गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दै आएका तीन विमान कम्पनीले उडान स्थगित गरेपछि यहाँका व्यवसायी आक्रोशित भएका छन् । राज्य संयन्त्र नै गौतमबुद्ध विमानस्थलबाट उडान नियमित हुन नदिनका लागि सक्रिय भएको आशंका व्यवसायीलाई छ । र, उनीहरुले आन्दोलनको घोषणा गरेका छन् ।
झण्डै ४० अर्ब लगानीमा बनेको विमानस्थल नियमित नचल्दा राज्यलाई नोक्सानी परेको छ नै, विमानस्थल चल्ने विश्वासले लगानी गरेका व्यवसायीको लगानी जोखिममा परेको छ । गत कार्तिकदेखि थाई एयर एशिया, फ्लाई दुबई र जजीराले उडान सुरु गरेपछि उत्साहित भएका व्यवसायी अरु विमान कम्पनीले पनि उडान गर्छन् भन्ने विश्वासमा थिए । बौद्धमार्गी बाहुल्य मुलुकका विमान कम्पनीले पनि भैरहवा सिधैँ उडानमा रुची देखाइरहेको र सरकारले पनि पहल गरिरहेकोले थप उडान हुन्छ भन्ने विश्वास थियो । तर अहिले थप विमान कम्पनीले उडान गरेनन् । उडान शुरु गरेका कम्पनीले पनि स्थगित गरे ।
विमानस्थल चल्नका लागि यहाँ तत्काल श्रम स्वीकृतिको लागि कार्यालय आवश्यक पर्छ । मेडिकल जाँच, भिसा सेन्टर, कार्गो र विदेश पढ्न जाने विद्यार्थीको लागि नो अब्जेक्सन सर्टिफिकेट(एनओसी), ठूला ट्राभल एजेन्सीका कार्यालय स्थापना पनि हुनुपर्छ । ती कार्यालय नहुँदा सेवाग्राही काठमाडौं धाउनुपर्ने बाध्यता छ । विमानस्थलमा विमान आए तर विमानस्थल चल्नका लागि चाहिने कार्यालय स्थापनामा ढिलाइ हुनु गैरजिम्मेवार क्रियाकलाप हो । मुलुकमा संघीय शासन प्रणाली स्थापना भइसकेको छ तर केन्द्रीकृत राज्य संरचनाको मनोविज्ञान बदलिन नसक्दा शासन प्रणाली संस्थागत हुन सकेको छैन । काठमाडौं केन्द्रीत मनोविज्ञानले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधा पुगेको छ ।
भैरहवा विमानस्थलबाट चढ्ने यात्रु पर्याप्त हुन नदिन काठमाडौं केन्द्रीत ठूला ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय हवाई टिकटमा कार्टेलिङ गरेका, एयरलाइन्स कम्पनीहरुले भैरहवामा सम्पर्क कार्यालय नखोलेका र स्थानीय ट्राभल एजेन्सीलाई टिकट बेच्न नदिएकाले पनि विमानस्थल चल्न नदिन सेटिङमा काम भइरहेको भन्ने व्यवसायीको दाबी छ । व्यवसायीले लगाएको आरोपमा सत्यता छैन भन्ने तथ्य कसैसँग छैन् ।
विमानस्थल चलाउनका लागि सरकारले कार्ययोजना बनाएर काम गर्नुपर्छ । पहिलो अहिले स्थगित गरेका कम्पनीलाई पुनः उडान शुरु गराउन पहल गर्ने, दोस्रो बौद्धमार्गी बाहुल्य मुलुकबाट उडान नियमित गर्न पहल लिने, तेस्रो भारतसँग नयाँ हवाई रूट लिन पहलकदमी लिने ।
यी तीन कामलाई पूर्णता दिन सकेमात्रै विमानस्थल नियमित चल्ने आधार बन्न सक्छ । लुम्बिनीले मुलुकको समृद्धिको नेतृत्व गर्नसक्छ । पर्यटक आगमन बढाएर मुलुकले प्रयाप्त लाभ लिने अवसरलाई सदुपयोग गर्न ढिलाई नगरौं ।




