सामुदायिक विद्यालयका शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन दुई साता पुग्न लागेको छ । नयाँ शैक्षिक सत्र सुरु भएकोले अब आन्दोलनको स्वरुप बदलेर शिक्षकहरु विद्यालय फर्कनुपर्छ । त्यसका लागि सरकारले वातावरण बनाउनुपर्छ ।
शिक्षा विधेयक संसदको विषयगत समितिमा छलफल भइरहेको छ । यो विधेयकको सरोकारवाला पक्ष धेरै भएकोले विषयगत समितिमा दफावार छलफल निकै मिहिन ढंगले र दिनहुँ जसो भइरहेको छ । शनिबार समेत समितिमा छलफल भएकाले विधेयकलाई छिटो अघि बढाउन संसद गम्भीर छ भन्ने देखिन्छ । अहिले संसद चालु छैन्, विधेयक थान्को लागेको छ भन्ने बुझाइ हो भने गलत हो । संसद चालु नभए पनि संसदीय समितिले काम गरिरहेका छन् । संसदीय समिति मिनि संसद हुन् ।
यिनीहरुले संसद नबसेको बेला पनि काम गर्छन् । शिक्षा विधेयकको बारेमा पनि अहिले निरन्तर छलफल भइरहेको छ । शिक्षकहरुले अहिले नै कानुन आउनुपर्छ, अध्यादेश ल्याउनुपर्छ भन्ने अड्डी अव्यवहारिक देखिन्छ । विषयगत समितिमा छलफल भइरहेको विषयमा अध्यादेश ल्याउनु उचित हुँदैन । बरु संविधान संशोधन गर्नुपर्ने सवालमा अघि राखेका माग अहिले नै सम्बोधन हुने छाँटकाँट देखिन्न । यो विषयमा पनि शिक्षकले हेक्का राख्नुपर्छ । अरु मागप्रति प्रधानमन्त्रीले पटक–पटक वार्तामा बस्न गरेको आग्रहलाई स्वाभाविक रुपमा लिन आवश्यक छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) लगायत वार्षिक परीक्षा सकेर शिक्षकहरू आन्दोलन गर्न काठमाडौं केन्द्रित हुँदा उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनलगायत काम प्रभावित भएका छन् । कक्षा १२ को परीक्षा नजिकै आउँदैछ । यही मौकामा सरकारलाई झुकाउन सकिन्छ भन्ने बुझाइ हो भने गलत हो । राजनैतिक प्रकृतिको माग होइन् शिक्षकहरुको । विधेयक थान्को लागेको भए स्वाभाविक मान्न सकिन्थ्यो । तर विधेयक आगामी संसद अधिवेशनका बेला पारित हुन्छ भन्ने ग्यारेण्टी गरी सडक आन्दोलनबाट फिर्ता हुनुपर्छ ।
शिक्षकहरूले यस अघि भएको सहमति कार्यान्वयन गर्न दबाब दिइरहेका छन् । उनीहरुले विगतको सहमति कार्यान्वयनको माग राखेर वार्तामा बस्न बेवास्ता गर्दै आएका छन् । आन्दोलनरत शिक्षक महासंघसँग सरकारले २०८० असोज ५ गते सहमति नै गरेको थियो । विगतको सहमति कार्यान्वयनको माग राखेर वार्तालाई अस्विकार गर्न मिल्दैन् ।
सरकारले पटक–पटक सहमति गर्ने, तर कार्यान्वयन नगर्ने प्रवृत्तिले शिक्षक सडकमा जान बाध्य भएका हुन् । अब शिक्षा विधेयक टुंगो लाग्ने विन्दुमा पुगेकोले विश्वासको वातावरण बनेको छ । यो बेला सडकबाट विद्यालय फर्कदा नै शिक्षकप्रति समाजले हेर्ने दृष्टिकोण सकारात्मक बन्छ ।




