तिलोत्तमा । शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन वाटिका)को चौथो अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । यही चैत २२ गते भएको अधिवेशनबाट खिमलाल पाण्डे अध्यक्षमा,
उपाध्यक्षमा मिनप्रसाद देवकोटा, सचिवमा विदुर केसी,कोषाध्यक्षमा मनिराम भट्टराई र लेखा समिति संयोजकमा प्रदीप पराजुली (निर्विरोध) तथा दुई जना लेखा समिति सदस्यमा सन्दीप भट्टराई र विष्णुप्रसाद सुवेदी निर्वाचित भएका थिए । यस्तै ७ जना कार्यसमिति सदस्यमा विन्दु ढकाल, लक्ष्मण मल्ल, सरस्वती बराल, शंकर भण्डारी र पार्वती क्षेत्री, राममाया पौडेल र ज्योतिमाया थापा निर्वाचित भएकी छन् । दुईजना कार्यसमितिले मनोनित गर्ने व्यवस्था छ ।
सोमबार वनवाटिकास्थित पुष्पलाल भवनमा निर्वाचन समितिका संयोजक मोहन चापागाईले निर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण तथा सपथ ग्रहण गराएका हुन् । निवर्तमान सचिव फर्सुराम भण्डारीले विदुर केसीलाई माइन्युट हस्तान्तरण गरे भने कोषाध्यक्षमा यसअघिकै मनिराम भट्टराई र लेखा सुपरिवेक्षण समितिमा पनि यसअघिकै प्रदीप पराजुली दोहोरिएका छन् ।
पद हस्तान्तरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बसन्त सी, निर्वाचन समिति संयोजक मोहन चापागाई, नेकपा एमालेका नगर अध्यक्ष मिनप्रसाद पोखरेल, माओवादी केन्द्रका नगर अध्यक्ष एवं निवर्तमान अध्यक्ष बेलप्रसाद शर्मा, रास्वपाका नगर अध्यक्ष रुस्तम कंडेल, राष्ट्रिय जनमुक्ति पार्टीकी नगर अध्यक्ष राधिका श्रीस, शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रविन्द्र बस्नेत, वनवाटिकाका नवनिर्वाचित अध्यक्ष खिमलाल पाण्डे, सल्लाहकार केशवराज न्यौपाने,सहयात्री नेपालका तिलक शाही लगायतले शुभकामना मन्तव्य राखेका थिए । नवनिर्वाचित अध्यक्ष पाण्डेले पाण्डेले वनवाटिकालाई राष्ट्रियस्तरकोे उद्यान बनाउने,नमूना चिडिया घर बनाउने, वहुउद्देश्यीय टावर सञ्चालनमा ल्याउने , बालमैत्री उद्यान बनाउने, सन्ध्याकालीन उद्यान बनाउने , जेष्ठ नागरिक मिलन केन्द्रको व्यवस्था, स्वीमिङ पूल निर्माण, पानी पोखरी बनाई बोटिङ सञ्चालन,संस्थापक अध्यक्ष बाबुराम अर्यालको उद्देश्य साकार पार्ने लगायत काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
वार्षिक पाँच लाख पर्यटक घुम्न आउने वन वाटिका लुम्बिनी प्रदेशकै ठूलो र फराकिलो क्षेत्रफल भएको उद्यान हो । शंकरनगर सामुदायिक वन क्षेत्रभित्र रहेको यो उद्यान २०६२ सालदेखि सञ्चालनमा आएको हो ।




