बुटवल
जग्गाको भोगाधिकार प्राप्तिमा ढिलाइ, बजेट सुनिश्चितता नहुनेलगायत कारणले ६ वर्षसम्म रोकिएको बुटवल मेडिकल कलेज निर्माणको काम अब अघि बढ्ने आशा पलाएको छ । २०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझाका साथ मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालय उद्घाटन गरेका थिए ।
कार्यालय उद्घाटन भएको चार वर्षसम्म निर्माणको चरणमा आउन सकेको थिएन । सुरुमा दुई सय बिघा क्षेत्रफलमा बनाउने गरी इआइए गरिएकोमा वन मन्त्रालयले दुई सय बिघा वन क्षेत्रमा अस्पताल बनाउन नमिल्ने भन्दै ५० बिघा जमिनमात्रै उपलब्ध गराएको थियो । ५० बिघा क्षेत्रफलको वातावरणीय व्यवस्थापन मूल्याङ्कन (इपीएम) भई करिब ११ हजार ४ सय रुख काट्नुपर्ने प्रतिवेदनमा देखिएको थियो ।
घेरबारका लागि सरकारले एक करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । घेरबारको काम सम्पन्न भएपछि लगत्तै मेडिकल कलेजको प्रशासनिक भवनको काम अघि बढ्ने मरासिनीले बताए ।
एक हजार बेडको अस्पताल बन्ने सरकारले सातै प्रदेशमा एक–एक मेडिकल कलेज निर्माण गर्ने योजनाअनुसार तिलोत्तमामा बुटवल मेडिकल कलेज बनाउने निर्णय गरेको थियो । आयोजना कार्यालयले एकहजार बेड (शैया) को जनरल अस्पताल बनाउने डीपीआर तयार गरेको छ । ‘सुरुमा दुई सय बिघामा अन्तर्राष्ट्रियस्तरको अस्पतालसहित अन्तर्राष्ट्रियस्तरको चिल्डे«न पार्क, स्वीमिङ पुल, स्कुललगायत अन्य पूर्वाधार पनि बनाउने योजना थियो, तर ५० बिघामात्रै जमिन उपलब्ध भएपछि मेडिकल कलेजलाई अत्यावश्यक संरचनामात्रै बनाउछौं,’ आयोजना प्रमुख दिनेश देवकोटाले भने–‘लामो समय निर्माणको चरणमा आउन नसकेको आयोजना अब अघि बढ्ने आशा पलाएको छ, यसमा सबैको सकारात्मक साथ आवश्यक छ ।’
साढे १९ अर्ब लागत
एक हजार बेडको मेडिकल कलेज बनाउन मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक साढे १९ अर्ब रुपैयाँ लाग्ने आयोजना प्रमुख देवकोटा बताउँछन् ।
उनका अनुसार मुटु र क्यान्सरको छुट्टै अस्पताल बनाउने तयारी छ । ‘मुटु र क्यान्सर अस्पताल बनाउने योजना छ, त्यसको अध्ययन पनि भइसकेको छ, तर पहिला जनरल अस्पताल नै बनाउनुपर्छ ।’– उनले भने ।
कलेज निर्माण क्रममा टेन्डर आह्वान भएर निर्माण कम्पनीबिच प्रतिस्पर्धा हुँदा लागत घट्ने अपेक्षा आयोजनाको छ । डीपीआर अध्ययन गर्न २ करोड ८८ लाख रुपैयाँ खर्च भएको थियो ।
आयोजनास्थल वन क्षेत्रमा भएकाले ११ हजार रुख काट्नुपर्ने अध्ययनले देखाएको छ । इआइए अध्ययन अनुसार ११ हजार रुख काट्नुपर्ने देखिए पनि सबै रुख नकाटिने आयोजनाले जनाएको छ ।
‘५० बिघा जमिनमा ११ हजार रुख काट्नुपर्ने देखिएको हो तर पूरै काट्नु पर्दैन,’ आयोजना प्रमुख देवकोटाले भने–‘आवश्यकताअनुसार काट्दै जाने हो । बढीमा ५ हजार रुख काटिन्छ होला ।’ मेडिकल कलेजको भौतिक संरचना ५ वर्षभित्र निर्माण गर्ने योजना छ ।
त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्री बनेकी सुमना श्रेष्ठले भने यो आयोजना तिलोत्तमामा उपयुक्त नरहेको निश्कर्षसहित खारेज गर्ने तयारीमा पुगेकी थिइन् ।
रास्वपासँगै मन्त्री श्रेष्ठ सरकारबाट हटेपछि यो आयोजनालाई रुपन्देही २ का प्रतिनिधिसभा सदस्य एवं अर्थमन्त्री विष्णु पौडेलको जोडबलमा पुनःअघि बढाइएको हो ।
वन मन्त्रालयबाट ५० बिघा जग्गाको भागाधिकार प्राप्त भए पनि सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको हुँदा सामुदायिक वनले लामो समयसम्म वन क्षेत्र मेडिकल कलेजलाई दिने निर्णय नगर्दा काम अघि बढ्न सकेको थिएन । आइतबार मात्र शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको विशेष साधारण सभाले सामुदायिक वन क्षेत्रमा निर्माण हुने बुटवल मेडिकल कलेजका लागि ५० बिघा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरेको छ ।
समुदायले संरक्षण गरेको जंगल भएको र बुटवल मेडिकल कलेजलाई उक्त जग्गा भोगाधिकारका लागि सामुदायिक वनको शिफारिस आवश्यक पर्ने भएकाले सामुदायिक वनले विशेष साधारणसभाको आयोजना गरी मेडिकल कलेजलाई ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव सर्वसम्मत पारित गरेको वनका अध्यक्ष रविन्द्र बस्नेतले बताए ।
सामुदायिक वनले निर्णय गरेपछि अब फेरि वन मन्त्रालयबाट रुख कटानको स्वीकृति लिएपछि मात्रै पहिलो चरणमा पर्खाल लगाएर घेरबार गर्ने काम सुरु हुने आयोजनाको तिलोत्तमास्थित कार्यालयका अधिकृत चुडामणि मरासिनीले बताए । पहिलो चरणमा ४८१ वटा रुख काटेर मेडिकल कलेजको जग्गा पर्खालले घेरबार गरिने उनले बताए ।
सामुदायिक वनले त्यहाँ काटिने रुख आफूहरुले उपभोग गर्न पाउनुपर्ने शर्त राखेको छ । यसमा वन विभाग सहमत भए काम छिटो अघि बढ्ने अन्यथा फेरि ढिलाइ हुने देखिन्छ ।
वनको विशेष साधारणसभामा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले काटिएका रुखहरु सामुदायिक वनले पाउनुपर्ने बताए ।




