन् । यो गर्र्नेलाई भन्दा देख्नेलाई लाज । दिनमै रात पार्ने षड्यन्त्र । हत्केलाले सूर्यलाई छोप्ने दुष्प्रयास ।
वास्तवमा यो तीनकुने हत्या, हिंसाको लागि मूल जिम्मेवार को हो ? यसको लागि केही पृष्ठभूमितिर हेरौं । गत फागुन ०७ को प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्रको अडियो वक्तव्यमा उनले देश बर्बाद भयो आफूलाई साथ दिन अपिल गरे । त्यसको पूर्व पञ्चे मण्डले र राजावादीहरुको समर्थन र स्वागत ।
यो गणतन्त्रको विकल्पमा राजतन्त्रको पुनस्र्थापना त्यसका लागि आन्दोलन गर्ने तैयारी । ज्ञानेन्द्रको देश– प्रदेश दौडाहा । अनेक गोप्य भेटवार्ता छलफल र तयारी । फागुन २५ ज्ञानेन्द्रको काठमाडौं फिर्ता र पुराना पंचे मण्डले र दरबारियाहरुको भव्य स्वागत । ओली चोर देश छोड र राजा आउ देश बचाऊको नारा जुलुस । त्यसमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रदर्शन आदि । यो सबैको विरुद्ध माओवादी केन्द्र लगायतका वाम दलहरुको समाजवादी मोर्चाले चैत १५ मा वृहत विरोध प्रदर्शन र आमसभा गर्ने घोषणा । त्यसपछि त्यसको काउण्टरमा त्यही दिन दुर्गा प्रसाईंले पनि राजतन्त्रको पक्षमा प्रदर्शन र सभाको आयोजना गर्ने घोषणा । त्यसको लागि ज्ञानेन्द्रद्वारा पूर्व पञ्चे नवराज सुवेदीको नेतृत्वमा समिति गठन । चैत १५ को अघिल्लो दिन निर्मल निवासमा ज्ञानेन्द्र, नवराज र दुर्गा प्रसाईंबिच भेटवार्ता र कथित आन्दोलन सञ्चालनका लागि जिम्मेवारी बाँडफाँड र त्यसको नेतृत्व कमाडिङ दुर्गा प्रसाईंलाई । अन्त्यमा चैत १५ को त्यो सभाको थालनी नहुँदै कथित त्यसका कमाण्डर दुर्गा प्रसाईंको त्यो तान्डव्य नृत्य । गाडी घन्काउँदै प्रहरीमाथि हमला । अब भनौं र बुझौं यसमा दोष कसको ? प्रदर्शित मूल व्यानरमा माथि ज्ञानेन्द्रको अनि नवराज र दुर्गा प्रसाईंको फोटो ।
यसबाट यो कथित जनआन्दोलनको मूल संरक्षक पूर्व राजा ज्ञानेन्द्र र यसको परिचालन नवराज र दुर्गा अनि अरु केही पूर्व पंचे, मण्डले र राजावादी देखिएका छन् । कुरा घुमाई फिराई जे गरे पनि प्रत्यक्ष सारमा यो सब पूर्व राजा ज्ञानेन्द्रकै डिजाइनमा भएको हो । जसलाई वर्तमान सरकारका प्रधानमन्त्री केपीले पनि सदनबाट नै पुष्टि गरिसकेका छन् । यो घटनामा गिरफ्तार नेता कार्यकर्ताहरुबाट पनि धेरै कुरा खुल्ने छ । नवराज आफ्नै निवासमा नजरबन्दमा छन् भने दुर्गा प्रसाईंको खोजविन भइरहेको छ । स्वयं स्थानीय सरकारका प्रमुख काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले त्यो चैत १५ कोे नगरको फोहर अनि तोडफोडका लागि दोषी ज्ञानेन्द्र शाह भएको भन्दै उनलाई आठ लाखभन्दा बढी क्षतिपूर्तिको जिम्मेवार भएको भन्दै जरिमाना पूर्जी काटिएको छ । त्यसैले यो सब घटनाक्रमले यसमा मूल दोषी र जिम्मेवार पूर्व राजा ज्ञानेन्द्र नै छन् । यो सब हत्या, हिंसा, तोडफोड र आगजनीको मुख्य जिम्मेवार ज्ञानेन्द्र शाह नै हुन् । भन्न त प्रम ओलीले सदनमा नै गई ज्ञानेन्द्र शाहलाई कारबाही हुने बताइसकेका छन् । अब प्रम ओली पूर्व पंचे, मण्डले र दरबारिया साथै स्वयं ज्ञानेन्द्रको डरले खुट्टा कमाई बस्छन् कि खुट्टा दह्रो पारेर ज्ञानेन्द्रले अहिले राज्यबाट खाई पाई आएको सब कटौती गरी यिनलाई एउटा सामान्य नागरिक सरह कारबाहीमा लैैजान्छन् ? हेर्न बाँकी छ । भारतीय नाकाबन्दीमा देखाएको भारत विरोधी अडान अनि नेपालको चुच्चे नक्सा आदिमा जस्तै यो गणतन्त्रको पक्षमा पनि त्यस्तै अडान देखाउँदै ज्ञानेन्द्रलाई यसमा कारबाही गरी जेलमै कोच्न सके भने तब राज्यकै महान देशभक्त र गणतन्त्रवादी नायक बन्ने सुनौलो मौका प्रम केपी ओलीलाई छ अहिले । कुराले धम्काउने तर कामले केही नगर्ने पूर्व राजा र ज्ञानेन्द्र र उनको परिवार साथै यो घटना क्रममा ज्ञानेन्द्रसँग जोडिएका यी सबै अराजकतावादी गुण्डा–मण्डले र हत्यारा अपराधीलाई त्यत्तिकै छोडियो भने अब प्रम ओली देशको गणतन्त्रवादी नायक होइन, अझ ज्ञानेन्द्र र उनको कमाण्डर दुर्गा प्रसाईं जस्तै राष्ट्रघाती गणतन्त्र विरोधी खलनायक बन्ने छन् ।
चैत १५ को घटनाका पछाडि खाली ज्ञानेन्द्र शाहको मात्र हात नरहेर यसलाई समयमै बुझी त्यही अनुरुप शान्ति सुरक्षाको प्रबन्ध मिलाउन नसक्नु सरकारको पनि कमजोरी छ । स्वयं प्रम ओलीले अघिल्लो दिन यस्ता केही हजारको जुलुस प्रदर्शन भइरहन्छन् यसले व्यवस्थालाई कति पनि असर पार्र्दैन । केही समय विरोधमा कराउँछन् चिच्याउँछन् । अनि छाँड्छन् भन्दै यसलाई सामान्य रुपमा मात्र लिएको पाइन्छ, त्यसैगरी गृहमन्त्री रमेश लेखकले पनि गस्ती सुरक्षालाई खासै महत्व दिएको पाइदैन । त्यत्रो सशस्त्र प्रहरीको घेरा तोड्दै सशस्त्र प्रहरी माथि जाइलाग्ने दुर्गा प्रसाईं माथि केही नहुने तर सडकमा हिडेका थुप्रै व्यक्ति माथि गोलीको वर्षा हुनुले प्रम गृहमन्त्री र प्रहरी प्रशासनको लापरबाही र निरीह प्रदर्शन भएको छ । यो सामन्य प्रकारको मात्रै नभई विशेष र गम्भीर प्रकारको कमजोरी हो । त्यसैले यसको गम्भीरतालाई ख्याल गरी गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्दछ । नदिए स्वयं प्रधानमन्त्रीले नै दिनुपर्दछ या प्रमले गृहमन्त्रीलाई बर्खास्त गरी पदबाट हटाउनु पर्दछ ।
यो विद्यमान देशका दुई शक्ति पहिलो प्रतिगामी र दोस्रो यथास्थितिवादी तत्वहरुबिचको द्वन्द्व र संघर्ष हो । आजसम्म यथास्थितिवादीहरुले यी सबैलाई समयमै केही नगरी लालनपालन गर्दै आए । तर अहिले प्रतिगामी तत्वहरु जसको नाइके पूर्व राजा ज्ञानेन्द्र औलो दिंदा डुल्लो नै निल्ने गरी यी यथास्थितिवादी कांग्रेस–एमाले र माओवादीमाथि झम्टिन पुगेका छन् । अब जित र हार कसको हुँदैछ वा सहमति सम्झौता के हुन्छ ? त्यो हेर्न बाँकी छ । अब फेरि पनि यही अवस्थामा रहिरहे र दलहरुले आ–आफ्ना गल्ती कमजोरी नसुधारी खाली लुट, गुट र परिवारवादमा मात्र रमिरहे यी सबै संसदीय दलहरु पनि ढिलो चाँडो त्यही प्रतिगामी राप्रपाले भन्ने गरेको कथित नविन सहमति र सम्झौता गर्नुको अर्काे विकल्प देखिदैन । अब यो अवस्थामा अरु बाँकी अग्रगमन पक्षधर मालेमावादी शक्तिहरुको भूमिका के हुने ?
प्रतिगामीतत्वहरुलाई साथ सहयोग दिने कुरै भएन यसका विरुद्ध यथास्थितिवादीहरुलाई साथ र सहयोग तर अग्रगमन अर्थात् जनगणतन्त्रलाई साथ दिने शर्तमा । पहिलो शर्त प्रतिगमनकारी पूर्व राजा र राज परिवार अनि पुराना पञ्चे मण्डले र दरबारियामाथिको कडा कारबाही जुन २०६२÷०६३ सालको दलहरुबाट भएको कमजोरी तत्काल हटाउनुपर्ने, दोस्रो १२ बुँदे दिल्ली समझदारीअन्तर्गत भई आएको सहमतिको खारेजी, देशको राष्ट्रियता र स्वाभिमानप्रतिको कटिबद्धता साथै चालु संविधानको खारेजी वा पूनःमूल्यांकन गरी पुनः नयाँ निर्माण वा संशोधन । यो नै तत्कालीन वर्तमान सत्ताधारी र प्रतिपक्ष सांसदवादी दलहरुको अग्रगमनकारी निकास हो । जे होस् अन्त्यमा भारत उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथको आशिर्वाद, पूर्व पञ्चे मण्डले र दरबारियाहरुको साथ सहयोग अनि एउटा अराजक सन्काहा र आबारा दुर्गा प्रसाईंकोे कमाडिङमा फेरि राजा बन्ने ज्ञानेन्द्रको यो सपना अन्ततः ठूलाठूला चोक्टा खान आएकी बूढी झोलमा डुबी भने जस्तै भएको छ ।




