बुटवल–नारायणगढ सडक निर्माणले गति लिएपछि यो सडकखण्ड निर्माण हुने आशा पलाएको छ । अलपत्र सडक निर्माणको काम धमाधम अघि बढेपछि अब सडक बन्छ भन्ने आशा पलाए पनि दाउन्नेको १४ किलोमिटर सडक अलपत्र छाड्दा यात्रुले धेरै सास्ती पाएका छन् । सडक निर्माणमा बेवास्ता गर्दा दुईदेखि सात घण्टा सवारीसाधन जाममा परेका छन् । घण्टौं जाममा पर्दाको सास्ती चर्को छ ।
घण्टौं जाममा पर्दा एम्बुलेन्सबाट बिरामी समयमै चितवन र काठमाडौं पु¥याउन समस्या भएको छ । लामो जाममा समय गुज्रिदा कतिपय बिरामीको अस्पताल नपुग्दै ज्यान गएको छ । अप्ठ्यारो खण्डको सडकमा घण्टौं जाममा बस्नुपर्दाको पीडा एकातिर छँदैछ, दुर्घटनाको जोखिम उत्तिकै छ । चुरे पहाडलाई खोतलेर त्यत्तिकै छाड्दा सडक अस्तव्यस्त छ । कतिपय ठाउँमा निर्माण सामग्री लामो समयदेखि अलपत्र छाडिएको छ, निर्माण सामग्रीको अवरोधले सडक एकतर्फी भएको छ । कतिपय ठाउँमा धुलोले सडकमा गुड्ने यातायातका साधनले अरु साधन देख्न नसक्दा दुर्घटनाको जोखिम छ । दाउन्ने सडक पहिले देखि नै समस्या हो, समस्या भएको ठाउँमा खोतलेर त्यत्तिकै छाड्दा झनै समस्या हुन्छ भन्ने हेक्का नहुनु ठेकेदार कम्पनी र राज्य संयन्त्रको कमजोरी हो । समस्या चर्को भएपछि समस्या समाधान गर्न समयमै पहलकदमी नहुनु झनै चरम लापरबाही हो ।
२०७५ माघमा सरकार र निर्माण कम्पनीबिच २२ साउन २०७९ भित्र काम सक्नेगरी बुटवल–नारायणगढ सडकको ठेक्का सम्झौता भएको थियो । कुल एक सय १४ किलोमिटर सडकलाई गैँडाकोट–दाउन्ने ९६५ किलोमिटर र दाउन्ने–बुटवल ९४९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरी आह्वान गरिएको ‘टेन्डर’ मा दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सनले पाएको थियो । ८ चैत २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेपछि सडक विस्तारको औपचारिक काम सुरु भएको थियो ।
निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलोपटक ८ साउन २०८०, दोस्रोपटक ८ साउन २०८१ सम्मका लागि म्याद थप गरिएको थियो । निर्माण कम्पनीले कोभिड, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्या देखाउँदै तीनपटकसम्म ठेक्का सम्झौताको म्याद थप गराएको छ । आगामी ८ साउनभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले तेस्रोपटक म्याद थप गरेको छ ।
म्याद थप गरिएको चार महिना काम नै नगरी समय बिताएको निर्माण कम्पनीलाई सरकारले कारबाही गर्ने गरी पत्राचार गरेपछि गत डिसेम्बरबाट पुनः काममा फर्किएको थियो । दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गरी दुई–दुई लेनको बिचमा ‘ग्रिनरी’ राखिनेछ । तीन मिटरको बिच भागमा बिरुवा लगाउने गरी ठेक्का सम्झौता भएको छ । अहिले जुन रफ्तारमा काम भएको छ, त्यसले आगामी बैशाखभित्रै दाउन्ने बाहेक एकतर्फी पक्कीको काम सम्पन्न हुने आयोजनाका अधिकारीहरुको भनाइ छ । साउनसम्मको समयसिमाभित्र काम सकिने अवस्था नरहेकोले थप समय थप्नुपर्ने देखिन्छ ।
एकतर्फी पक्कीले कम्तीमा अस्तव्यस्त सडक यात्राबाट यात्रु मुक्त हुँदैछन् । तर दाउन्ने सडकलाई यत्तिकै छाड्दाको सास्ती धेरै छ । अब यो सडकलाई मर्मत गरेर जाम हटाउनुपर्छ । दाउन्ने जामको अर्को कारण मालबहाक ट्रक दाउन्नेमा रोकेर रात्रिकालीन आराम गर्दा पनि हो । प्रहरीले मनपरी ट्रक रोक्न बन्द गर्नुपर्छ । सडक आयोजना कार्यालयले जामको सास्ती टुलुटुलु हेर्ने होइन्, व्यवस्थापन गर्न चासो दिनुपर्छ । त्यसो त जामले सास्ती भएको गुनासो बढेपछि सवारीसाधन सञ्चालनमा रोक लगाएर काम गर्न लागेको बताइएको छ । कार्ययोजना बनाएर यातायातका साधनलाई समस्या नपर्ने गरी समयसिमा छुट्टयाएर मर्मत गर्नुपर्छ । राजमार्गको यात्रा सास्ती होइन्, सहज हुनुपर्छ ।




